कञ्चनपुरमा भारतीय नागरिकमाथि गोली प्रहार

भदौ २३, काठमाडौँ । बिहीबार राति कञ्चनपुरको भुजेलामा गोली चलेको छ । गोली चल्दा दुईजना भारतीय नागरिक घाइते भएका छन् । भारतको वनवासास्थित महाकाली नदीमा रहेको शारदा ब्यारेज पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह गोली लागेर घाइते भएका हुन् । चौहानको पाखुरामा र सिंहको पिठ्यूमा गोली लागेको बताइएको छ ।

घाइते दुवै जनालाई राति नै उपचारका लागि भारततर्फ लगिएको छ । चौहानको अवस्था गम्भीर छ । बिहीबार राति करिब ९ बजेको समयमा भीमदत्त नगरपालिका ११ भुजेला पुलनजिकै गोली चलेको थियो । महेन्द्रनगरबाट क्यासिनो खेलेर घरतर्फ गइरहेका ती भारतीय नागरिकलाई नेपाली पक्षबाट गोली प्रहार भएको प्रहरीले बताएको छ । मोटरसाइकलमा सवार उनीहरूलाई मोटरसाइकलमै आएको समूहले गोली प्रहार गरेको हो ।

प्रहरीले गोली चलाउने दुईजना नेपालीलाई भाग्दै गरेको अवस्थामा घटनास्थल नजिकैबाट पक्राउ गरेको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) शरद चन्दले जानकारी दिए । उनले कञ्चनपुर भुजेलाका २१ वर्षीय विक्रम नाथ र १८ वर्षीय करण भण्डारीलाई १ थान कटुवा पेस्तोलसहित पक्राउ गरेको बताए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कंचनपुरमा राखिएको छ ।

गोली चलेको खबर पाउनासाथ पुगेको कञ्चनपुर प्रहरीको टोलीले तत्काल छापा मारेर गोली प्रहार गर्ने दुवैजना पक्राउ गर्न सफल भएको हो । घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान थालिएको प्रहरी प्रमुख डिआईजी चन्दले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *