विप्लव नेतृत्वको माओवादीले पोखरामा सरकारी सवारी साधन चल्न नदिने

एन एच पौडेल, पोखरा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई प्रशासनले गिरफ्तार गरी झुट्ठो मुद्दा लगाएको आरोप लगाउदै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पार्टीले असोज २ गतेदेखि कास्कीमा सरकारी सवारी साधन सञ्चालमा रोक लगाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्यूरोले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य ओम प्रकाश पुनले पार्टीका कार्यकर्ता, समर्थक र सर्वसाधारणको गिरफ्तारी धरपकड, अनावश्यक निगरानी गरेको आरोप लगाए । प्रहरी प्रशासनले घर तलासी र झुट्टा मुद्दा लगाएर फसाउने प्रतिकृयावादी षडयन्त्र गरेकोले तत्काल बन्द गर्न आग्रह गर्दै यदि यही अवस्था कायम राखे पार्टी प्रतिरोधात्मक सङ्घर्षमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य एवं गण्डक ब्यूरो ईञ्चार्ज सावित्रा दूरा आस्थाले आन्दोलनका कार्यक्रमहरू घोषणा गर्दै प्रहरी हिरासतमा रहेका आफ्ना नेता कार्यकर्ताहरूलाई विनाशर्त रिहाइ नगरे यही आश्विन ४ गतेदेखि प्रदेश नं ४ मा सरकारी सवारी साधनमा रोक लगाउने बताइन् । नेतृ आस्थाले पोखराको सस्तो बजारमा बम राख्ने कार्यमा आफ्नो पार्टीको संलग्नतालाई अस्वीकार गर्दै सोही घटनालाई लिएर आफ्ना नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरी विष्फोटक पदार्थ सम्बन्धी ऐन मुद्दा लगाउनु राज्यको पराजित र त्रस्त मानसिकता रहेको आरोप लगाईन् ।

गत भदौ २६ गते सस्तो बजारमा अज्ञात समूहले राखेको बमलाई नेपाल कम्युनिस्ट पार्टीसँग जोडेको र सोही आरोपमा नेकपाका जिल्ला सेक्रेटरी नन्दलाल तिवारी, सदस्य सोमनाथ अधिकारी, वालकृष्ण अधिकारी, गोविन्द ओली, लोकेन्द्र राई र काशी पौडेल लगायतका पाँच जना नेता तथा कार्यकर्तालाई प्रहरी पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *