बाढीबाट चितवनमा ४सय ९९ घर पूर्ण क्षति, कूल २१ करोडको नोक्सान

चितवन, भदौ २० ।  बाढीका कारण चितवन जिल्लामा ४ सय ९९ घर पूर्ण क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिका स्रोत व्यक्ति हरिबाबु ढकालले आजसम्मको प्राप्त विवरणबारे जानकारी दिँदै ४ सय ९९ घर क्षति भएकामध्ये रत्ननगर, राप्ती र माडी नगरपालिका बढी प्रभावित भएका छन् ।

साउन अन्तिम साताको बाढीले जिल्लाको सात स्थानीय निकायमध्ये रत्ननगर नगरपालिकामा १सय ११, राप्ती नगरपालिकामा १ सय ३१ र माडी नगरपालिकामा १सय २३ घर पूर्ण क्षतिको विवरण संकलन भएको ढकाल बताए ।

उनले स्थानीय निकायका प्रमुखलाई व्यक्तिगत भेटेर तथा पटकपटक पत्राचार गर्दासमेत सम्पूर्ण क्षतिको विवरण नपठाइदिँदा समस्या भएको दुखेसो गरे ।

‘भौतिक तथा आर्थिक क्षतिको विवरण माग गरेको कुनै पनि स्थानीय निकायले पठाएकै छैनन्’– ढकालले भने, ‘अलिअलि कृषि, पशु कार्यालयको तथा तटबन्धको क्षतिको तथ्यांक आएको छ, अरु विवरण आउन सकेको छैन ।’ जसका कारण सरकारले दिनुपर्ने प्रतिव्यक्ति रु ७० को राहत वितरणसमेत राम्ररी हुन पाएको छैन । आंशिक मात्रै वितरण भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राप्त तथ्यांकमा जिल्लाको कालिका नगरपालिकामा आठ घर, भरतपुर महानगरपालिकामा ८२ घर, माडी नगरपालिकामा १सय २३ घर, खैरहनी नगरपालिकामा ३६, रत्ननगर नगरपालिकामा १सय ११, राप्तीमा १सय ३१ र इच्छाकामना गाउँपालिकामा आठ घर पूर्ण क्षति भएको विवरण छ ।

यसपटक स्थानीय निकायमार्फत राहत वितरण भएकाले व्यवस्थापनमा सहज भएको चितवनका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समिति चितवनका संयोजक नारायणप्रसाद भट्ट बताउँछन् ।

उनका अनुसार शुरुमा स्थानीय निकाय आफैँले खरिद गरेर समेत राहत वितरण गरेका थिए । थोत्रा कपडा र जंक फुड वितरणमा रोकेको प्रजिअ भट्टले बताए । कति ठाउँबाट फिर्तासमेत पठाएको उनले बताए ।

कृषि पशु र तटबन्धको गरी कूल रु २१ करोड नोक्सान 

चितवनमा साउन २८ गते आएको वर्षा र बाढीका कारण कृषि पशु र नारायणी तटबन्धनमा झण्डै रु २१ करोडको क्षति भएको । कृषिमा रु १५ करोड ६० लाख, पशुमा रु तीन करोड ८७ लाख तथा नारायणी तटबन्धनको रु एक करोड ५० लाख क्षति भएको पाइएको छ ।

अन्य केही सरकारी निकायले क्षतिको क्षेत्रफल मात्रैको विवरण पेश गरेका छन् भने स्थानीय निकायबाट भने क्षतिको विवरण आइनसकेको समितिका स्रोत व्यक्ति तथा जिल्ला प्रशासन कार्यालय चितवनका नायब सुब्बा हरिबाबु ढकाल बताए ।

जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठ जिल्लामा एक हजार ७९५ बिगाहा १४ कट्ठामा बाढीले क्षति पु¥याएको र यसबाट किसानलाई रु १५ करोड ६० लाख बढी क्षति भएको बताउनुहुन्छ । अझै पनि विवरण आउने क्रम रहेको जनाइएको छ ।

पशु सेवा कार्यालय चितवनका अनुसार सबैभन्दा बढी कुखुरामा क्षति भएको छ । प्राप्त विवरणमा लेयर्स कुखुरा १४ हजार ७५२ वटा र ब्रोइलर कुखुरा ४६ हजार ६३२ वटा मरेको र १४ हजार ७२८ किलो दाना नष्ट भएको जनाइएको छ ।

कार्यालय प्रमुख डा डिल्लीराम सेढाईंले जिल्ला विपद् व्यवस्थापनमा पेश गर्नुभएको विवरणअनुसार गाई २१, बाख्रा १०७, बंगुर ७९ वटा मरेको र १५ वटा खोर नष्ट भएको जनाइएको छ । स्थानीय निकायबाट विवरण नआउँदा समस्या हुँदै आएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *