साढे २ लाख नगद सहित पोखरामा ६ जुवाडे पक्राउ

“
असाेज २, पोखरा । पोखरामा तास खेल्ने ६ जना पक्राउ परेका छन् । दुई लाख २६ हजार छ सय १५ रुपैयाँ र चार बुक ताससहित उनीहरू पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।
पोखरा लेखनाथ महानगरपालिका १५ टुटुङगास्थित शम्सेर गुरुङको घरमा जुबातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घरधनी ६० वर्षीय सम्सेर गुरुङ सहित पोखरा लेखनाथ १६ का ५७ वर्षीय बालकृष्ण गुरुङ, पोखरा दीप बस्ने वर्ष ५९ का ओम बहादुर गुरुङ, पोखरा १६ बाटुलेचौरका ५९ वर्षीय इमान सिहं गुरुङ, बगरका ६९ वर्षीय शेर बहादुर गुरुङ र चाउथेका ६७ वर्षीय याम बहादुर क्षेत्री रहेका छन् ।
उनीहरूलाई जुवातास मुद्धामा म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । पछिल्लो समय कास्की प्रहरीले जुवातास विरुद्धको कारबाही तीव्र पारेपछि पोखरा नगर क्षेत्रबाट दर्जनौ जुवाडे पक्राउ परेका छन् भने लाखौँ रकम बरामद् भएको छ ।
“








