आयुक्त सुधीरकुमार शाह द्वारा आचारसंहिता विपरीतका सामग्री हटाउन निर्देशन

मङ्सिर १४ , काठमाडौँ । निर्वाचन आयुक्त सुधीर कुमार शाहले यही मङ्सिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सिलसिलामा आज ललितपुर जिल्लाको आकस्मिक अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले ललितपुरको समग्र सुरक्षा अवस्था, निर्वाचनको तयारी, कर्मचारी खटन पटन, निर्वाचन व्यवस्थापन, अनुगमन, आचारसंहिताको पालना लगायत बारेमा जानकारी लिएका थिए ।
सो अवसरमा आयुक्त शाहलाई ललितपुर जिल्ला प्रशासन कार्यालयमा मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडी, प्रजिअ महादेव पन्त, प्रहरी वरिष्ठ उपरीक्षक गणेश बहादु्र ऐर, प्रमुख सेनानी सुरज गुरुङ, सशस्त्र प्रहरी उपरीक्षक श्यामकाजी कुवर राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक भूमिप्रसाद पाठक, क्षेत्र नं २ का निर्वाचन अधिकृत विनोद भट्टराई, क्षेत्र नं ३ का सुरेश खनाल, केन्द्रीय प्रमुख अनुगमनकर्ता राधिका अर्याल लगायतले जिल्लाको निर्वाचनको समग्र तयारी र शान्तिसुरक्षाको अवस्थामा जानकारी गराएका थिए ।

ललितपुरको शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको, सम्बन्धित मतदान केन्द्रलाई लक्ष्य गरी सुरक्षा चौकी स्थापना भइसकेको, मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम अन्तिम चरणमा पुगेको, मतदान सामग्री रुजु गर्ने, केन्द्रअनुसार छुट्टाएर पोको पार्नेजस्ता कार्य अन्तिम चरणमा पुगेको जानकारी गराए ।
उनले आयुक्त शाहलाई दलहरुबीच स्वस्थ प्रतिस्पर्धा रहेको, केही दिनयता निर्वाचन प्रचार–प्रसारका सामग्री प्रदर्शन गर्ने होड दलहरुबीच बढेकाले आचारसंहिता विपरीतका ती सामग्री हटाउन आग्रह गरेको अवगत गराए ।
त्यस अवसरमा निर्वाचन आयुक्त शाहले कतिपय स्थानमा राखिएका आचारसंहिताविपरीतका निर्वाचनका प्रचारप्रसार सामग्री हटाउनका लागि आवश्यक प्रबन्ध गर्न निर्देशन दिँदै सामग्री हटाएको वा नहटाएको अवस्थाको अनुगमन आयोगबाट पुनः हुने जानकारी दिए ।
उच्च सतर्क र चनाखो भएर निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा गर्ने कार्यमा दृढताका साथ काम गर्न तथा मतदान अधिकृत र सहायक मतदान अधिकृतको काँधमा ठुलो जिम्मेवारी रहेको हुँदा उहाँहरूलाई गहन रूपमा प्रशिक्षित गर्न पनि निर्देशन दिए ।








