वीरगन्ज महानगरमा कांग्रेस अगाडि, कहाँ–कसको अग्रता ?

काठमाडौं, असोज ३ । प्रदेश नम्बर–२ मा भएको स्थानीय तह निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा आउनेक्रम जारी छ ।

निर्वाचन भएका ८ जिल्लाका १३६ स्थानीय तहमध्ये १३५ तहमा मतगणना जारी छ । सप्तरीको राजविराज नगरपालिकाको एउटा वडामा निर्वाचन नभएकाले सो नगरपालिकामा भने मतगणना हुन सकेको छैन ।

प्रारम्भिक मतगणनामा पर्साको १४ ओटा स्थानीय तहमध्ये वीरगन्ज महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ भने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पछ्याइरहेको छ ।

यस्तै, पर्साका तीन नगरपालिकामध्ये एकमा संघीय समाजवादी फोरम नेपाल, एउटामा नेकपा एमाले र एउटामा राजपाको अग्रता रहेको छ । यस्तै, एक गाउँपालिकामा माओवादी केन्द्रको अग्रता रहेको छ ।

सप्तरीका १८ ओटा स्थानीय तहमध्ये दुईओटामा एमाले, पाँचओटामा कांग्रेस, तीनओटामा राजपा र दुईओटामा संघीय समाजवादी फोरम नेपालको अग्रता रहेको छ ।

सर्लाहीका १९ ओटा स्थानीय तहमध्ये पाँचओटामा कांग्रेस, चारओटामा एमाले, चारओटामा राजपा र तीनओटामा संघीय समाजवादी फोरम नेपालको अग्रता रहेको छ ।

यस्तै, सिरहाका १७ ओटा स्थानीय तहमध्ये पाँचओटामा कांग्रेस, पाँचओटामै संघीय समाजवादी फोरम, तीनओटामा एमाले, तीनओटामा माओवादी केन्द्र र एउटामा राजपाको अग्रता रहेको छ ।

जनकपुर उपमहानगरपालिकामा राजपा उम्मेदवार अगाडि छन् भने कांग्रेस उम्मेदवारले पछ्याइरहेका छन् ।

बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा एमाले उम्मेदवारको अग्रता कायमै छ भने माओवादी उम्मेदवारले पछ्याइरहेका छन् ।

बाराकै कलैया नगरपालिकामा पनि एमाले उम्मेदवार अगाडि रहेका छन् भने कांग्रेस उम्मेदवार दोस्रो स्थानमा रहेका छन् ।

यस्तै, रौतहटको गौर र गरुडा नगरपालिकामा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

रौतहटकै चन्द्रपुर नगरपालिकामा भने माओवादी उम्मेदवारले अग्रता लिएका छन् ।

बाराको गढीमाई नगरपालिकामा भने माओवादी प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि मतगणना स्थगित भएको छ । सिरहाको लहानमा स्थगित भएको मतगणना पनि सुरु हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *