परिवारकाे संरक्षण नपाउदा युवाहरू कुलतमा फस्दै

विष्णु जाेशी । कैलालीमा घरपरिवारको निगरानीमा कमी आएपछि लागु औषध प्रयोग गर्नेहरुको सख्यामा बर्सेनि वृद्धि हुँदै गएको एक तथ्याङ्कले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङक अनुसार गत वर्ष भन्दा झन्डै ५० प्रतिशतले लागूऔषध प्रयोग गर्नेको सख्या बढेको हाे ।

आर्थिक वर्ष २०७१/७२ मा लागू औषध सम्बन्धी जिल्ला प्रहरी कार्यालय कैलालीमा २४ वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७२/७३ मा २३ ओटा मुद्दा दर्ता भएका थिए । तर, आर्थिक वर्ष ७३/७४ मा त्यो सङ्ख्या बढेर ३६ मा पुगेको हो । यसले कैलालीमा लागु औषत प्रयोगकर्ताको सङ्ख्या झन्डै दोव्वरले बढेको देखाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढा मगरले जानकारी दिए ।

लागुपदार्थको दुर्वयसनबाट लुटपाट, चोरी, डकैती, वेश्यावृत्ति, आत्महत्या, ठगी लगायत अनैतिक कार्य पनि डरलाग्दो ढङ्गले बढ्दै गएको बुढा मगरको भनाइ छ । लागुऔषधको ओसारपसार रोक्न भन्सारमा कडाई गरिए पनि खुल्ला सीमानाकाका कारण लागूऔषध ओसारपाेसारमा संलग्नहरुलाई नियन्त्रणमा लिन कठिनाइ हुने गरेको प्रहरीले जनाएकाे छ ।

नेपालमा प्रतिबन्धित औषधिहरु सीमा नजिकैको भारतीय बजारमा भने खुलेआम विक्री वितरण हुने भएका कारण नियन्त्रणमा समस्या हुने गरेको उहाँको भनाइ छ । खास गरी विद्यालयमा अध्ययन गर्ने १४–१५ वर्षमाथिका युवाहरू कुलतमा फस्ने गरेको पाइएको छ । यस्तो लतमा लाग्ने युवाहरू कतिपयले सुईद्धारा लागुऔषध प्रयोग गर्ने गरेका छन् भने कतिपयले टिपेक्स सुघेर कुलतमा लागेको पाइएको छ । टोलछिमेकका युवाहरू साथीभाईको लहैलहमा कुलतमा लाग्ने क्रम बढेपछि परिवारमा कलह बढेको छ ।

किशोरावस्थामा घरपरिवारको संरक्षण र निगरानी हुन नसकेका कारण कलिला युवाहरू दुर्वयसनीको सिकार भइरहेका छन् । यसतर्फ समाज, छरछिमेक र परिवारजनले विशेष चासो राख्नुपर्ने प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढामगरले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =