आचारसंहिता उल्लंघन र निषेधको राजनीति नगर्न आयोगको आग्रह

“काठमाडौं, भदौ २३ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता उल्लंघन र निषेधको राजनीति गर्ने विरुद्ध आयोगले शून्य सहनशीलताको नीति अपनाउने बताउनुभएको छ । प्रदेश नम्बर २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते हुने निर्वाचनमा खटिएका सूक्ष्म अनुगमनकर्ताका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहित बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

निर्वाचनमा हुनसक्ने आर्थिक चलखेलको सुक्ष्म अनुगमन गर्न निर्देशन दिँदै प्रमुख निर्वाचन आयुक्त यादवले आम जनतामा निर्वाचनमा आचारसंहिता उल्लंघन हुन्छ भन्ने मनोविज्ञान अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा आयुक्त सुधीरकुमार शाहले प्रचारप्रसारलाई भड्किलो हुनबाट रोक्न र निर्वाचन खर्चलाई आचारसंहिताको सीमाभित्र कायम राख्न सुक्ष्म अनुगमनकर्ताले दिने सूचना प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

आयोगले प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा भदौ २४ गतेदेखि असोज ४ गतेसम्म निर्वाचन अनुगमनका लागि ४० जना सुक्ष्म अनुगमनकर्ता खटाएको हो । तेस्रो चरणको स्थानीय तहको यस निर्वाचनबाट १ महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका गरी कुल छ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *