च्याम्पियन्स लिगमा रोनाल्डो अर्को रेकर्ड नजिक

एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियन्स लिगको अर्को रेकर्ड नजिक छन् । च्याम्पियन्स लिगमा सबैभन्दा पहिला सय गोल पूरा गरेका रोनाल्डो लिगमा बढी गोल गर्ने खेलाडी हुन् । मङ्गलवार राति साइप्रसको क्लब एपोइल निकोसियाविरुद्ध गोल गरेमा रोनाल्डोले एकै वर्षमा बढी गोलको कीर्तिमान बनाउनेछन् ।

यसअघि एक वर्षमा बढी गोल गर्ने कीर्तिमान पनि रोनाल्डोकै नाममा छ । रोनाल्डोले सन् २०१५ मा १६ गोल गरेर कीर्तिमान बनाएका थिए । यो वर्ष पनि रोनाल्डोले १६ गोल गरेर कीर्तिमान बराबरी गरिसकेका छन् । मङ्गलवार राति निकोसियालाई गोल गर्न सके रोनाल्डोले १७ गोल गरेर एकै वर्षमा बढी गोल गर्ने कीर्तिमान बनाउनेछन् ।
समूह एचमा रहेको रियल चार चरणको खेल सकिँदा ७ अङ्क जोडेर दोस्रो स्थानमा छ । शीर्ष स्थानको टोटनह्यामको १० अङ्क छ । च्याम्पियन्स लिगमा एकै वर्ष बढी गोल गर्ने खेलाडीको सूचीको दोस्रो नम्बरमा स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टायन फरवार्ड लिओनल मेसी छन् । मेसीले सन् २०१६ मा १३ गोल गरेक थिए ।








