ओम हस्पिटलमा द्विपक्षिय वार्ता सुरु : कमलाको के कारणले मृत्यु भयो अझै खुलेन

“
काठमाडौँ, भदौँ २९ । हिजो बुधवार ओम हस्पिटलमा नाकको कुरकुरे हाड सोभ्याउन पाँच दिनअघि गुल्मीबाट आएकी मृतक ४० वर्षीय कमला भट्टराईको सब आइसियुबाट अझै बाहिर निकालिएको छैन । हिजो बेलुकी मृतक पक्षले दबाब दिएपछि बल्ल अस्पतालले तीन बुँदे माग जारी गर्दै आज दिउँसो दुई बजे मृतक पक्षसँग वार्ता गर्ने बताएको र तत्कालका लागि अस्पताल बन्द गर्ने सूचना जारी गरेको थियो । अहिले दुई बजेबाट दुवै पक्षबीच वार्ता सुरु भइरहेको छ ।
वार्ता टोलीमा अस्पतालका अध्यक्ष तथा गोपिकृष्ण चलचित्र भवनका मालिक उद्धव पौडेल, राष्ट्रिय वाणिज्य बैङ्कको कालो सूचिमा परेका तथा पूर्व नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष चण्डी राज ढकाल, प्रशासन प्रमुख डा. जागेश्वर गौतम र मृतकको नाकको शल्यक्रिया गर्ने डा. राजेन्द्र गुरागाइँ संलग्न रहेका छन् भने, स्वास्थ्य मन्त्रालयबाट विनोदमान श्रेष्ठको संयोजकत्वमा टोली गठन गरेर अनुसन्धान पनि भएको जानकारी प्राप्त भएको छ ।
हिजो मृतक पक्षले तीन बुँदे माग राख्दा असहमति जनाउँदै आएका उनीहरूलाई मृतकका पक्षले अस्पतालको नाम निसाना नराख्ने भएपछि बल्ल सहमतिमा आएका थिए । यससँगै आज त्यहीँ तीन बुँदे विषय लगायत अन्य विषयमा छलफल गरिँदैछ ।
हिजो भएका तीन बुँदे मागहरू :
–अस्पतालले माफी माग्ने
-ओपिडी सेवा बन्द गर्ने
-क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने
मृतक पक्षले यी तीन बुँदे माग राखेपछि अस्पतालका अध्यक्ष उद्धव पौडेलले आफूले यो नियम मानेपनि अरू सञ्चालक समितिले नमानेको भन्दै बरु बिहीबार दुई बजे एकैचोटी बसेर छलफल गर्न आग्रह गरेका थिए । तर, पीडित पक्षले कुनै पनि हालतमा मान्य नहुँने भन्दै घटनाकाे अनुसन्धान नभएसम्म अस्पताल खुल्न नखुलाउँने अडान कसेका थिए । पाैडेलले अस्पतालको लापर्बाही भएको गल्ती महसुस गरे पनि मृतक पक्षले अन्य सर्वसाधारणका श्रीमान्र, श्रीमती र छोराछोरीहरु मार्न नचाहेको भन्दै अस्पतालमा राति नै ताल्चा लगाउन आदेश दिएका थिए ।
अस्पतालले अहिलेसम्म बिरामीको के कारणले मृत्यु भयो खुलस्त पारेको छैन । आजको द्विपक्षिय छलफलका क्रममा यी सबै कुराहरू गरिने मृतकका श्रीमान् वसन्त भट्टराईले मकालु खबरलाई जानकारी गराए । ‘दुई दिन भयो तर अहिले सम्म के कारणले मृत्यु भयो अस्पतालले भन्न सकेको छैन । अब, दुई बजेदेखि वार्ता सुरु हुन लागेको छ ।’उनले आँसु झार्दै भने । हिजो नाकको सामान्य उपचाररत कमलाको मृत्यु भएसँगै बाहिर हल्लीखल्ली मच्चिएपछि अस्पतालले उल्टै सुरक्षाकर्मी लगाएर पिडितहरूमाथी लाठिचार्ज गरेका थिए।
हिजोको वार्ता:
उद्वव पौडेल
बरु म राजिना दिन्छु । तर, भोलि दुई बजेसम्मका लागि अस्पताल बन्द नगरिदिनुहोस् । तपाईहरु जस्तै अन्य बिरामीहरुको पनि सेवा गरिदिनुपर्छ । हजुरहरुले पनि हाम्रो समस्या बुझिदिनु पर्यो । मलाई कुनै पदको लोभ छैन । हजुरहरुकै सेवाका लागि अस्पताल खोलेका हौँ । हामीले बिरामीको मृत्युमात्रै गरेका छैनौँ सद्दे पनि बनाएका छौँ । बाँच्न नसकेका बिरामीलाई पनि त बचाएका छौँ । त्यसैले भोलि २ बजे सम्मको लागि यो बैंठक स्थगन गरौँ । म यहाँको एउटा लगानीकर्ता पनि हुँ ।
चण्डिराज ढकाल
खासै बोल्न नचाहेका फरार अभियुक्त ढकाल पीडित पक्षहरूको कुरा सुन्दै मुसुमुसु हाँसेका देखिन्थे । उनी पीडित पक्षहरूको त्यति ध्यान दिएर सुनिरहेका थिएनन् । बैठक कक्ष बाहिर र भित्र गर्दै कुरा गरेका देखिन्थे । उनको यस्तो हर्कत देखेपछि पीडित पक्षका एक जना जंगिए । ‘तपाईँको पारा के हो ? हाम्रो कुरा सुनेर हँसी मजाक गर्ने ? ’त्यसपछि ढकालले पनि उनलाई थर्काउन थाले,‘के रुनु त ? म के गरौँ भनेर सोचिरहेको छु नि ।’ दुवै पक्षबीच केहीबेर गलफत्ती चल्यो । ढकाल तिनै व्यक्ति हुन्, जसले राष्ट्रिय वाणिज्य बैङ्कको दुई अर्ब रुपैयाँ कर्जा तिरेका छैनन् । उनी कालो सूचिमा परेर फरार भएका ब्यक्ति हुन् । उनी नेपाल उद्योग वाणिज्य महासङ्घको पूर्व अध्यक्ष पनि हुन् ।
वार्तामा मृतक कमलाको शल्यक्रिया गर्ने डा. राजेन्द्र गुरागाई र प्रशासन प्रमुख डा. जागेश्वर गौतमले भने केही बाेलेनन् ।
“








