‘तिमीहरू घरसामुन्ने गस्ती गर्ने तर कसले कुटाइ खाएको छ त्यो चाल नपाउँने ?’

काठमाडौँ, असोज १ । दुई नम्बर प्रदेशको धनुषामा भोट खसाल्न एक दिन बाँकी रहँदा नगराइन नगरपालिकामा काँग्रेसका तर्फबाट मेयरका प्रत्यासी परमेश्वर शाह थलामा परेका छन् । हाल उनको उपचार भइरहेको छ । उनको टाउँकोमा गम्भीर चोट लागेको छ । सम्भवतः उनी भोलि हुने निर्वाचनस्थलमा उपस्थित भएर आफूलाई भोट खसाल्न आग्रह गर्न समेत नसक्ने अवस्थामा पुगेको बताइन्छ ।

आइतबार राति १२ बजे नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार परमेश्वर यादवलाई अकौरास्थित घरमा मदिरा सेवन गरेका एमाले कार्यकर्ताले कुटेका हुन् । मेयरका प्रत्यासी परमेश्वरले आफू सुतिरहेको अवस्थामा मदिरा सेवन गरेका एमालेका सयौँ कार्यकर्ताहरुले नाराबाजी गर्दै आएर कुटपिट गरेको बताएका छन् । ‘मध्यह्न १२ बजे म मस्त निन्द्रामा थिए । एक्कासि एमालेका सयौँ कार्यकर्ताहरू आएर मलाई कुटपिट गरे । अब म उनीहरुबिरुद्ध कानुनी उपचारमा जान्छु ।’

एमाले कार्यकर्ताको आक्रमणमा परि स्थानीय देवेन्द्र यादव, विनोद यादव, रामगुलाम यादव, पुकारी देवी यादव, राजन यादव, लगायतका व्यक्तिहरू घाइते भएका छन् । हाल यादव सहित उनीहरूको उपचार भइरहेको छ भने जिल्ला प्रहरी कार्यालयले घटनाको सत्य तथ्य छानबिन गरेर दोषीलाई तह लगाइ छाँड्ने जनाएको छ ।

यादवले सशस्त्र प्रहरीले गस्ती गरिरहेकै अवस्थामा एमाले कार्यकर्ताहरूले आफ्नो घरमा आएर कुटपिट गरेको आरोप लगाएका छन् । ‘मलाई सशस्त्र प्रहरीले गस्ती गरिरहेकै अवस्थामा मदिरा सेवन गरेका एमाले कार्यकर्ताले कुटेका छन् । मेरो घरको मूलढोका,मोटरसाइकल, र कुर्सीहरु तोडफोड गरेका छन् । अब, पहिले कसले हातपात गरेको हो, प्रमाण छँदै छ ।’

पहिले र दोस्रो चरणको स्थानीय तहमा अघि देखिएका उनीहरूले तेस्रो चरणको निर्वाचनमा पराजय हुने डरले आफूमाथि हातपात गरिएको यादवले बताए । उनले बताएअनुसार एमालेका अरविन्द पासवान, धर्मेन्द्र पासवान, वीरेन्द्र राउत, दिनेश राउत, कञ्चन राउत, मुकेश राउत लगायतका समूहले सुतिरहेको अवस्थामा लछारपछार गर्दै कुटेका हुन् । यसरी घरमा आक्रमण गर्न पुगेका उनीहरूले ढंगामुढा गरेपछि ढुङ्गा उछिटिएर परिवारका केही सदस्यलाई पनि सामान्य चोटपटक लागेको बताउँछन् ।

तर, उता, एमाले कार्यकर्ताहरूले काँग्रेसका नेता राजेन्द्र यादवको घरमा ढुंगामुढा गरिएपछि आफूहरूले सहन नसकेर मध्य रातमै आएर लछार पछार गरेको बताएका छन् । तर, मदिरा सेवन गरेको झूठो भएको उनीहरू बताउँछन भने काँग्रेस नेता विमलेन्द्र निधीको निर्देशनमा काँग्रेस कार्यकर्ताले प्रहरीकै संरक्षणमा एमालेका कार्यकर्तालाई घर घरमा पसेर आक्रमण गरेकोले आफूहरूले त्यो कदम रोक्दा यस्तो घटना घटेको बताएका छन् । ‘निधीको प्रत्यक्ष संलग्नतामा एमाले कार्यकर्तालाई घर घरमा पुगेर धम्क्याइयो । अनि हामीले पनि त्यो धम्किलार्ई खोज खाज गर्दा एक्कासि यादवलाइ कुटियो भनिएको छ । तर, कुरो त्यसो होइन ।’ एमाले केन्द्रीय सदस्य रघुवीर महासेठले बताए । उनले आइतबार नै विज्ञप्ति जारी गरी धनुषामा राज्य आंतक सिर्जना गरिएको र असुरक्षाका कारण सयौँ एमाले कार्यकर्ता विस्थापित भएको आरोप लगाएका छन् ।

के हो पारा ?-निधि
यता,पूर्व गृहमन्त्री विमलेन्द्र निधिले प्रहरीको सामुन्ने उम्मेदवारको घरमा आक्रमण हुँदा प्रहरीलाई झपार्न सम्म झपारेका छन् । ‘तिमीहरू घरसामुन्ने गस्ती गर्ने तर कसले कुटाइ खाएको छ त्यो चाल नपाउँने के हो पारा ? ’उनले गस्तीमा खटिएका टोलीलाई मुकदर्शक भएर गस्ती नगर्न चेतावनी दिए । निर्वचनको पूर्व सन्ध्यामा उम्मेदवारलाई लक्षित गरी आक्रमण हुनु सुरक्षा व्यवस्थाको बेवास्ता भएको भन्दै एमालेका कार्यकर्तालाई खोरमा जाग्न आदेश दिएका छन् । ‘चुनावको एक दिन अघि यस्तो कसरी घटना घट्यो ? एमाले कार्यकर्ताहरूले गस्तीको बेलामा आएर मेयरलाई किन हातपात गरे । यो गम्भीरको विषय हो ।’ उनले प्रहरीलाई आदेश दिए,‘द्वोषीलाई चिसो खोरमा नजाके फेरि भोलि निर्वाचनको समय पनि यस्तै गतिविधधि दोहोरिन्छ । अब चनाखो हुुनुस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *