काठमाडौँ मेडिकल कलेज अवैध रूपमा सञ्चालन भएको खुलासा

भदाै २१, काठमाडौँ । काठमाडौँ नेशनल मेडिकल कलेज अवैध रूपमा सञ्चालन भइरहेको खुलासा भएको छ । कलेज सञ्चालनका लागि मापदण्ड पूरा नभएको सम्बन्धमा त्रिभुवन विश्वविद्यालयद्धारा गठित ३ सदस्यीय छानबिन समितिले कलेज अवैध रूपमा सञ्चालन भइरहेको पुष्टि गरेको हो । कलेज सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयबाट अनुमति समेत नलिएको पाइएको छानबिन समितिका संयोजक सहप्राध्यापक सनत देवकोटाले जानकारी दिए ।

बुधवार बिहान काठमाडौँको घट्टेकुलोस्थित काठमाडौँ नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल अनुगमन गर्न पुगेका संयोजक देवकोटाले अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयको अनुमति समेत नलिएको पाइएको बताए । उनले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक कुनै पनि प्रक्रिया पूरा समेत नभएकाले अस्पताल बैध रूपमा सञ्चालन नभएको पुष्टि भएको उल्लेख गरे ।

त्रिवि सभा तथा कार्यकारी परिषदले अस्पताल बैध रहेको वा नरहेको छानबिन गर्न देवकोटा नेतृत्वमा विश्वविद्यालयका डा. प्रशान्त भट्ट र परशुराम कोइराला सदस्य सहितको छानबिन समिति गठन गरेको थियो । समितिले गत शनिवारबाटै छानबिन प्रक्रिया थालेको थियो । छानबिनका क्रममा स्वास्थ्य मन्त्रालयको समेत अनुमति नलिएको पाइएको छ । संयोजक देवकोटाले अस्पतालले अध्ययन, अध्यापनका लागि पनि त्रिभुवन विश्वविद्यालयबाट अनुमति लिएको नपाइएको स्पष्ट पारे ।

अस्पतालमा स्वास्थ्य सेवा सञ्चालन गर्न कुनै पनि अस्पतालले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । त्यसै गरी अस्पतालमा अध्ययन, अध्यापनको काम गर्न त्रिभुवन विश्वविद्यालयले तोकिदिएको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । तर, नेशनल मेडिकल कलेजले दुवै प्रक्रिया पूरा नगरेको पाइएको समितिको निष्कर्ष छ ।

समितिले अस्पतालको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदन त्रिभुवन विश्वविद्यालय सभा तथा कार्यकारी परिषदलाई बुझाउने छ । प्रतिवेदनले दिएको सुझावको आधारमा परिषदले नेशनल मेडिकल कलेजलाई कार्वाही गर्ने वा नगर्ने आवश्यक निर्णय लिने कानुनी व्यवस्था छ । यता, स्वास्थ्य मन्त्रालयले पनि काठमाडौँ नेशनल मेडिकल कलेजले अस्पताल स्थापना, सञ्चालन र स्तरोन्नति मापदण्डसम्बन्धि निर्देशिका, २०७३ बमोजिम मन्त्रालयबाट सञ्चालन अनुमति नलिएको जानकारीसहितको पत्राचार त्रिभुवन विश्वविद्यालय सभा तथा कायकारी परिषदलाई गराईसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *