धरान विराटनगर रेल : बहस र विवाद सुरु

सञ्जिव वाग्ले, धरान । धरान र विराटनगरलाई रेलले जोडिएला त भन्ने कुरा औपचारिक रूपमा बहसमा आएको छ । धरानकी उपमेयर मञ्जु भण्डारीले विराटगनरबाट धरान हुँदै धनकुटासम्म रेल चलाउने योजना रहेको बताएकी छिन् । धरान जागर अभियानले आयोजना गरेको जागरण सभामा बोल्दै उनले भनिन्, ‘धरान बिराटनगर रेल चलाउन सकियो भने यो क्षेत्रको आर्थिक कायापलट हुनेछ ।’

धरान जागरण अभियानकी संयोजक मनिता घिमिरेले चाहिँ यो रेलमार्गको व्याख्या अर्कै ढङ्गले गरिन् । उनले भनिन्, ‘विराटनगरबाट धरान हुँदै चतरासम्म रेल चलाउनुपर्छ । यो परियोजनाका लागि सजिलैसँग बजेट जुट्छ । बजेट कसरी जुट्छ भन्ने उपाय अब धरान जागरण अभियानले सुझाउने छ ।’ उनले धरान विराटनगर रेल चलाउन अभियानले जोडदार आवाज उठाउने बताइन् ।

मनिताले धरान सुतेको छ त्यसैले जगाउन आवश्यक छ भन्दै धरान जागरण अभियानले अब धरानको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा यावत क्षेत्रमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताइन् ।

मञ्जु र मनिताले रेलको चर्चा गरे पनि माओवादी नेता अइन्द्रविक्रम वेघाले भने रेलको चर्चा गरेनन् । उनले मञ्जुलाई लाक्षणिक कटाक्ष गर्दै भने, ‘योजना नै नाथे त हामीसँग पनि कति छ कति तर लागू गर्ने ठाउँमा पुगिएको छैन । धरानलाई सपनाको सहर बनाउने योजना हामीसँग थियो तर लागू गर्न सकिएन ।’

जागरण सभामा मञ्जु, मनिता र अइन्द्रको विचार सुनिसकेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक नारायणराज भट्टराईले भने, ‘धरानमा मात्र होइन, नेपालमै भिजनको कुनै अभाव छैन, यस्ता भिजन जति भने पनि छन् तर अभाव अर्कै चिजको छ । अभाव हो मिशनको । भिजनलाई लागू गर्ने मिशन चाहिएको छ ।’

काँग्रेसका धरान नगर सचिव श्याम पोखरेलले भने, ‘धरान तलतल झर्दैछ, धरान उजाड ठाउँ बन्ने क्रममा छ । यो डेढ सिटी बन्ने खतरा छ । यसमा सबै दल र राजनीतिकर्मीहरु गम्भीर बन्न आवश्यक छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *