आज राष्ट्रिय बालदिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं, भदौ २९ । आज बालदिवस २०७४, विभिन्न कार्यक्रम गरिंदैछ । नेपाल सरकार महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजनामा यो दिवस देशभर मनाईंदै छ । दिवस मनाउनका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

यही समितिको आयोजनामा आज बिहान ११ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यक्रम हुँदैछ भने भने प्रत्येक जिल्ला र स्थानीय तहहरुले पनि आज यो दिवस मनाउने मन्त्रालयले जनाएको छ । यसवर्ष दिवसको नारा “बालमैत्री शासनः बालअधिकारको सम्मान” भन्ने तय गरिएकोछ । बालअधिकारको सम्मान, संरक्षण र परिपालनाका लागि हरेक तहको शासन पद्धति बालमैत्री हुनुपर्ने र बालबालिकाका विषयलाई प्राथमिकता दिनुपर्ने भएकाले यो नारा तय भएको मन्त्रालयले जनाएको छ ।

दिवसको पूर्वसन्ध्यामा हिजो मन्त्रालय र बालकल्याण समितिको आयोजनामा काठमाडौंको सिनामंगलस्थित पार्कमा रहेको बाल स्तम्भमा दीप प्रज्वलन गरिएको थियो । नेपालमा एक दशकसम्म भएको द्धन्द्धको समयमा र अन्य विविध कारणले ज्यान गुमाउन पुगेका बालबालिकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको थियो ।

नेपालमा २०२२ सालदेखि भदौ ४ गते बाल दिवस मनाउँदै आएकोमा जनआन्दोलन–२ को राजनीतिक परिवर्तनपछि राष्ट्रिय बाल दिवस मनाउने मिति परिवर्तन भई हाल बालअधिकार सम्बन्धी महासन्धि, १९८९ लाई वि.सं. २०४७ साल भदौ २९ गते (१४ सेप्टेम्बर, १९९०) अनुमोदन गरेको दिन यो दिवस मनाउन लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *