वीपी प्रतिष्ठानकाे वेथिति विरुद्ध नागरिक समाजकाे खवरदारी

असोज १, धरान । वीपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठान भित्र भइरहेको भ्रष्टाचार र कूशासनका विरुद्ध धरानका नागरिक समाज र राजनीतिक दलहरूले गम्भीर चासो व्यक्त गरेका छन् । आज धरानमा सर्वपक्षिय भेलाले प्रतिष्ठानमा भइरहेको भ्रष्टाचार, कूशासन, कर्मचारीका आन्दोलन र प्रतिष्ठान व्यवस्थापन पक्षको गैर जिम्मेवारीप्रति चासो व्यक्त गदै नागरिक दबाब समिति गठन गरेर भ्रष्टाचारका विरुद्ध तलदेखि माथिसम्मको सेटिङ तोड्ने बताएका छन् ।

नागरिक अगुवा राजेन्द्र शर्माको संयोजकत्वमा गठित समितिमा ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका सम्पादक किशोर कुमार कार्की सदस्य सचिव रहेका छन् भने, सदस्यमा पूर्व मेयर मनोजकुमार मेन्याङ्वो रहेका छन् । उनीहरूले प्रतिष्ठानका भ्रष्टाचारीलाई जरैदेखि निर्मुल पार्नुपर्ने र त्यसका लागि राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी युवाहरू एक हुनुपर्ने बताएका छन् । प्रतिष्ठान धरानको विकास र प्रतिष्ठासँग प्रत्यक्ष जोडिएको संस्था भएकोले यस भित्र हुने सबै खाले गलत क्रियाकलापलाई खबरदारी गर्नुपर्नेमा उनीहरूको जोड थियो ।

उनीहरूले प्रतिष्ठानमा भएको भ्रष्टाचारमा माथिल्लो तहसम्मको सेटिङ तोड्नेगरी काम गर्नुपर्ने औल्याउँदै त्यसका लागि नागरिक समाजले सशक्त भएर दबाब दिनुपर्ने जिकिर गरे । आज आयोजित सर्वपक्षिय भेलामा बोल्दै नागरिक समाजका अगुवाहरुले प्रतिष्ठान धरानको गहना भएकोले प्रतिष्ठानभित्र हुने भ्रष्टाचार, कुशासनका विरुद्ध एक जुट भएर जाने बताएका छन् । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत निष्पक्ष काम नगरेको प्रति रोष प्रकट गरे । भने, आयोगले तत्काल छानबिन नगरे सशक्त रूपमा खबरदारी समेत गर्ने चेतावनी दिए ।

प्रतिष्ठानमा ६ महिना अघि नियुक्त भएर आएका पदाधिकारीले प्रतिष्ठानको सेवा सुधार गर्नुको सट्टा विभिन्न उपकरण खरिदमा करोडौं भ्रष्टाचार गरेको र प्रतिष्ठानलाई डुबाउने षड्यन्त्र गरेको भन्दै उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल सत्यतथ्य सार्वजनिक गर्नुपर्ने समेत बताए । ‘अख्तियारले भ्रष्टाचार भयो भनेर कराएर मात्र भएन, सत्यतथ्य सार्वजनिक गर्नु पर्दछ ।’ एक नागरिक अगुवाले आक्रोश प्रकट गरे ।

सर्वपक्षिय भेलामा बोल्दै पूर्व धरान नगरप्रमुख मनोज कुमार मेन्याङ्वोले प्रतिष्ठानका विषयमा बाहिर आएका विवादमा पदाधिकारीहरुले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए । उनले प्रतिष्ठानको सेवा सुविधा वृद्धि गरी जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिनुपर्नेमा उल्टै भ्रष्टाचारमा पदाधिकारी मुछिनु प्रतिष्ठानका लागि मात्र नभएर धरानका लागि समेत लाजमर्दो भएको जिकिर गरे । ‘प्रतिष्ठान धरानबासीको मात्र नभई पूर्वाञ्चलबासीकै हो । यसलाई अझ विस्तार गर्न र त्यहाँ भित्र हुने भ्रष्टाचार, राजनीति बन्द गराउन धरानबासी जाग्ने बेला आएको छ ।’ उनले भने ।

भेलामा बोल्दै नागरिक समाजका राजेन्द्र शर्माले प्रतिष्ठानको भ्रष्टाचारमा माथिल्लो तहसम्मै सेटिङ हुने गरेको भन्दै पदाधिकारी र माथिल्लो तहसम्मको सेटिङ तोड्नु पर्ने औंल्याए । उनले यसका लागि धरानबासी, नागरिक समाज, राजनीतिक दलहरूको सक्रिय सहभागिता हुनुपर्ने बताए । उनले प्रतिष्ठान धरानको भए पनि धरानबासीले अनुभूत गर्न नपाएको जिकिर गरे ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका धरान नगर इन्चार्ज प्रदीप भण्डारीले विगत केही वर्षयता प्रतिष्ठानको गरिमा कमजोर हुँदै गएको र यस पटक भ्रष्टाचार र राजनीतिले थिलोथिलो भएको औल्याए । सर्वपक्षिय भेलामा नागरिक समाजका डा. भीम खतिवडाले प्रतिष्ठान धरानबासीको पहिचान भएकोले त्यहाँको विकृति विसंगति विरुद्ध हस्तक्षेप गर्नुपर्ने बताए ।

भेलामा नेकपा एमालेका धरान नगर कार्यवाहक अध्यक्ष नारायण प्रसाद सुवेदी, एमाले जिल्ला कमिटी सदस्य मुरारी सुवेदी, नेपाली काँग्रेस धरान नगर सभापतितिलक राई, काँग्रेस क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सागर प्रसाई लगायतले पदाधिकारीहरुले प्रतिष्ठानको विकास र विस्तारमा पदाधिकारीहरू गम्भीर नभएको प्रति चिन्ता व्यक्त गरे । उनीहरूले अविलम्ब कर्मचारीका माग प्रति जवाफदेही हुनुपर्ने र प्रतिष्ठान भित्र हुनेगरेका सबैखाले अनैतिक गतिविधि बन्द गरिनुपर्ने बताए । यदि व्यवस्थापनले प्रतिष्ठानको हित विपरीत कार्य गरिरहे आफूहरू चुप लागेर नबस्ने बताए ।

सर्वदलिय भेलामा नागरिक समाज, धरानका विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, समाजसेवी लगायत पेशागत बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।

विगत एक सातादेखि प्रतिष्ठानमा भएका सबै खाले भ्रष्टाचारको निश्पक्ष छानबिन हुनुपर्ने, प्रतिष्ठानको सेवा सुविधा विस्तार गरिनुपर्ने, कर्मचारीको तलब सुविधा वृद्धि गर्नुपर्ने लगायतका २१ बुँदे माग राख्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएपनि व्यवस्थापन पक्षले वार्ताका लागि समेत पहल गरेको छैन । कर्मचारी कल्याण समाजको अगुवाईमा भएको आन्दोलनमा कर्मचारीहरुले प्रतिष्ठानको कुनै सेवा प्रभावित नगरी दैनिक तीन घण्टा प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा धर्ना दिइरहेको थिए । आन्दोलनमा उत्रिएको एक साता वितिसक्दा समेत पदाधिकारीले वार्ता र संवादका लागि कुनै पहल नगरेको भन्दै आजबाट उनीहरूले धर्ना कार्यक्रमलाई बढाएका छन् । समाजले आजबाट दैनिक ४ घण्टा धर्ना दिएको छ ।

कर्मचारी धर्नामा उपकूलपति मनासलुमा

प्रतिष्ठानका कर्मचारीले २१ बुँदे माग राखी कार्यकक्षमा धर्ना दिइरहँदा प्रतिष्ठानका उपकूलपति डा। राजकुमार रौनियार भने आइतबार बिहानसम्म राजधानी स्थित होतल मनासलुमा डिनर खाइरहेका थिए । बिहीबार हतास मुद्रामा राजधानी आएका डा। रौनियारले आन्दोलनमा उत्रिएका केही कर्मचारीलाई तह लगाउन भन्दै विभिन्न राजनीतिक दल र स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेललाई समेत भेट गरेको बुझिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनले दसैँ अघि तलब दिएर केही कर्मचारीलाई कारबाही गर्ने अनि प्रतिष्ठानको सिनेटले मान्यता दिएको कर्मचारी कल्याण समाजलाई भङ्ग गर्न लगाएर कर्मचारी तदर्थ समितिलाई मान्यता दिलाउने प्रपञ्च रचेका छन् ।

६ महिना अघि तत्कालीन स्वास्थ्यमन्त्री गगन थापा र काँग्रेस नेता कृष्ण प्रसाद सिटौलालाई १४ करोड बढी रकम बुझाएर उपकूलपति भएका डा. रौाियारले यति बेला प्रतिष्ठानको सम्पत्ति सिध्याउन अनेक गर्न थालेका छन् । प्रतिष्ठानमा क्यान्सर सेन्टर र मुटुरोग सेन्टर निर्माणका लागि परामर्श छनौटको टेण्डर खोल्नु २ घण्टा अघि टेण्डर क्यान्सिल गरेर करोडौंको घोटाला गरेका थिए । भने, प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआई मेसिन खरिदमा व्यापारीसँग मिलेर ६ करोड बढी भ्रष्टाचार गरेको भन्दै अख्तियारले फायल समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अवस्था छ । उनले अस्पताल निर्देशक डा. गौरीशंकर शाहलाई नियुक्ति गर्दा पनि शाहबाट ४ करोड लिएको आरोप लागेको छ । प्रतिष्ठानका कर्मचारीहरुले यी विषयमा समेत डा. रौनियारले जवाफ दिनुपर्ने बताईरहेका छन् ।

अधिकारै नपाएको यो कस्तो वार्ता समिति

प्रतिष्ठानमा कर्मचारीहरुले आन्दोलन चर्काउँदै गएपछि र मन्त्रालय लेवलमा समेत कुरा पुगेपछि डा. रौनियारले कर्मचारीहरुसँग बार्ता गर्न भनेर एउटा टोली गठन गरेका थिए । उनले प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, डेपुटी रजिष्ट्रार अमित श्रीवास्तव लगायतका केही पदाधिकारीलाई वार्तागर्नु भनेर टेलिफोनबाट जानकारी दिएपनि लिखित रूपमा नआउँदा तथा अधिकार नै नदिएपछि वार्ता हुन सकेको छैन । कर्मचारीहरुले उक्त वार्ता टोलीलाई ‘नाममात्रको समिति’ भन्दै अधिकारै नभएको समितिसँग वार्ता नबस्ने अड्डी कसेका छन् ।
समाजका अध्यक्ष सुजेन्द्र तामाङले व्यवस्थापन पक्षले कर्मचारीलाई भुलाउन वार्ताको नाटक गरेको बताए । उनले अधिकार विहिन टोलसँग वार्ता बस्नुको कुनै औचित्य नरहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *