मेराे मनको प्रश्न ‘तेरो मृत्युमा कोहि किन दुःखी हुने ?’

“
प्रधानमन्त्री पुष्पकमल दाहाललाई मैले वैदेशिक रोजगारको विषयमा करिब ६ महिना सहयोग गरे । उहाँले वैदेशिक रोजगारमा जे गर्नु भो, बोल्नु भो ती सबै मेरा योजना थिए । ती मेरा योजनाका २० प्रतिशत काम पनि थिएनन । तर, गर्नु अझै धेरै थियो ।
म २०६६ सालदेखि वैदेशिक रोजगारको अध्ययन गरिरहेको थिए । लाग्थ्यो, म सँग वैदेशिक रोजगारमा उत्पन्न हरेक समस्याको समाधान छ । त्यसैलाई सञ्चारको माध्यमबाट कार्यान्वयनमा ल्याउन भूमिका खेल्छु । यही उद्देश्य लिएर कान्तिपुर टेलिभिजनबाट ‘सेफ माईग्रेसन’ कार्यक्रम चलाए । तीन महिनासम्म पनि सकारात्मक परिवर्तनको कुनै बीउ रोपिएन । कयौँ राम्रा सोच र बिकृतिहरुको उजागर गरियो । तर, सरोकारवालाहरुले वास्तै नगर्ने । लाग्यो, पत्रकारहरुको त ‘फगत भुक्ने मात्र काम’ रहेछ । त्यत्ति नै बेला सोचेको थिए, कुनै दिन यस्तो ठाउँमा पुगुँला अनि जान्दो गर्छु ।
नभन्दै प्रधानमन्त्री दाहालको परराष्ट्र सल्लाहकारमा डा.ऋषिराज अधिकारी आउनु भयो । उहाँ सँग मेरो एक पटक मात्र मलेसियामा राजदूतको कार्यकाल सकेर फर्केपछि सामान्य चिनजान भएको थियो । उहाँलाई मैले वैदेशिक रोजगार सुधार्ने राम्रो अवसर भएको भन्दै मेरो कन्सेप्ट पठाए । उहाँले त्यो कन्सेप्ट पढेर प्रधानमन्त्रीलाई दिनु भएछ । कन्सेप्ट सायद प्रधानमन्त्रीले पनि हेर्नु भयो । उहाँले मलाई तुरुन्तै बोलाएर जिम्वेवारी दिन भन्नु भएछ । केही राम्रो गरेर देखाउने दबाब प्रचण्ड सरकारलाई थियो ।
त्यस्तोमा म एक कडी बने, वैदेशिक रोजगारको लागि । म त्यहाँ नपुग्थे त सायद बिमा र क्षतिपुर्ति बापत २७ लाखसम्म पाउने व्यवस्था आउने नै थिएन । २ वर्षदेखि अड्किएको वैदेशिक रोजगार नियमावली संशोधन अझै पर धकेलिन्थ्यो वा हुने नै थिएन । वैदेशिक रोजगार नियमावली संशोधन भएर आयो, जसले कामदारलाई अत्याधिक लाभ सहित सुरक्षित तुल्याएको छ ।
प्रचण्ड सरकारको आयु पहिले नै तोकिएको थियो । त्यसैले म म्यादि जागिरमा थिए । सानले केस नपाकुन्जेल र लठ्ठि टेकेर हिँड्ने बेला नहुन्जेलसम्म मलाई काम गर्ने अवसर थिएन । सीमित समयमा भद्रगोल भएको वैदेशिक रोजगारलाई ट्रयाकमा ल्याउनु पर्ने चुनौती थियो । तर, कसैको दबाब भने थिएन । त्यसमाथि त्यो मन्त्रालय सम्हाल्ने मन्त्री जी नै हुनुहुन्थ्यो । उहाँको कार्यक्षेत्र माथि हस्तक्षेप भएको महसुस होला भन्ने अर्को डर । काम असीमित तर समय सीमित । हुन त जागिर मात्रै खाएर निस्केको भए पनि हुन्थ्यो । तर, मनले जहिल्लै आफैलाई सोध्थ्यो–‘तैँले त्यस्तो के काम गरिस् जस प्रति तँ आफैलाई गर्व लागोस ?’ ‘तलाई किन मानिसले सम्झिने ?’ ‘त मर्दा तेरो अभाव कोही कसैलाई किन खड्किने ?’ ‘तेरो मृत्युमा कोही किन दुःखी हुने ?’ यस्तो मनको प्रश्नले मलाई बारम्बार आत्म सम्मानमा ठेस पुर्याउँदा मन विचलित भई रहन्थ्यो ।
