जान्नुहोस् नेपाली सिने उद्योगका केही हस्तीहरुका आनीबानी

असोज २, काठमाडौँ । मानिस कति सफल र कति असफल हुन्छ भन्ने कुराको निर्धारण उसको बानी र स्वभावले समेत हुन्छ । सामान्यतया सहनशील, मिजासिलो एवम् नम्र स्वभावका व्यक्तिहरू नै सफल र प्रिय हुन्छन् । त्यस्ता व्यक्तिहरूलाई सबैले मन पराउँछन् । तथापि सबैको बानी एकै नासको भने हुँदैन । नेपाली चलचित्रका कलाकारहरुका आनिबानी पनि फरक फरक छन् । जान्नुहोस् नेपाली सिने उद्योगका केही हस्तीहरुका आनीबानी ।

नरम र गरम स्वभावकी दीपाश्री निरौला


विराटनगरको सामान्य परिवारमा जन्मेकी दीपाको कलाकारदेखि निर्देशकसम्मको सफल यात्रालाई पल्टाउने हो भने उनी दुःख बिर्सने सक्ने र सुखमा नमात्तिने स्वभावकी हुन् । उनी व्यवहारमा जति नरम छिन् काममा त्यसको सय गुणा बढी कडा छिन् ।

तितो सत्यमा होस् या सिनेमाको छायाङ्कनमा उनी कलाकार रिसाउलाकी भनेर चुप लाग्दिनन् । सेटमा सम्झौता भन्ने उनको शब्द नै हुँदैन । कलाकार जुनियर हुन् या सिनियर उमेर र अनुभवलाई हैन अभिनयको लेखाजोखा गर्छिन् । दीपाश्रीको आजसम्मको सफलताको राज यही कडा स्वभाव पनि हो ।

हरेक कामहरू समयमै पूरा गर्नुपर्ने उनको बानी छ । उनी कथा अनुसारको गेटअप लोकेशन र कलाकार छनौटमा सम्झौता गर्दिनन् । नेपाली सिने उद्योगमा मेहनतको अर्को नाम भनेकै दीपाश्री निरौला हो ।

छुच्चो दीपकराज गिरी स्क्रिप्टमा कडा


पछिल्लो समयमा नायक दीपकराज गिरी तितो सत्यको पर्याय बनेका छन् । पछिल्लो समयमा आयोजना भएका केही अवार्ड कार्यक्रमका बारेमा सामाजिक सञ्जालबाट व्यक्त गरिएका उनका विचार विवादमा आए । प्रसंगहरु विवादमा आएपनि उनी सत्य थिए भन्ने कुरा पुष्टि भयो । रेडियो अडियोको एउटा अन्तर्वार्तामा उनले भनेका छन्– म जे देख्छु त्यही बोल्छु । मलाई जे सत्य लाग्छ त्यही भन्छु । सकेसम्म नराम्रो कुरालाई राम्रो भन्दिन । प्रिमियर वा अवार्डमा साथीहरूले बोलाउँछन् । म जे देख्छु र अनुभव गर्छु त्यही भन्छु । त्यसैले आलोचकहरु मलाई छुचो भन्छन् ।

तर, म काममा जाती छु । कम्परमाईज गर्दिन । दर्शक र श्रोतालाई ढाँट्दिन । त्यसैले सिर्जनात्मक काममा हारेको पनि छैन । दीपकको अर्को बानी छ, सुटिङमा ढिलो जाने । उनको यो बानी छक्का पञ्जाको सुटिङपछि चर्चामा आएको थियो ।

मुडी रेखा थापाको बेग्लै हिम्मत


केही समयअघि एक अन्तर्वार्ताका क्रममा निर्देशक ऋषि लामिछानेले रेखाको बानीबारे भनेका थिए– नेपाली सिने उद्योगकी हिम्मतवाली अभिनेत्रीको रूपमा चिनिएकी रेखाले नायिकाहरुमा पनि चलचित्र बनाउन र चलाउन सक्ने क्षमता हुन्छ भन्ने कुरा पुष्ट्याएकी छिन् । धेरैले उनलाई नेपाली सिने उद्योगको पाठशाला पनि भन्ने गरेका छन् । अभिनय, द्वन्द्व र नृत्यमा रेखाबाट धेरै कुराहरू सिक्न सकिन्छ । तर, उनको एउटा कमजोरी, उनी अलि मुडी अनि सन्की छिन् ।

हँसाउने टाईमिङमा परफेक्ट दयाहाङ राई


दया जति मेहनत अभिनयमा गर्छन् त्यति मेहनत गेटअपमा गर्दैनन् कि भन्ने उनको भद्दा शरीरले देखाउँछ । मन लगाएर काम गर्ने दया कामभन्दा बाहिर एकदमै कम बोल्ने गर्छन् । अभिनयमा उनको हँसाउने टाईमिङ निकै परफेक्ट छ । लजालु स्वभावका उनी अरूसँग सजिलै घुलमिल हुँदैनन् । अरूको कुरा सुनेर हाँसिरहने उनी निकै नै मिलनसार छन् । यही बानीले नै दया सफल भएको भनेर ठोकुवा गर्न सकिन्छ ।

सौगात मल्ल स्क्रिप्ट र रिसमा कडा


अभिनेता सौगात पनि सजिलै घुलमिल नहुने अभिनेता हुन् । काममा निकै नै मेहनत गर्ने उनी कम बोल्ने, अध्ययनशील छन् । कम बोल्ने भए पनि उनको रिस भने कडा छ । उनको अचम्मको बानी रिसर्च गर्न बेलाबखतमा सार्वजनिक ठाउँमा मास्क लगाएर पुग्छन् । उनलाई एक्सरसाईज गर्न निकै मन पर्छ । सबैको मन मुटुमा बसेका उनी अभिनय राम्रो गर्छन् तर कहिल्यै पनि स्क्रिप्ट भन्दा बाहिर जान सक्दैनन् । कम खुल्ने भएका कारण पनि होला, उनका थोरै साथी सर्कल छ । कथा अनुसार आफूलाई ढाल्न सौगातले गरेको मेहनत अरू कलाकारले गरेको भए सिने उद्योग धेरै माथि पुग्ने थियो ।

पाचक जस्तै प्रियंका कार्की


निडर स्वभावकी जिज्ञासु, सहनशील जस्तोसुकै प्रतिक्रियाहरु पनि उनी सजिलै पचाउन सक्छिन् । नायिका प्रियंका कार्कीले सिनेमाको हिरोईन कस्तो हुनुपर्छ भन्ने देखाएकी छिन् । उनी एकदमै व्यावसायिक छिन् । उनी आफ्नो यही व्यावसायिक बानीका कारण चर्चित छिन् । उनलाई कुन ठाउँमा, कोसँग कसरी बोल्ने, कसलाई कस्तो व्यवहार गर्ने भन्ने राम्रोसँग थाहा छ । उनी काम गर्दा पनि रमाईरमाई गर्ने मान्छे हुन् ।

एलियन आर्यन सिग्देल, एक्लै बस्ने


एकचित्त भएर काम पूरा गर्ने आर्यनलाई काम सकाईसकेपछि एक्लै बस्न मन लाग्छ । उनी त्यति सजिलै अरूसँग घुलमिल हुँदैनन् । उनको पनि साथी सर्कल सानो छ । आर्यनलाई स्वतन्त्रता मन पर्छ । तर, उनी परिवार र आफ्ना निकट केही साथीहरूसँग भने पूर्ण रूपमा घुलेका छन् ।

केकी अधिकारी अरूको मन राख्छिन्


नायिका केकी अधिकारीलाई धेरैले मिजासिलो स्वभावकी अभिनेत्री भनेर भन्ने गरेका छन् । उनको बानीको प्रशंसा नगर्ने सायदै कोही होलान् । उनी सबैसँग मिल्ने र अरूको मन राख्ने कुरामा पोख्त छिन् । केकी अधिकारी सिने नगरीमा कामका साथै सम्बन्धलाई निरन्तर अघि बढाउने बानीका कारण पनि चर्चित छिन् । धेरैले केकीको नराम्रो बानी नै छैन भन्ने गरेका छन् । केकी अध्ययनशिल पनि छिन् ।

जोशिली शिल्पा पोखरेल


नायिका शिल्पा पोखरेल कुनै पनि कुराको बारेमा जानकारी गराउन झर्काे मान्दिनन् । उनी हरेक कुरा जोस जाँगरका साथ सिक्ने गर्छिन् । अरूले जति सिकाउँदा पनि झर्काे नमान्ने शिल्पाको बानी छ । सुटिङमा समयमा पुग्ने उनको अर्काे राम्रो पक्ष हो । नयाँ मान्छेसँग छोटो समयमा घुलमिल हुन नसक्नु शिल्पाको कमजोरी पक्ष हो । उनी अरूसँग छोटो समयमा नै घुलमील हुन सक्दिनन् । नजिकका मित्रहरुसंग मात्र सम्बन्ध राख्नु उनको अर्काे कमजोरी हो ।

थोरैको विश्वास गर्ने निता ढुङगाना


निता राम्रो अभिनय गर्ने नायिकाका साथै राम्रो नाच्ने नायिका पनि हुन । निताको बानी ब्यहोरा पनि सबै राम्रो छ । आफ्नो बारेमा आफैँ निर्णय गर्न नसक्ने नायिकामा पर्छिन निता । सीमित साथीहरूलाई मात्रै विश्वास गर्छिन् । यही कारण पनि हुनसक्छ उनको सिने यात्रा जति सफल हुनु पर्ने हो त्यति भएको छैन । एउटा चलचित्रमा काम गरिरहँदा अर्काे चलचित्रसंग सम्बन्ध राम्रो बनाउन नसक्नु निताको कमजोरी हो ।

पछुताउने पूजा शर्मा


नायिका पूजा शर्माको एउटा बानी जुन उनी आफैले सेयर गरेकी हुन् । उनी छोटो समयमा नै अरूसँग घुलमिल हुने गर्छिन् । उनी एकदमै खुलेर कुराकानी गर्छिन् । तर, जब उनी बोल्छिन् उनलाई आफूले बोलेको कुरामा पछि पछुतो हुने गर्छ । उनी आफूलाई पहिला नसोचेर बोल्ने अनि पछि पछुताउने व्यक्तिको रूपमा लिन्छिन् । त्यस्तै, उनको अर्को बानी उनी मान्छेलाई छिट्टै विश्वास गर्छिन् । यसलाई उनी आफ्नो नराम्रो बानीका रूपमा लिन्छिन् ।

स्रोत : उज्यालो अनलाइन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *