काठमाडौंमा अन्तराष्ट्रिय व्यापार मेला हुँदै

काठमाडौं, माघ १६ । ‘नेपाली वस्तु प्रवद्र्धन, समृद्ध नेपाल निर्माण’ भन्ने मूलनाराका साथ सातौँ नेपाल अन्तराष्ट्रिय व्यापार मेला भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले पत्रकार सम्मेलन गरी आगामी फागुन २४ देखि २८ गतेसम्म व्यापार मेलाको आयोजना गर्न लागेको जनाएको हो । महासंघका अध्यक्ष भवानी राणाले नेपाल संघीयतामा प्रवेश गरेसँगै आर्थिक समृद्धि तथा देश विकास एक मात्र राष्ट्रिय एजेण्डा भएको बताउँदै महासंघले पनि मुलुकको आर्थिक विकासमा आफ्ना सम्पूर्ण ध्यान केन्द्रित गरेको बताउनुभयो ।
उहाँले नेपाली गाउँघरमा उत्पादित वस्तु उपभोक्तासम्म पु¥याउने तथा घरेलु उद्योगलाई टेवा पु¥याउन मेला आयोजना गरिएको जानकारी दिनुभयो । मेलामा नेपाल, चीन, थाइल्याण्ड, मलेसियासहित सार्क मुलुकको सहभागिता रहने जनाइएको छ ।
तीन सयभन्दा बढी व्यापार कक्ष रहने सो मेलामा स्वदेशी तथा विदेशी गरी दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएको महासंघले जनाएको छ । यसैगरी मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन निर्माण, शिक्षा र औषधिलगायत कक्ष रहने जनाएको छ ।








