IELTS मा ६.५ नआए ब्याज सहित पैसा फिर्ता !


जेठ १७, काठमाडौँ । ब्रिटिस काउन्सिलले लिने IELTS को परीक्षामा पास गराउने ग्यारेण्टी गर्दै एक इन्ष्टिच्युटले विद्यार्थीमा भ्रम फैलाएको छ । बागबजार स्थित इएलटी सेन्टर प्रा.लिई.ले ब्रिटिस काउन्सिलले लिने प्रवेश परीक्षा IELTS मा ६.५ नम्बर नआए विद्यार्थीबाट लिएको पैसा ब्याज सहित फिर्ता गर्ने भ्रामक विज्ञापन बनाएर विद्यार्थीलाई भ्रम छरेको छ ।
दैनिक ३ घण्टाको कक्षा लिनुपर्ने, १५ हजार शुल्क तिरे विद्यार्थीलाई IELTS मा ६.५ ल्याउने ग्यारेण्टी गरेको इएलटी सेन्टर प्रा.लिई.का सञ्चालक डिआर राउतले बताए । सेन्टरले ‘६.५ नआए ब्याज सहित पैसा फिर्ता’ भनेर भ्रामक विज्ञापन, पोष्टर गरेको छ ।
सेन्टरका सञ्चालकले आफूले गर्न सक्ने काम भएरै त्यस्तो ग्यारेण्टी गरेको बताए । ‘मैले केही कन्डिसन राखेर त्यस्तो गरेको हो । तपाईँलाई यसमा कुनै द्विविधा भए कार्यालयमा आएर कुरा गर्नुस् ।’ उनले भने । राउतले आफूले ग्यारेण्टी नगरेको तर, विद्यार्थीले राम्ररी आफूले भने अनुसार गरे ६.५ ल्याउन सक्ने ग्यारेण्टी गरेको जिकिर गरे । मकालु खबरसँगको फोन सम्पर्कमा राउतले विगतमा पनि आफूले यसरी प्रचार प्रसार गरेको भन्दै आफ्नो कार्यालयमा आएर कागजपत्र हेर्न भने । उनले शिक्षा मन्त्रालयले समेत केही गर्न नसक्ने जिकिर गर्दै भने । ‘तपाईँ मिडिया ल्याउनुस् वा मन्त्रालय कसैले केही गर्न सक्दैनन् ।’ उनले भने । उनले आफूले मात्रै त्यस्तो गरेको नभई बजारमा धेरैले गलत गरेको बताए । ‘मैले त्यस्तो प्रचार गर्दा तपाईँको ध्यान गएछ, म कहाँ आउनुस् म तपाईँलाई कसले के कति गरेको छ सबै प्रमाण दिन्छु ।’ उनले भने ।
नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का प्रथम सचिव देविदास भट्टराईले कुनै पनि इन्ष्टिच्युटले ब्रिटिस काउन्सिलले लिने परीक्षामा शत् प्रतिशत ग्यारेण्टी गर्न नसक्ने बताए । उनले IELTS को कक्षा लिन पाइने तर, कुनै विद्यार्थीलाई पास गराई दिन्छु भन्दै ग्यारेण्टी गर्न नपाईने जिकिर गरे । ‘कुनै पनि विषयको रिजल्टमा ग्यारेण्टी गर्न सकिन्न । विद्यार्थीले पढ्दै पढेन भने के गर्ने, यो सब सोझा साझा विद्यार्थीलाई ठग्ने माध्यम हो ।’ उनले भने । साथै भट्टराईले यस्ता भ्रामक प्रचारबाजी गर्ने इन्ष्टिच्युटहरुलाई सम्बन्धित निकायले कारबाहीको दायरामा ल्याउनु पर्ने बताए ।
शिक्षा मन्त्रालयका एक अधिकारीले कुनै इन्ष्टिच्युटले गलत भ्रम फैलाएर विद्यार्थीलाई प्रलोभन पारेको पाईए कारबाही गर्ने बताए । मकालु खबरसँगको टेलिफोन सम्पर्कमा उनले भने ‘तपाईँ नाम दिनुस् त्यस्ता गलत काम गर्ने संस्थालाई हामी कानुनी दायरामा ल्याउँछौं ।’
शिक्षा नियमावली अनुसार कनैपनि शैक्षिक संस्थाले विद्यार्थीलाई प्रलोभनमा पार्ने गरी प्रचारप्रसार गर्न पाइन्न । तर, बागबजारमा रहेको यो संस्थाले खुलेआम शिक्षा नियमावलीलाई धज्जी उडाएको छ ।