जब मनले नै धिक्कार्छ नि, त्यस बेलाको नतिजा बेग्लै हुँदो रहेछ । मनले ‘त बाँचेर काम छैन’ भन्यो भने मरिहालौं जस्तो लाग्ने ।
मतलब, एकाएक कस्तो ग्लानी, कस्तो आवेस, कस्तो जोस उत्पन्न हुने । मलाई पनि त्यस्तै भयो । प्रधानमन्त्रीलाई यो तहमा पुगेर सहयोग गर्ने अवसर जो कसैलाई मिल्दैन । तर, मैले आफ्नो क्षमता देखाउने दुर्लभ अवसर पाएको थिँए । त्यसैले त्यो ६ महिना मेरो जिन्दगीको एक परीक्षा थियो । जीवनलाई सार्थक बनाएर ग्लानीबाट मुक्त हुने अवसर थियो ।
विदेशमा मृत्युदण्ड तथा जन्मकैद सुनाईएका, लाखौँ रुपैँया ब्लडमनी र जरिवाना मागिएका नागरिकका आमा बुबा, श्रीमती आएर भक्कानिनु हुन्थ्यो । मलाई उहाँहरुसँगै डाँको छोडेर रुन मन लाग्थ्यो । सक्दो ढाडस र भरोसा दिलाएर बिदा गथ्र्यौ ‘हामी छौँ नि’ भन्ने आभास दिलाएर । तर, ढोका बाहिर नपुग्दै मनमा सहयोग गर्न पो नसकिएला कि भन्ने डर उत्पन्न हुन्थ्यो । र पनि, धेरैको समस्या समाधान गर्न सक्यौं । टर्किमा अपहरणमा परेको नेपालीको सकुशल उद्धारदेखि बुल्गेरिया, कुर्दिस्तान जस्ता देशमा फसेका नागरिक पनि ल्याईयो । उद्धार त सयौँलाई गरियो ।
जसले मलाई भेटे, डा. ऋषिलाई भेटे उनीहरू कहिल्यै निराश हुनु परेन । हरेकको काम उनीहरूकै सामुबाट गरिदिने कोसिस गर्थौं । यद्यपि कतिपय काम हाम्रो र नेपाल सरकारको हातमा नै थिएन ।
प्रवासी नेपाली र तिनका परिवारका वेदना र भोगाईका कथा सबै मन छुने छन् ।
जहाँ बसेर मैले काम गरेँ, सार्है दुखः भरिएको कथाहरू छन् । हरेक व्यक्तिको नयाँ कथा । मलाई लाग्छ, भोगाई र दुःख, जो कसैको भए पनि त्यसबाट हरेक नागरिकले पाठ सिक्नुपर्छ । गल्ती आफैले गरेर चेत्नु मुर्खता हो । बजारमा गल्ती गर्ने, भोग्ने, पछारिएर उठ्ने र उठेर अघि बढ्नेहरु धेरै छन् ।
वैदेशिक रोजगारमा आज आएको परिवर्तनमा मेरो हात रहेको धेरैलाई थाहा छैन । त्यसैले सम्झिने खास नहोलान् । तरपनि, म ह्दय देखि नै खुसी छु । मनले पनि हिजो आज कुनै प्रश्न सोध्दैन । बरु भन्छ, ‘तैले गर्व गर्न लायकको काम गरिस, ‘स्याबास !’
लेखकः रेडियो कान्तिपुरमा सुरक्षित ‘वैदेशिक रोजगार’ कार्यक्रम सञ्चालन गर्छन् ।
“








