लुटेराले ‘किस’ खाएर भागे

काठमाडौं, माघ १० । भक्तपुरमा लुटेराहरुले एक घरमा सामान लुटेपछि ‘किस’ खाएर भागेका छन् । फिल्मी शैलीमा हतियारसहित लुट्न आएको समुहले अनौठो व्यवहार देखाएको हो । राम तामाङको घरमा लुट्न पसेको लुटेरा समुहले परिवारका सदस्यलाई नियन्त्रणमा लिइ सबै धनमाल लुटिसकेपछि लुटेराममध्ये एकले तामाङका छोरालाई गालामा ‘किस’ खाएर भागेका थिए ।
पीडित तामाङका अनुसार सबै सम्पती लिइसकेपछि एक लुटेराले आफ्ना छोराको गाला सुमसुम्याएर किस खाएर निस्किएका थिए। ‘आमासहित सबै परिवारलाई नियन्त्रणमा लिए, मलाई आमालाई केही गर्लान भन्ने डर लाग्यो, मेरो आमालाई केही नगर, के चाहिन्छ लैजाऊ भनेपछि नगद, गहना, मोबाइल सबै लगे, मेरो होस् नै उड्यो,’ लामा भन्छन्,‘भाग्ने बेला एउटाले छोराको गालामा म्वाई खाएर गयो।’

काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी तामाङको परिवारलाई पेस्तोल देखाएर नियन्त्रणमा लिई उनीहरुले डकैती गरेका हुन्।
बिहान करिब २ः३० बजे लामा बस्दै आएको घरको पर्खाल नाघेर कम्पाउण्डमा प्रवेश गरी मुख्य ढोकाको भेन्टिलेटरको सिसा फुटाएर हात छिराइ ढोकाको चुकुल खोलेर घरभित्र छिरेका थिए।
लुटेराले १० वटा मोबाइल, एक मोटरसाइकल, करिब १८ तोला सुन, नगद एक लाख ६२ हजार रुपैयाँ नगद लुटेका छन्।
डकैती समूहमा आएकाले एक जनाले पेस्तोल देखाएको, एक जनाले पेस्तोल बोकेको र अन्यले खुकुरी, रडलगायतका घरेलु हतियार लिएका डकैती गरेका हुन्।
२ घन्टापछि मात्र आफुहरुले घटनाको जानकारी पाएको र अनुसन्धान अघि बढाइएको भक्तपुरका डिएसपी कृष्ण प्रसाईले बताए। महानगरीय अपराध महाशाखाले पनि घटनाको अनुसन्धान थालेको छ। घटनामा चिनजानकै व्यक्ति संलग्न रहेको प्रहरी आशंका छ।








