नेपालमा हुँदा सोचिने र देखिने अस्ट्रेलिया

अष्ट्रेलिया, नेपालमा यतिखेरका युवा मात्र हैन अभिभावकको आँखामा पनि सपनाको स्वर्ग नै हो। काठमाडौं र देशका प्रमुख शहरहरूमा आईएलटीएसको टेस्ट तयारी गर्ने र टेस्ट दिनेको भिडले जतिलाई रोजगारी र पैसा कमाउने अवसर दिएको छ त्यो भन्दा धेरै बढीलाई प्रज्वलनशील हर्मोन उत्पादन गरेको छ। हर घरमा अष्ट्रेलियाको कुरा हुन्छ अनि नेपालमा अवसर नरहेको र राजनीतिले ध्वस्त भएको कुरा हुन्छ। अनि घरबारै बैंकमा राखेर अष्ट्रेलिया होमिनेको अर्को संख्या बढ्छ। हरेक प्लस टु पासले यतिखेर सिड्नीको सपना देख्ने भएको छ, नहोस् पनि किन अष्ट्रेलियाको लहर देशमा सुस्त हैन विद्युतमालीको बेगले फैलिएको छ। त्यसलाई बढाएको छ ओपेरा हाउसमा उभीएर खिचिएका अनि अष्ट्रेलियामा गाडी हाँकेर घुम्न हिँडेका फोटो र फेसबुकमा तिनले पाएका लाईकले ।
त्यसो त हाम्रा बा अनि बाजेका पालामा गाउँ गाउँ लाहुरे छान्न पुग्ने गल्ला जस्तै छोटेबडे शहरमा एजुकेशन कन्सल्टेन्सी अष्ट्रेलियाका कलेज र युनिभर्सिटीका एजेन्ट बनेर पुगेका छन्। अनि किन नदेखुन अलिक हुनेखानेले अष्ट्रेलिया सपना! सपना सबैको अधिकारको कुरा जो हो तर सबैले सम्झनु पर्ने कुरा के हो भने सपना र विपनामा धेरै फरक हुन्छ । अष्ट्रेलियाका बारेमा नेपालमा हुँदा सोचिने। देखिने कुरा र यहाँ आएपछी भोगिने कुरामा धेरै फरक हुनसक्छ, कतिलाई त यो आकाश जमिनको नै लाग्न पनि सक्छ। यहाँ रहेका आफन्त अनि नेपालीहरूका बारेमा नेपालमा बसेर सोचिएको भन्दा फरक व्यवहार पनि पाउन सकिन्छ। अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका सुरज ओलीले अष्ट्रेलियाको अनुभवलाई यसरी शब्दमा उतारेका छन् ।

मैले देखेको र मेरो दैनिकीमा अष्ट्रेलिया ओपेरा हाउस अनि समुन्द्र तट जतिकै सुन्दर र लोभ लाग्दो पक्कै पनि छैन। यहाँका मानिसको व्यस्तता देख्दा यस्तो लाग्छ कि यिनीहरु समय भन्दा अघि दौडीरहेछन । अति नै शन्तिपूर्ण मुलुकको रुपमा चिनिए पनि यहाँ आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरुको दैनिकी अन्त्यन्तै तनाबपूर्ण नै रहेको छ । यी सब कुराहरुको बाबजुद पनि यहाँ आउने विद्यार्थीहरुको सँख्या दिन दुई गुणा अनि रात चौगुणाले बडीरहेको छ। “नमरी स्वर्ग देखिदैन” भनेझै वास्तविक अष्ट्रेलिया देख्न इन्टरनेटमा हेरेको भिडियो र फोटो पर्याप्त छैन।
अलिकति राम्रै पढने र पारिवारीक अवस्था ठिकै भएका मानिसहरुको भविष्य खोतल्ने सपनाको नगरी भएको छ आजभोली नेपाली समाजमा अष्ट्रेलिया । नेपालमा पनि पढाईको स्तर राम्रै हुनु, अरुको देखासिकी गर्नु, अनि समाजमा अरुको अगाडी ठाँट पल्टाउन आदि इत्यादीले गर्दा यहाँ आउने मान्छे हो हुल क्रमश बढ्दो क्रममा छ जसले हाम्रो भेंडे प्रवृत्तिको राम्रै उदाहरण छर्लंग दिन्छ ।
हुन त हाम्रै गाउँ समाजले नै यो भेडे प्रवृतिको विकास गर्न सहयोग पुर्याएका हुन्। विकासको कुरामा उल्टो गियर लगाउने हाम्रो समाजमा कुरा काट्ने अनि विरोध गर्नेहरुको नि व्यापक उपस्थिति छ। उनिहरु विदेशीने लाउरेहरुको न्वारन र समूह विभाजन गर्न तछाड-मछाड गरेर लागि परेका छन्। यी नै बानीले गर्दा हामी नेपालीहरुको पहिचान गर्न सहज हुन्छ ।
२) डोरी लाउरे : यो वर्गमा चै हाम्रा अत्यन्त मेहेनती अनि राज्यले रोजगारीको व्यवस्था गर्न नसकेर , चुइने छानो अनि पेट भर्न मानो को जोगाड गर्न खाडी को बालुवा मा घन अनि मन बजार्ने बुबा अनि दाजु भाईहरु पर्नुहुन्छ। मरुभूमि अनि गर्मिमा आफ्नो खुन-पसिनाले सिचेर आफ्नो छोराछोरी को भविष्य ज्ञान र बिबेक को बीउ ऊमार्न अहोरात्र मिहेनत गर्नु हुन्छ। यसै क्रममा कहिले सुतेकै ठाउँमा चीर निन्द्रा मा पर्नु हुन्छ अनि रातो बाकसमा डोरीले बेरिएर आउनु हुन्छ। अनि जो जति भाग्यले बाचेर आउनु हुन्छ उहाहरु पनि घरकै भित्ता भत्किने गरिको टेलीभिजन बोकेर पुरै डोरी ले कसेर आउनु हुन्छ र उहाहरु डोरी लाउरेको नामले प्रख्यात हुनुहुन्छ।
३) छोरी लाउरे : यो वर्गमा चै कोरिया, जापान, अमेरिका, अस्ट्रेलिया लगायतका देशमा बस्नु हुने महानुभावहरुको जमातलाई जनाउँछ। जो विदेसमा गधा भन्दा बडी खाटीन्छन् अनि गोरुको भन्दा बढी जोतिनछन्। अनि यसो समय निस्के बियरको बोतलले समातेर सामाजिक संजालको भित्ता भर्छन् अनि फेसबुकमा अनेकौ चेलीहरुलाई माया को सपना देखाउन भ्याईसक्छन किनकि यहाँ “जो दिख्छ त्यो बिक्छ ” अनि उस्तै सोझा-साझा परिवार परे भने ज्वाई पनि चाडै भैहाल्छन त्यसैले यी महासयहरु छोरी लाउरेको समूहमा पर्छन।
यी त भए लाहुरेहरुका वर्ग अब यी लाहुरेहरुको स्थिती भने यस्तो छ:
हाम्रो देश जहाँ गफका भरमा बच्नेहरुको ठुलै जमात छ तर विदेशमा बाँच्न अनि खानको लागि गफ हैन काम गर्न जरुरी छ। यहाँ मानिसहरु मुख चलाउनमा भन्दा बढी हात चलाउनमा विश्वास राखदछन्। हामी गफ गरेर खान पल्केकाहरुको लागि यो कुरा हजम गर्न केहि समय त पक्कै लाग्छ। बिहानै ४ बजे नै झोला बोकेर मुख पनि राम्रो सँग नधुइ कामका लागि हिड्ने नेपाली दाजुभाई अनि दिदिबैनीहरुको बाक्लै उपस्थीति हुन्छ सिड्नी ट्रेनमा कसैका आँखा राम्रोसँग खुलेका हुदैनन त कोही अझै नि निन्द्रा मै हुन्छन।
नेपालीमा ऊखान नै छ, “बोकेको कुकुरले कहिले मृग मार्दैन” हो तेही उखान लागु हुन्छ हाम्रो जीवनमा पनि हामी तिनै हौ जो नेपालमा हुँदा घाम टाउको माथि आइपुग्दा नि ओछ्यान छाड्न गाह्रो मान्थेउँ, हाम्रो सबै आवश्यकता पुरा गर्दिने जिम्मा लिने अभिभावकहरु हुनुहुन्थ्यो, आमाले बिहान बिताएर बनाएको खाना पस्केर खाना हाम्रो जाँगर चल्दैनथो। अनि हामी तिनै मान्छे हौ जो आज घाम नउदाई उदाउछौ अनि पाउरोटी टोकेका भरमा बिहान देखि बेलका सम्म खटिनछौ। अनि घरमा आएर नुडल्स भुलुक्क उमालेर सुरूप परेर पुक्लुक लड्न विवश छौं। ताकी भोली सबेरै फेरि कसैले सिड्नी टलकाउन त कसैले भाडा चमकउन समयमा नै हाजिर लगाउन सकोस । यो त भयो सिड्नीको दैनिकी।
हेर्नुस् : अष्ट्रेलियामा काम र कमाई मेलबर्नका नेपाली विद्यार्थीको अनुभव
एनआरएन भनेर नेपालमा अर्कै ग्रहबाट आएको जस्तो गरी गजक्क पर्ने यहाँका नेपाली समाज समुदाय पनि अनौठो नै छ यहाँ । नेपालमा आफ्नो तिरको मानिस त के जनावर नि प्यारो लाग्छ भन्ने कुरा मनमा गढेर बसेको छ, त्यसैले त भनिन्छ नि “माइती गाउँको कुकुर नि प्यारो”। तर यहाँ भएका नेपालीहरुमा चैं त्यो कुरा खासै लागु हुँदैन। त्यसैपनि अष्ट्रेलिया नेपाल भन्दा टाढा नै छ र सामाजिक परिवेश पनि, त्यसैले यस्ता माया र सद्भाव जस्ता कुरालाई घाममा सुकाइदिए हुन्छ। हुन पनि अष्ट्रेलियाको घाम नेपालको जस्तो न्यानो छैन, हानिकारक नै पो छ।
नेपाली नेपाली बीच एक-अर्का प्रति अलिकति पनि सद्भाव अनि सम्मान छैन। कारण प्रस्ट छ कि यहाँ मान्छे “मान्छे कमौना मान्छे राख्न भन्दा पैसा कमौना” बडी जोड तोडले लागि पर्छन त्यसका लागि उसले कसैको पसिना अनि मिहेनत केहीको वास्ता गर्दैन। उसलाई आफ्नो समस्याको अगाडी अरुको समस्या सानो लाग्छ, आफू सय कमाउने लोभमा अरुलाई असह्य पिडा दिन पनि पछि पर्दैन। आफ्नो विगत बिर्सिएर कीर्ना अनि जुकाको झैं रुप लिएर अरुकोको पसिनामा रयाल चुहाउँछ। यहाँ मानिसको कुराकानीको सुरूवात नै कहाँ काम गर्छौ अनि कति कमाउँछौबाट सुरु हुन्छ। अनि अलि बडी कमाउनेको चाहिने भन्दा बढी नै ईज्जत हुन्छ। यहाँ पैसा बोल्ने ठाउँमा नाता र सहयोगका भावना राख्ने मान्छे भेट्न गुगललाई नि हम्मे-हम्मे पर्छ।
अष्ट्रेलियामा महिलाको हक र अधिकारको लागि कडा कानुन भएको देशको रुपमा नै चिनिन्छ तर यही ठाउँ एक्लै पढन आउने दिदीबहीनीहरुको लागि झन् ठुलो चुनौती नै पो पैदा हुन्छ त। पहिलो चुनौती चर्को कलेज शुल्क अनि दोश्रो चै भरपर्दो काम अनि तेस्रो चुनौती चै नेपालबाट आउँदा लागेको लागत। यी सबै चुनौतीहरुको सामना गर्न थुप्रै हण्डर खाएर राम्रो पोजिसनमा पुग्नु भएका दिदीबहिनीहरु पक्कै पनि सम्मानको लायक हुनुहुन्छ र महिलाको सहन गर्न सक्ने क्षमताको राम्रै उदाहरण प्रस्तुत गर्न सफल हुनुहुन्छ ।
अष्ट्रेलिया आईसके र यहाँको समाजमा सेटल भईसके पनि नेपाली पुरूषहरूको मानसिकतामा भने परिवर्तन देख्न सकिन्न। बिहे भएका हुन या अविवाहित नै किन नहुन नेपालबाट एक्लै या डिपेन्डेन्टमा आएका दिदीबहिनीलाई सम्मान र सहयोगको नजरले हेर्न उनीहरूलाई मुस्किल नै पर्छ। उहाँहरूको मानसिकता र व्यवहार खुलस्त भन्नै पर्दैन तलको प्रतिनिधी कुराकानीले नै स्पष्ट पार्छ।
पढ्नुस्: पढ्न अष्ट्रेलिया आउनु किन ठिक छ (कारणहरू)
केटी : हेलो दाई फेसबुकमा काम को पोस्ट थ्यो नि।
केटा : हो त बैनी, अनि बैनी ले यो काम गरेको छौ त पैला ?
केटी : हजुर दाई १ वर्षको अनुभव छ।
केटा : हामीलाई तेस्तै मान्छे चाहेको हो, अनि बैनी सिंगल हो ?
केटी : हैन दाई मेरो श्रीमान नि हुनुहुन्छ उहाँ स्टुडेन्ट हो।
केटा : ल पछि कल गर्छु है।
अर्कको तिर फेरी तिनै दिदीबैनीको समूह छ जो यी चुनौती हरुको सामना गर्न नसकी सजिलो बाटो खोज्दै गलत बाटोमा लागिसकेको समेत पत्तो पाउनुहुन्न, तर यसको जिम्मेबार उहाँहरु मात्र हैन किनभने यहाँ उनीहरुको गाह्रो अवस्ताको सजिलै फाइदा उठाउन मौका खोज्नेहरु पनि निकै महानुभावहरु हुनुहुन्छ जसको धमिलो मन सफा अनि चिटिक्क परेको लगाईको पछाडी लुकेको हुन्छ अनि येस्तै व्वाँसोको शिकार बन्न पुग्छन्। भने कतिपय चै व्हिस्कीको चुस्की सँग रात्री पार्टीमा व्यस्त र मस्त हुन्छन अनि राम्रै बहाना हुन्छ उनीहरु सँग पिउन को लागि “धेरै टेन्सन छ येसो भुल्न को लागि पिदेको”
तर समस्या रक्सि को नसा जति जति कम हुन्छ तेतीनै बढदै जान्छ।
अनि कतिपय चेलीहरु त काम लगाईदिने बहानाको नि शिकार हुन्छन।
यो माथिको अवस्था हुबहु लागु हुन्छ धेरै जसो ठाउँमा। मेरो उदेश्य कसैलाई दोषी देखाउनु होइन। न त कसैलाई सहि र गलत सिकाउनु नै। मेरो उदेश्य केवल यहाँको हाम्रो नेपाली समुदायलाई भोलिका दिनमा झनै बलियो र भरपर्दो समुदाय को रुपमा चिनाउनु हो। यहाँ मैले उल्लेख गरेको पात्र अनि घटना सबै सत्य हुन। त्यसैले आफ्नो गल्ति कहाँ छ पता लगाएर आफुलाई आजैबाट सुधारौं।
(ओली सिड्नी, अष्ट्रेलियामा बस्छन् । फेसबुकमा उनले राखेको भावना र अनुभवलाई व्याकरण र भाषाको दृष्टीले सामान्य सम्पादन गरिएको छ । )









