धरानमा चुनावी सरगर्मीसँगै त्रिपक्षिय भिडन्त

भरतराज शर्मा (गोपाल), धरान । दोस्रो चरणको स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सुनसरीको धरान उपमहानगर पालिकामा मुख्य तीन दलहरू बिच चर्को प्रतिस्पर्धा देखिएको छ । २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र बिच चर्को प्रतिस्पर्धा देखिएको हो ।
असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा विगतका निर्वाचनमा अगाडी आएका काँग्रेस, एमाले र माओवादी बिच नै प्रतिस्पर्धा देखिएको हो । ७८ हजार १ सय ४ जना मतदाता सङ्ख्या रहेको धरान क्षेत्रका लागि ३३ ओटा मतदान स्थल तोकिएको छ ।
एमाले: लालकिल्ला जोगाउने चुनौति
धरानलाई धेरैले नेकपा एमालेको गढ भन्छन् । पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीले एमालेको किल्ला भत्काएपनि दोस्रो संविधानसभामा एमालेले आफ्नो किल्ला फर्काउन सफल भएको थियो । अहिले यही लाल किल्ला जोगाउने उद्देश्यले धरानमा नाम चलेका र स्थानीय जनतासँग भिजेका उम्मेद्वारलाई मेयरमा उठाउने तयारी गरेको छ ।

केन्द्रीय राजनीतिमा एमालेले राम्रो पकड राख्न नसकेको, स्थानीय मुद्दालाई प्राथमिकता नदिएको आरोप लागेको छ’

नेकपा एमालेबाट सबैभन्दा बढी चर्चामा आएका उम्मेदवार हुन्, नगर अध्यक्ष तारा सुब्बा । आदिवासी जनजातिको सहर समेत भनेर चिनिने धरानमा सुब्बालाई एमालेको बलियो उम्मेद्वारका रूपमा लिइन्छ । उपमेयरमा मञ्जु भण्डारी, वेणु काफ्ले, रुकमणि मास्के र सावित्रा श्रेष्ठ आकांक्षी छन् । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले बाजी मारेको थियो । संसदीय निर्वाचनमा पनि धरान एमालेको गृह जिल्ला नै हो । एमालेले धरानका विकासमा एयरपोर्ट देखि रिङरोड खानेपानी, ढल र बसपार्कका मुद्दालाई बोकेको छ । तथापि, केन्द्रीय राजनीतिमा एमालेले राम्रो पकड राख्न नसकेको, स्थानीय मुद्दालाई प्राथमिकता नदिएको आरोप लागेको छ ।
धरानमा एमाले निक्कै मिडिया मैत्री रहेको छ । एमालेको चुनावी अभियानलाई सहयोग गर्न प्रेस चौतारी नेपाल धरानले ‘हट लाइन’ नै सञ्चालन गरेर प्रचार प्रसारलाई तीव्रता दिएको छ । पार्टीले आफ्ना जनवर्गिय सङ्गठनलाई हरेक वडा–वडामा परिचालन गरेर जनमत बढाउँदै लगेको छ ।
काँग्रेसलाई अवसर
धरान उपमहानगरपालिकामा नेपाली काँग्रेस अहिलेसम्म अगाडी आउन सकेको छैन । यसको मूल कारण भनेको धरान काँग्रेस भित्रको आन्तरिक कलह नै हो । दोस्रो संविधान सभामा विजयको नजिक पुग्दापुग्दै पनि आन्तरिक कलहमा रुमलिँदा पार्टीको पराजय भएको स्वयम् कांग्रेसीहरुको धारणा छ । यस पटक काँग्रेसबाट मेयरका लागि चर्चामा आएका पूर्व धरान नगर सभापति किशोर राई र वर्तमान नगर सभापति तिलक राई बिच कसले टिकट पाउने भन्नेमा प्रतिस्पर्धा नै छ ।

‘यद्यपि, काँग्रेस भित्रको गुटबन्दी धेरै ठुलो चुनौती रहेको छ । यो चुनौतीलाई समाप्त गर्न सके धरानमा चार तारे भण्डा फरहराउन सक्छ’

पार्टी सभापति शेरबहादुर देउवा पक्षका किशोर राई नगरमा परिचित नाम हो । भने, काँग्रेसको रामचन्द्र पौडेल पक्षसँग नजिक भएका तिलक राई पनि कमजोर छैनन् । यस अघिको निर्वाचनमा नेकपा एमालेले बर्चस्व कायम गरे पनि अहिले काँग्रेसले आफ्नो सङ्गठन बलियो बनाउँदै लगेकोले काँग्रेसले धरानमा सिन्दूर जात्रा गर्न सक्ने देखिन्छ । काँग्रेसले चुनाव घोषणा गर्नु तीन महिना अघिदेखि नै आफ्ना सङ्गठन र जनवर्गिय सङ्गठनलाई चुनावी मैदानमा उतारिरहेको छ । यद्यपि, काँग्रेस भित्रको गुटबन्दी धेरै ठुलो चुनौती रहेको छ । यो चुनौतीलाई समाप्त गर्न सके धरानमा चार तारे भण्डा फरहराउन सक्छ । पार्टीले स्थानीय विकासका मुद्दालाई आफ्नो एजेण्डा बनाएर अघि बढेको छ । यसका लागि मेयरका प्रत्यासी किशोर राई महानगरपालिकाका विकसित वडादेखि पाँचकन्या र विष्णुपादुका जस्ता ग्रामीण वडाहरुमा पुगेका छन् । धरानमा काँग्रेसले माओवादी वा राप्रपासँग तालमेल गरेर जाने समेतका कुरा आएका छन् । यसका लागि पार्टीका जिल्ला देखि नगर तहका नेताहरू लागेका छन् ।
माओवादी केन्द्र: फलामको चिउरा
एमाओवादीले पहिलो संविधान सभा निर्वाचनमा ल्याएको जनमत दोस्रो संविधान सभासम्म जोगाउन नसक्नुको मुख्य कारण भनेको कमजोर सङ्गठन नै हो । यो कुरालाई पार्टीले दोस्रो संविधानसभा निर्वाचनको पराजयसँगै गरेको विश्लेषण हो । कमजोर र मध्यमवर्गिय जनताको पार्टी भन्दै जनमत सृजना गरे पनि व्यापारी, उद्योगी र माथिल्लो वर्ग प्रति फरक दृष्टिकोण राख्दा शहरी क्षेत्रमा पार्टी कमजोर छ । यो सँगै पार्टी भित्रको टुटफुटका कारण पनि सङ्गठन कमजोर बनेको छ ।

‘माओवादी नेतृत्वको सरकारले गरेका केही राम्रा कामको जस पाएपनि धरानको हकमा काँग्रेस, एमालेसँग प्रतिस्पर्धा गर्न पार्टीलाई ‘फलामे चिउरा’ चपाए सरह छ’

माओवादी नेतृत्वको सरकारले गरेका केही राम्रा कामको जस पाएपनि धरानको हकमा काँग्रेस, एमालेसँग प्रतिस्पर्धा गर्न पार्टीलाई ‘फलामे चिउरा’ चपाए सरह छ । माओवादी केन्द्रबाट मेयरमा नगर इन्चार्ज माओवादी केन्द्रबाट मेयरमा आइन्द्र विक्रम बेघा, छनौट भईुसकेका छन् । उपमेयरमा चेतना सेरेङ, कमला राई गंगा बराल र लक्ष्मी प्रधान लगायतको नाम चर्चामा रहेको छ । नगरमा माओवादीको पकड एरिया भनेको सुकुम्बासी क्षेत्र हो ।
सङ्घीय समाजवादी फोरम: हैसियतको चिन्ता
दोस्रो संविधानसभा निर्वाचनमा सङ्घीय समाजवादी फोरम (समाजवादी पार्टी) का उम्मेदवार ध्यान बहादुर राई करिब करिब पत्ता साफै भए । उनले उक्त निर्वाचनमा तीन हजार आठ सय नौ भोट मात्र प्राप्त गरेका थिए । अहिले उपेन्द्र यादवको मधेसी जनाधिकार फोरमसँगको एकता पछि सङ्घीय समाजवादी फोरम बनेको पार्टीलाई विगतमा गुमेको साख फिर्ता लिनु छ । पहिचान र जातियताको मुद्दा लिएर अघि बढेको फोरमबाट धरान नगर अध्यक्ष पारस काङबाङ, गजेन्द्र इस्वो, मानभगत चाम्लिङ र उपमेयरमा विनाकुमारी राई चर्चामा छन् । तर, विगतमा भएको पराजयका कारण पार्टीका उम्मेद्वारलाई जित्ने भन्दा पनि सम्मानजनक स्थान आउनु नै ठुलो कुरा रहेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी: जमानत जोगाउने चिन्ता
सङ्घीयता, जातियताका मुद्दा सबैभन्दा पहिले उठाउने र नेपालको हावापानी सुहाउँदो पार्टी भनेर राष्ट्रिय जनमुक्ति पार्टीले आफूलाई उठाएको छ । पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङवाको गृह क्षेत्र र आदिवासी जनजातिको सहर भएकोले पनि जनमुक्तिका लागि स्थानीय चुनाव जित्नै पर्नेछ । पार्टीले चित्रबहादुर थापा मगरलाई मेयर र पूर्णकला लिम्बुलाई उपमेयरमा उठाएपनि ठुला पार्टीसँग तालमेल गरेर जाने रणनीति बनाएको छ । यसका लागि पार्टीले माओवादी केन्द्र, सङ्घीय लिम्बुवान पार्टी (कुमार लिँदेन) सँग वार्ता अघि बढाएको छ । पार्टी अध्यक्षलाई आफ्नै गृहक्षेत्रमा जित्ने भन्दापनि जमानत कसरी जोगाउने त्यो चिन्ता बढेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी: जमानत जोगाउने रणनीति
हिन्दु धर्मको वकालत गर्दै दोस्रो संविधानसभा निर्वाचनमा चौथो ठुलो दल बन्न सफल राप्रपा प्रथम चरणको निर्वाचनमा बढारिएपछि दोस्रो चरणमा साना तथा केही ठुला दलहरूसँग तालमेल गरेर जमानत जोगाउने रणनीतिमा छ । राप्रपाले धरानका केही वडाहरुमा तालमेल गर्ने योजना बनाएको छ । दोस्रो संविधान सभामा ‘एक भोट गाईलाई एक भोट दाइलाई’ भन्ने नारा बोकेपनि यस पटक राप्रपाले कुनै नारा बोक्न सकेको छैन । राप्रपा हतियार विना युद्ध मैदानमा उत्रिए जस्तै छ । उ पनि साना दल वा ठूला दलसँग तालमेल गरेर  मेयर उपमेयर भन्दा पनि वडा अध्यक्षमा रुमलिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =