स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या बढ्दो

बैतडी, भदौ २४ । घरमै सुत्केरी हुने पुरानो परम्परालाई छाड्दै ग्रामीण भेगका महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले बैतडीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएका सुत्केरी हुनेको संख्या बढ्दै गएको हो । तीन वर्षको तथ्यांकलाई हेर्दा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या बढी नै छ ।

जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स ममता जोशीका अनुसार आव २०७१÷७२ बैतडीमा कूल गर्भवतीको ५७ प्रतिशत महिला स्वास्थ्य संस्थामा सुत्केरी भएकामा आव २०७२÷७३ मा बढेर ६६ प्रतिशत पुगेको छ ।

यस्तै आव २०७३÷७४ मा भने केही घटेर ६४ प्रतिशतमा झरेको छ । आव २०७३÷७४ मा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या घट्नाको मुख्य कारण दोहोरो बसाइ रहेको पब्लिक हेल्थ नर्स जोशीले बताउनुभयो । बैतडीका अधिकांश मानिसको बसाइ तराई अर्थात् कैलाली कञ्चनपुरमा छ ।

आव २०७१÷७२ मा पाँच हजार १०२ जना गर्भवती जाँचका लागि स्वास्थ्य संस्थामा आएकामा तीन हजार ६१८ स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । आव २०७२÷७३ मा गर्भवतीको संख्या पाँच हजार ५० रहेकामा तीन हजार ९६८ स्वास्थ्य संस्थामा सुत्केरी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आव २०७३÷७४ मा पाँच हजार ४८४ गर्भवतीले स्वास्थ्य संस्थामा आएर स्वास्थ्य परीक्षण गराएकामा तीन हजार ९०० मात्रै बैतडीका स्वास्थ्य संस्थामा सुत्केरी भएको तथ्यांक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *