चन्दा मागेको आरोपमा शोरुम सञ्चालकसहित दुई जना पक्राउ

असाेज २, काठमाडाै । जिल्ला प्रहरी कार्यालय मोरङले ५० लाख रुपैयाँ चन्दा मागेको आरोपमा होण्डा शोरुम दमकका सञ्चालकसहित दुई जनालार्इ पक्राउ गरेकाे छ । शोरुम सञ्चालक झापाको कमल गाउँपालिका २ का ४२ वर्षीय जीवन न्यौपाने र इलाम चुलाचुली गाउँपालिका ३ का ४४ वर्षीय दिलकुमार कुरुङबाङलाई माेरङ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले स्वतन्त्र लिम्बुवान नेपाल केन्द्रीय समितिको नामबाट होण्डा शोरुम उर्लाबारी मोरङका सञ्चालक मिलन गौतमलाई ५० लाख चन्दा माग गर्दै पत्र पठाएका थिए । भदौ ४ गते काटिएको पत्रमा अध्यक्ष खाम्बोङसाको हस्ताक्षर रहेको छ । उनीहरूले पत्रमा पार्टी भूमिगत अवस्थामा रही एक दशकदेखि लिम्बूवान स्वतन्त्रताको आन्दोलनलाई अघि बढाइरहेको उल्लेख गरेका छन् ।

भदौ ५ गते पठाएकाे पत्र उनीहरूले १२ गते प्राप्त भए/नभएको बारे एनसेलको नम्बरबाट गौतमलाई फोन गरी सोधीखोजी गरेका थिए । उर्लाबारी शोरुमका सञ्चालक गौतमले आफूले पार्टीलाई सहयोग गर्ने तर यतिधेरै रकम सहयोग गर्न नसक्ने जवाफ दिएको बताए । तर, उनीहरूले पार्टीको निर्णय हो तपाईँले मन्नैपर्छ भनी धम्काएपछि प्रशासनलाई जानकारी गराएको गौतमले बताए ।

त्यसपछि प्रहरीले भदौ २९ र ३० गते क्रमशः: न्यौपाने र कुरुम्बाङलाई पक्राउ गरेको थियो । उनीहरूलाई थप अनुसन्धानका लागि आइतबार म्याद थप गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बिष्णुहरी कोइरालाले जानकारी दिए । उनले प्रारम्भिक अनुसन्धानबाट चन्दा माग्ने विषय पार्टीगत भन्दा पनि व्यावसायिक प्रतिस्पर्धाबाट प्रेरित देखिएको बताए ।

उनीहरूले गौतमसहित दमकका अन्य केही व्यापारीलाई पनि ठुलो रकमको चन्दा माग गर्दै पत्र पठाएको प्रहरीले जनाएको छ । तर, अनुसन्धान जारी रहेकोले नाम बताउन नमिल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *