भारतबाट चामल आयात हुँदा स्थानीय राइस मिलहरु सङ्कटमा

भाद्र १६, भरतपुर । नेपाल कतिसम्म परनिर्भरता रहेछ भने गएको ८ महिनामा १६ अर्बको चामलमात्र भारतबाट आयात भएको छ । गएको दुई वर्षको तथ्याङ्क हेर्दा भारतबाट चामल दोव्बरले आयात भइरहको छ ।

कृषि प्रधान देशमा रासका रासका चामल भित्रेपछि स्थानीय राइस मिलहरु चरम सङ्कटमा परेका छन् । कति राइस मिलहरु बन्द भइसकेका छन् । कति राइस मिल व्यवसायीहरु व्यवसायबाटै हात धुने अवस्थामा पुगेका छन् ।

‘भारतबाट उत्पादित तयारी चामल आयात भई नेपाली बजारमा विक्री वितरणमा ठुलो हिस्सा ओगटेको कारणबाट स्थानीय राइस मिलहरु बन्द हुने अवस्थामा पुगेको छन्’ चितवन नवलपुर राइस मिल समितिको १५ औँ वार्षिक साधारण सभा एवम् नवौँ अधिवेशनमा संस्थाका निवर्तमान अध्यक्ष तथा कार्यक्रमका सभापति माधवप्रसाद पौडेलले भने । उनले भारतबाट चामल आयात हुँदा स्थानीय राइस मिलहरुले कुटानी पिसानीको काम गर्न नपाइएको बताए ।

‘कुनै पनि देशको मेरुदण्ड भनेको खाद्य पदार्थमा आत्मनिर्भर हुनु हो, सरकारले खाद्यान्नमा आत्मनिर्भर हुने योजना ल्याउन जरुरी भएको छ’ निवर्तमान अध्यक्ष पौडेलले भने, ‘आयत नै गर्नुपर्ने अवस्था आए सरकारले चामल आयातलाई निरुत्साहित गरी धान आयातलाई जोड दिनुपर्छ ।’

कार्यक्रममा चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन गौतमले धान फल्ने जमिनमा घर फलिरहेको हुनाले राइस मिलहरु सङ्कटमा पर्दै आइरहेका बताए । ‘कृषियोग्य जमिनमा धान फले पो कुटानी पिसानी गर्न पाइन्छ, घर फलिरहेका छन् । अनि कहाँबाट हुन्छ देश आत्मनिर्भर ? अनि कहाँबाट हुन्छ राइस मिलहरु सञ्चालन ?’ अध्यक्ष गौतमले भने, ‘प्लटिङ गर्ने, जमिन बाँझो राख्ने अनि कृषिप्रधान देश भन्ने ? बाहिरबाट ल्याएर खाने देश कसरी कृषि प्रधान देश भयो ?

अध्यक्ष गौतमले धानलाई भन्सार दर कम र चामललाई भन्सार दर बढाएदेखि राइस मिलहरुलाई राहत मिल्ने बताए । कुनै समय चितवन नवलपुरमा ४२७ वटा राइस मिल थिए । अहिले घटेर २३० वटा मात्र राइस मिल छन् । राज्यको गलत नीतिका कारण राइस मिलहरु घट्दै गएका अध्यक्ष गौतमको भनाइ थियो ।

कार्यक्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम रेग्मीले सरकार धेरै धान उत्पादन गर्नतर्फ नलागी चामल आयात गर्न लागिरहेको बताए । उनले भने, ‘धान फल्ने जमिनलाई खण्डीकरण गर्न दिएर सरकारले राइस मिलहरुलाई सङ्कट पु¥याइरहेको छ ।’

नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रसाद पौडेलले सरकारले तोरी पेल्यो भन्दैमा भ्याटमा जानुपर्ने बाध्यता हटाउनुपर्ने बताए । चितवन नवलपुर राइस मिल समितिका संस्थापक अध्यक्ष बलराम अर्यालले मान्छे फर्कन नसक्ने जमिनमा पनि प्लटिङ भइरहेको बताए । उनले भने, ‘खाद्यान्नको उर्वर भूमिलाई चिराचिरा पारेर राइस मिलहरुलाई राज्यले सङ्कटमा धकेलिरहेको छ ।’

स्वदेशी चामलले नेपाली बजारको कुल हिस्साको ६० प्रतिशत मात्र ओगट्न सक्छ । ४० प्रतिशत भारतीय चामलमा भर पर्नुपर्ने भएकाले चामल भारतबाट आयात गर्न बाध्य भइएको चामल व्यवसायीहरु बताउँछन् ।

कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरका मेयर रेणु दाहालले राज्यको स्पष्ट नीति नहुँदा जग्गाहरु खण्डीकरण भएको बताइन् । उनले भनिन्, ‘आत्मनिर्भर हुन सक्ने सम्भावना हुँदाहुँदै पनि हामी परनिर्भर भइरहेका छौँ ।’ उनले यसको निराकरण गर्न आफ्नो तवरबाट पहल गर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 12 =