किसानको सधैँको टाउको दुखाइः ‘बजारकै समस्या’

भाद् ३१, चितवन । भरतपुर–२५ जप्काका किसान रामकुमार चौधरीले यति बेला आफ्नो ५ गड्डा जमिनमा घिरौला फलाएका छन् । तर उनले घिरौला बिक्री गर्न बजार पाइरहेका छैनन् ।

‘किसानको टाउको दुखाइको विषय नै बजारकै समस्या हो । उत्पादन गरिन्छ बेच्ने ठाउँ नै हुँदैन । टाढा लगेर बेच्न पनि लागतका कारणले सकिँदैन । नजिक बजार हुँदैन’ किसान चौधरीले भने, ‘समयमै बिक्री नभए तरकारीको भाउ हुँदैन, वजन घट्छ । समयमै बेच्न बजारकै समस्या सधैँ हुन्छ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ तरकारी जोन पार्वतीपुरले शनिवार गरेको सार्वजनिकीकरण एवम् योजना तर्जुमा साथै कृषक सम्मानबाट चौधरी सम्मानित भएका छन् । सम्मानित भएपछि चौधरीले भने, ‘सम्मानित हुन पाउँदा म खुसी छु तर बजारकै समस्याले मेरो टाउको दुखाइरहन्छ ।’

तरकारी जोनले चौधरीसहित ५० किसानलाई सम्मान गरेको छ । कदरपत्रसहित ३५ सय नगदबाट उनीहरू सम्मानित भएका हुन् । चौधरीलगायत ५० किसानको टाउको दुखाइको विषय बजारकै समस्या हो ।

अर्का सम्मानित किसान भरतपुर २० भीमनगरका मेघनाथ पोख्रेलले पनि किसानको मुख्य समस्या भनेको बजारको बताए । साकम्बरी ताजा तरकारी उत्पादक कृषि सहकारीका अध्यक्ष पोख्रेलले भने, ‘बजारीकरणको अभावले नै किसान थलिएका छन्, यसको समाधान गर्न महानगरपालिकाले भूमिका खेल्दिन प¥यो ।’

भरतपुर १५ की किसान विष्णुकुमारी शर्माले पनि तरकारीको बजारीकरण गर्न आवश्यक भएको बताइन् । त्यस्तै अर्का किसान केदार बरालले पनि कृषिमा आत्मनिर्भर हुन नसकेकोमा दुखेसो गर्दै किसानको उत्पादन भएको विक्री गर्न बजारकै समस्या रहको बताए ।

हरियाली अभियान प्राथमिकतामा

भरतपुर । सुन्दर र सफा सहरका लागि हरियाली अभियान आफ्नो प्राथमिकतामा रहेको मेयर रेणु दाहालले बताइन् । एक घर दुई बिरुवाका लागि महानगरले नीति तयार पारेको उनको भनाइ थियो ।
महानगरको ११ नम्बर वडामा रहेको गणेशस्थान मन्दिर संरक्षण संवर्धन समितिले मन्दिर परिसरमा रहेको रोटरी पार्कमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा सरिक मेयर रेणु दाहालले हरियाली मानव सभ्यतासँग जोडिएको उल्लेख गरिन ।
महानगर क्षेत्रभित्र रहेका धार्मिक स्थलहरुलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना महानगरले बनाएको रेणुुले बताइन् । त्यसका लागि भरतपुर महानगर क्षेत्रभित्र रहेका धार्मिक स्थलहरुको संरक्षण र विकासका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको रेणुुले बताइन् ।
अर्को प्रसङ्गमा मेयर दाहालले महानगरमा क्षेत्रमा सुकुमबासी समस्यालाई बिस्तारै व्यवस्थापन गर्ने उल्लेख गरिन् । महानगर जोड्ने रिङ रोड र लिंक रोड निर्माणको कार्यलाई तत्काल सुरु गर्ने उनको भनाइ थियो । यसका लागि एकीकृत शहरी विकासका लागि शहरी विकास मन्त्रालयबाट महानगरमा दुई अर्ब रुपैयाँ बराबरको बजेट पार्न सफल भएको उनको दाबी थियो । रोटरी क्लब नारायणगढ, गणेशस्थान टोल विकास समिति, गणेशस्थान मन्दिर संरक्षण संवद्र्धन समितिलगायतका संघसंस्थाको उपस्थितिमा भएको उक्त कार्यक्रममा स्थानीयको सहभागिता रहेको थियो ।

गत वर्षभन्दा बजेट धेरै

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ तरकारी जोन पार्वतीपुरले गत वर्षभन्दा यस वर्ष केही धेरै बजेट हात पारेको छ । ‘गत वर्ष ९७ लाख ४५ हजार बजेट परेको थियो, यस वर्ष तलबभत्ता सहित २ करोड १ लाख ६७ हजार परेको छ’ परियोजनाका कार्यान्वयन इकाइ तरकारी जोनका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत सोमनाथ घिमिरेले भने ।

तरकारी जोन अन्तर्गत भरतपुर महानगरको जगतपुरदेखि गोलाघाटसम्म दक्षिण पश्चिम क्षेत्र ३० किलोमिटरको सेरोफेरो पर्छ । तरकारी जोनमा फुलबारी, शारदानगर, रामपुर, चनौली, पार्वतीपुर, शिवगनर, शुक्रनगर र मेघौलीसम्मका ठाउँहरू पर्छ । यी ठाउँहरुलाई तरकारीको पकेड क्षेत्र मानिन्छ ।

तरकारी जोनले ढाकेको क्षेत्रफल ६१७ हेक्टर छ । जोनमा १६ वटा समूह, १० वटा तरकारी सहकारी सञ्चालन छन् । यस वर्षको बजेट कृषकलाई तालिम गोष्ठीमा ५ लाख ९ हजार, उत्पादन प्रविधिमा प्रदर्शनमा ३१ लाख ९४ हजार, कृषकलाई अनुदानमा १ करोड चार लाख खर्च हुने जोनका प्रमुख घिमिरेले बताए । परियोजना कार्यान्वयन इकाइ तरकारी जोनका संयोजक बालिका गिरीको अध्यक्षतामा भएको कार्यक्रममा योजना तर्जुमा तथा कृषकलाई सम्मान गरिएको थियो ।

‘बजारीकरणमा विशेष ध्यान दिन्छु’

कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले किसानले बजारको समस्या देखाएपछि बजारीकरणमा विशेष ध्यान दिने बताएकी छन् । उनले भनिन्, ‘किसानको समस्या भनेको बजारकै रहेछ, म यस कुरामा विशेष ध्यान दिन्छु ।’ उनले कृषि आधुनिकीकरण परियोजना पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा सञ्चालनमा आएको बताउँदै भनिन्, ‘भरतपुर महानगरको पश्चिमी क्षेत्र कृषिको लागि उर्वर भूमि हो, यहाँ धेरै सम्भावना छ, यो कार्यक्रमलाई ठोस र व्यवस्थित बनाउन म अवश्य भूमिका खेल्नेछु ।’ उनले छिटै हुने नगरसभामा किसान लक्षित कार्यक्रमहरू ल्याउने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *