उम्मेदवारलाई कुटपिट गरिएको भन्दै एमालेको विरोध

काठमाडौं, भदौ २९ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत् सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका वडा नम्बर–४ का आफ्ना महिला सदस्यका उम्मेदवार कुमारीदेवी सदालाई बुधबार राति कुटपिट गरिएको भनी आपत्ति जनाएको छ ।

कुटपिटमा संलग्न रोशन लेखी, नसिब लेखी र कौशल लेखीलाई राति नै प्रहरीले पक्राउ गरेको भएपनि छाड्नका निम्ति दबाब दिइरहेको जिकिर गर्दै पार्टीले तिनलाई कारबाहीको माग गरेको छ ।

पार्टीका स्थायी कमिटीका सदस्य तथा प्रदेश नम्बर–२ का संयोजक सत्यनारायण मण्डलको गाडी वडा नम्बर–११ मा रोकेर हुलहुज्जत एवं तोडफोड गर्ने कोसिसमेत भएकामा पनि एमालेले निन्दा गरेको छ ।

एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले बिहीबार जारी गरेको विज्ञप्तिमा निर्वाचन शान्तिपूर्ण हुन नदिने उद्देश्यका यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरिएको छ ।

प्रदेश नम्बर–२ मा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

यसैबीच, सप्तकोसी नगरपालिकामा नेकपा माओवादी केन्द्रका तर्फबाट उपप्रमुख पदका आकांक्षी रहेका वडा नम्बर–२ सिद्धिपुर निवासी देवी जोशी उक्त पार्टी परित्याग गरी बिहीबार एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + six =