एमाले–माओवादीलाई केसीको कटाक्ष ‘तेल दिंदा नखाने,राति उठि कोल चाट्ने ?’

कात्तिक २९, दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले–माओवादी केन्द्रको बाम गठबन्धनसँग चुनावी तालमेलको प्रस्ताव राखेपनि उनीहरुले पहिला नमानेको र अहिले पछुताउन थालेको बताएका छन् । राष्ट्रिय जनमोर्चा दाङले आज लमहीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै केसीले पहिले आफूले देशभरि नै तालमेल गरौं भनेर प्रस्ताव राख्दा प्रचण्ड र केपी ओलीले बागलुङ र प्यूठानबाहेक अन्यत्र नमानेको तर अहिले चाहिं चुनाव हार्ने जस्तो भएपछि धेरै जिल्लामा उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरेको बताए ।
अध्यक्ष केसीले भने, “एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनसङ्ग मैले नै देशव्यापी चुनावी तालमेलको लागि प्रस्ताव राखेको हुँ । केपी ओली र प्रचण्डले प्यूठान र बाग्लुङमा मात्र गरे काफी हुन्छ, अन्यत्र आवश्यक छैन भन्नु भो । अहिले आएर चुनाव हारिने जस्तो भएपछि धेरै जिल्लामा राजमोको उम्मेदवारी फिर्ता गरिदिन आग्रह गरिरहनु भएको छ । तेल दिँदा नखानेले कोल चाट्न पाइन्छ ?’
केसीले नेपालको लागि संघीयता घातक रहेकोले संघीयता खारेज हुनुपर्ने पार्टीको पुरानै माग राखे । “यदि संघीयता खारेज भएन भने संघीयताले देशलाई नै खारेज गरिदिने छ”, अध्यक्ष केसीले थपे ।
प्यूठान र बागलुङमा मात्र वाम गठबन्धनसङ्ग आफ्नो पार्टीको चुनावी तालमेल भएको स्पष्ट गर्दै अध्यक्ष केसीले भने, “अन्य ठाउँमा हाम्रा आफ्नै पार्टीका उम्मेदवारहरु हुनुहुन्छ । उहाँहरुलाई नै भोट हाल्नु होला ।” नेता केसीले राजमोले मात्र गणतन्त्र र राष्ट्रियताको रक्षा गर्दै समृद्ध नेपालको निर्माण गर्नसक्ने जिकिर गर्दै राजमोका उम्मेदवारहरुलाई अत्यधिक मतले विजयी गराउन अपिल गरे ।
प्रधानमन्त्री शेरबहादुर देउवातर्फ कटाक्ष गर्दै केसीले भने, “साम्यवाद आए रुन नपाइने होइन कि बरु जनतालाई रुवाउन पाइँदैन । त्यसैले अधिनायकवाद पनि बरु कांग्रेस सत्तामा भएको बेला आएको छ । वामपन्थीहरुसङ्ग झस्कनु पर्दैन ।”
राष्ट्रिय जनमोर्चा दाङका ३ वटै निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फका उम्मेदवारहरु, प्रदेश सभाका उम्मेदवारहरु र समानुपातिकतर्फका उमेदवारहरुको उपस्थिति रहेको आमसभामा राजमोका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापाले समेत सम्बोधन गरेका थिए । उक्त सभामा जनवादी गायक जीवन शर्माले गीत गाएर वृद्धवृद्दाहरुलाई समेत नचाएका थिए ।








