अब कक्षा ११ मा मोटरसाइकल चलाउन बन्देज

किशोर खनाल, भरतपुर । कक्षा ११ मा पढ्ने विद्यार्थीहरुले विद्यालय पोशाकमा मोटरसाइकल चलाए कारबाही हुने भएको छ । यसैगरी छात्राहरुलाई स्कुटी चलाउन वा छोटो स्कर्ट लगाउन पनि बन्देज गरिएको नियमलाई हिसान चितवनले कडा रुपमा लागू गर्ने भएको छ ।
उच्च शिक्षा तथा माध्यमिक विद्यालय नेपाल (हिसान) का केन्द्रीय सहकोषाध्यक्ष दीपक राउतले कक्षा ११ मा पढ्ने विद्यार्थीहरुलाई विद्यालय आउँदा जाँदा मोटरसाइकल चलाउन रोक लगाइएको नियमलाई कार्यान्वयन गराउन कडा रुपमा प्रस्तुत हुने बताए ।
उनले भने, ‘विद्यालय पोशाकमा मोटरसाइकल वा स्कुटी चलाउन पाउँदैनन् । ट्राफिकसँग सहकार्य गरेर विद्यालय पोशाकमा स्कुटी वा मोटसाइकल चलाउने विद्यार्थीहरुलाई नियन्त्रणमा लिने सूचना हिसानले जारी गरेको छ ।’
कक्षा ११ र १२ का विद्यार्थीहरुले मोटरसाइकल चलाउँदा बढी दुर्घटना भएपछि हिसान चितवनले यो नियमलाई कडा रुपमा लागू गर्ने भएको छ । हिसान चितवनले कक्षा ११ का विद्यार्थीहरुलाई ‘फोर एम’ अर्थात् मोटरसाइकल, मुन्द्रा, मोबाइल र मिनिस्कटमा प्रतिबन्ध गरेको जानकारी दिएको छ ।
‘हिसानको आचारसंहितामा विद्यालय आउँदा वा जाँदा मोटरसाइकल चलाउन नपाउने, कानमा या अन्य भागमा मुन्द्रा लगाउन नपाउने, मोबाइल लिन नपाइने र मिनिस्कट लगाउन नपाइने उल्लेख छ, यसलाई हिसानसँग रहेका सम्पूर्ण विद्यालयलाई कार्यान्वयन गर्न भनेका छौँ’ हिसान चितवनका अध्यक्ष भुपेन्द्र धितालले भने, ‘नेपाल सरकारको शिक्षा मन्त्रालयले जारी गरेको निर्देशनअनुसार हिसानले यस नियमलाई कडा रुपमा लागू गर्ने भएको छ ।
नेपालमा कक्षा ११ र १२ अध्ययनरत बिद्यार्थी हरुले मोटरसाइकल चलाउँदा धेरै दुर्घटना भएपछि हिसानले आफ्नो आचारसंहितामा यस्तो नियम बनाएको थियो । ‘कतैकतै यसको कार्यान्वयन फितलो भएजस्तो देखिएको छ, यसलाई हामीले कडा गर्नेछौँ’ अध्यक्ष धितालले भने ।
कक्षा ११ पढ्ने विद्यार्थीले चुज पाइन्ट लगाउन पाउने छैनन् । पाइन्टको मोटाइ १६ इन्चभन्दा कम हुन नहुने, कम्मरभन्दा १ इन्चमाथि पाइन्ट लगाउनु पर्ने, त्यस्तै स्कर्ट लगाउनेले पनि घुँडाभन्दा २ इन्च मुनिसम्म छोप्ने गरी स्कर्ट लगाउनुपर्ने, सर्ट लगाउदा घाँटीभन्दा १ इन्च तलसम्म मात्र सर्टको बटम खोल्न मिल्ने, सर्ट भन्दाबाहेक अरु पोसाकजस्तै कुर्ता सुरुवालहरुको घाँटी १ इन्चभन्दा बढी खोलेको हुनु नहुनेजस्ता नियमहरु पनि हिसानले जारी गरेको छ ।
ट्राफिक प्रहरीसँगको सहकार्यमा विद्यालय पोशाकमा मोटरसाइकल चलाउने विरुद्ध कारवाही तीब्र पारिने हिसानका सहकोषाध्यक्ष दीपक राउतले जानकारी दिए । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यार्थीलाई अनुशासनमा राख्न अनुगमन र कारबाही अगाडी बढाइने हिसान चितवनले जनाएको छ ।
हिसानको आचारसंहितामा नियम उल्लंघन गरी विद्यालय पोशाकमा मोटरसाइकल चलाए विद्यालयबाट निष्काशनसम्म गर्ने व्यवस्था छ । नियमका बारेमा अभिभावकको समेत ध्यानाकर्षण गराइने हिसानले जनाएको छ ।
चितवन ट्राफिक प्रमुख सन्तोष पन्तले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुले मोटरसाइकल चलाए कारबाही गर्ने बताए । उनले भने, ‘हिसानले हामीलाई त्यही सूचना दिएका छन्, व्याचलर पढ्नेले कलेज डे«समा मोटरसाइकल चलाउन पाउँछन् तर ११ र १२ ले कलेज पोशाकमा मोटरसाइकल चलाउन पाउँदैनन् ।








