खैरो हाफ पाइन्ट लगाएर धूवाँ उडाउँने सुन्दरी !

ठ्याक्कै तीन बजे म बज्र क्याफेको रुफटपमा पुगेँ। पानी रोकिएको थिएन। उस्तै गतिमा परिरहेको थियो, जस्तो अघिल्लो दिन परेको थियो। सिमसिमभन्दा अलिक सघन। स्यार्र होइन। छोटो दूरीमा हिँड्दा भिजाइहाल्ने किसिमको वर्षात् थिएन। रुफटपमा दुइटा टेबल रिजर्भ थिए। एउटामा चार-पाँच जना केटा बियर पिइरहेका थिए। अर्को, त्योभन्दा धेरै वर एउटी केटी, एक्लै चुरोट पिइरहेकी थिई। म ढुक्क भएँ, साया त्यही हो।

मलाई देख्नासाथ ऊ परैबाट हाँसी।

‘बस्नोस्,’ ठीक आफ्नो विपरीत दिशामा भएको कुर्सीमा बस्न अनुरोध गरी। म बसेँ।

उसलाई नियाल्नमै केन्दि्रत भएँ। दुई वर्षदेखिको प्यास। म तृप्त हुन चाहन्थेँ। मलाई लागिरहेको थियो, ऊ एकछिनसम्म केही नबोलोस्। एकछिनसम्म वर-पर दायाँ-बायाँ, कसैको केही हलचल वा बाधा नआओस्। म उसलाई निरन्तर निहाल्न चाहन्थेँ। आँखाभरि भर्न चाहन्थेँ। टिलपिल टिलपिल, पोखिउन्जेलसम्म। छचल्किरहोस् ऊ मेरा आँखामा, जसरी छचल्किन्छ कसैको आँखा, असीम खुसीले।

कुर्सीमा बस्नुसँगै एउटा कौतूहलको अवसान हुन्छ।

‘साया शाक्य’ मेरो अघिल्तिर छे। म आफैँलाई कसरी विश्वास दिलाऊँ ?

साया मरून कलरको स्लिभलेस र खैरो हाफ पाइन्टमा थिई। उसको वेषभूषा हेर्दा लाग्थ्यो— उसलाई पटक्कै जाडो भएको छैन। एकनासले धूवाँ फालिरहेकी। कपालचाहिँ गर्धनसम्म मात्र झरेको। दायाँ पाखुरामा एउटा अमूर्त टाटु खोपेकी थिई।

समग्रमा बिछट्ट राम्री। यस्ती साया देखेर किन भुतुक्क नहोस् त अतीत शर्मा ? किन त्यसरी नपछयाओस् नर्वेसम्म ? किन नरोओस् उसलाई एकाएक गुमाउनुपर्दा ? सबै कुरा सायालाई एक झल्को देख्नासाथ छर्लङ्ग भैरहेछ।

‘किन रुफटपमा बसेकी, यस्तो झरीमा ?’ सिलसिला मैले नै सुरु गरेँ। यो प्रश्न आवश्यक र स्वाभाविक नै पनि थियो। भलै ऊ भिजिरहेको अवस्थामा थिइन। ठूलो छाताले टेबल र त्यस वरिपरिको सानो संसारलाई आवश्यक सुरक्षा प्रदान गरिरहको थियो। एकपटक वरपर नियालिसकेपछि थाहा पाएँ।

नसोधेकै भए पनि हुन्थ्यो कि ! सोधिसकेपछि यस्तो लाग्यो।

तर उसले पनि उत्तर नदिएकै भए हुन्थ्यो, दिई। भनी, ‘नर्वेमा उज्यालोको मुख नै ठीकसँग कहाँ देख्न पाइन्छ र ? काठमाडौं बसुन्जेल त धीत मार्नुपर्‍यो नि !’

म हाँसेँ। एउटा र्फमल हाँसो। मन नलागी-नलागी। उसको कुरामा रुचि देखाइरहेको छु भन्ने आभास दिलाउन।

‘के खानुहुन्छ ?’ उसले मतिर मेनु सारिदिई। पछिल्तिर वेटर आएर ठिङ्ग उभिएको रै’छ। केही खाइहालूँको स्थिति थिएन। नखाई बस्न मनले मानेन। कफी र चुरोट नै मगाएँ।

‘चुरोट चैं दुइटै ल्याउनुस्।’ मैले बोलिसकेपछि सायाले वेटरलाई भनी।

‘एउटै चुरोट खाऊँ न, आत्मीयता बढ्छ।’ मलाई भन्न मन लागेको थियो, तर भनिनँ। आत्मीयता बढाउन मन थियो तर भन्न मन भएन, होइन सकिनँ। भन्न मिल्ने कुरो पनि त थिएन।

‘मलाई कत्तिको खोज्नू भो त ?’ एकछिनसम्म विद्यमान सन्नाटालाई उसले बिथोली।

‘हँ’, सन्नाटामा अभ्यस्त भैसकेको हुँदो हुँ, उसको प्रश्नले तर्सिएँ। भनेँ, ‘खोजी हराएको मान्छेको गरिन्छ, लुकेको मान्छेको होइन।’

यो मैले हाँस्दै भनेको थिएँ। सिरियस्ली भनेको भए रिसाउँथी भन्ठानेर।

‘के रे ?’ आँखीभौं ह्वात्तै मास्तिर सारेर धेरै पहिल्यैदेखिको परिचतलाई झैँ भनी, ‘यो आरोप हो कि व्यंग्य ?’

‘जे सम्झिँदा कम रिसाउँछयौ।’

ऊ मुस्कुराई। मलाई ऊ मुस्कुराएको साह्रै मन पर्‍यो।

‘बढी रिसाउन प्रतिबन्ध छ र ?’ मुस्कुराहट कायम गर्दै उसले भनी।

‘तिम्रो पर्सनल रिस हो’, मैले भनेँ, ‘मात्रा अड्कलेर रिसाउन सक्छयौ। यत्ति चैं हो, त्यो रिसले मलाई केही असर नगरोस्।’

‘रिसको कारण तपाईं बन्ने, अनि रिसाउनु चैं आफ्नै लागि ? यो कहाँको न्याय हो ?’ हरेक कुराको तर्क गर्छे ऊ। केही बेरको र्‍यापिड फायर संवादपछि म पुनः पुरानै कुरामा गाँसिन चाहेँ। भनेँ, ‘तिमी मैले चाहेको बेलामा किन भेटिइनौ साया ?’

‘तपाईंलाई खोज्न आउँदो रहेनछ उसो भए।’ केही बेरमा यसो भनी।

‘कसरी खोज्नुपथ्र्यो र ?’ मेरो प्रश्न।

‘त्यो त तपाईंको प्रतिबद्धता थियो नि, मलाई किन सोध्नुहुन्छ।’ बसिरहेको मेचमा अलिकति हलचल गरेर आफ्नो बसाइँ मिलाउने क्रममा उसले भनी, ‘हेर्नुस् त प्रतिबद्धता तपाईंले गर्नुभएको थियो आफ्नो पुस्तकमा, भेटिइदिएँ म आफैँ। कति सजिलो बनाइदिएँ।’

‘साँच्ची मेरो फोन नम्बर कसरी पायौ ?’

‘जसरी तपाईंका अरू प्रशंसकहरू पाउँछन्।’

टेबलमा दुइटा चुरोट। पहिले मैले सल्काएँ अनि बलिरहेको सलाईको काँटी उसको मुख नजिकै लगेर चुरोट सल्काउनलाई सहयोग गरेँ। उसले पहिलो सर्को लिएर धूवाँ हावामा फाली।

(सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ को सिक्वेल ‘साया’ बाट उद्धृत।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =