काठमाडाैको फोहोर फाल्न बन्द

“
नुवाकोट, २० भदौ । काठमाडौँ उपत्यकाको फोहोर फालिँदै आएको ओखरपौवाका बासिन्दाले अनिश्चित समयका लागि बन्दको घोषणा गरेका छन् । प्रभावित क्षेत्रमा आवासलाई दिँदै आएको मुआब्जाको दूरी र सीमा घटाएको विरोधमा बासिन्दाले फोहोर फाल्न अवरोध गरेका छन् । स्थानीयवासीको अवरोधले सोमबार साँझ र आज बिहान आएका ८५ गाडीलाई फोहोर विसर्जन गर्न दिएर अनिश्चित समयका लागि बन्द गरेको भन्दै सडक ठप्प बनाएको ककनी गाउँपालिका–२ ओखरपौवाका वडाध्यक्ष केदार पौडेलले बताउनुभयो ।
एक साताअघि भएको सहमतिको कार्यान्वयन नभएको, मुआब्जाको सीमा र रकम शुल्क घटाएको विरोधको माग सम्बोधन नभएसम्म फोहोर फाल्न नपाउने भन्दै फोहोर बोकेका गाडी नल्याउन स्थानीयवासीले सचेत गराएका छन् । काठमाडौँ महानगरपालिकाले तीन वर्षका लागि प्रस्ताव गरेको ओखरपौवाको सिसडोलमा तेह्र वर्षदेखि फोहोर फालिँदै आएको छ । स्थानीयवासीले उठाएका वैज्ञानिक रूपमा फोहोर विसर्जन, लिचडको प्रशोधन, फोहोर फ्याँक्ने आउने मूल सडकको स्तरोन्नति र गाउँको शाखा सडक कालोपत्र हुनुपर्ने माग महानगरपालिकाले एक साताभित्र पूरा गर्न यही भदौ १३ गते जनाएको प्रतिबद्धता पूरा नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको स्थानीयवासीले बताएका छन् ।
फोहोर फ्याँक्न सिसडोलबाट एक हजार ९०० मिटरको दूरीमा पर्ने वैकल्पिक स्थान बञ्चरेडाँडामा पूर्वाधार निर्माण र प्रभावित बासिन्दाका लागि पन्ध्र श्यया क्षमताको अस्पतालको निर्माण सुरु गर्नुपर्ने माग पनि प्रभावित बासिन्दाले उठाएका छन् । काठमाडाैमा दैनिक उत्पादन हुने करिब एक हजार ५०० टन फोहोरको विसर्जन सिसडोलमा गरिँदै आएको छ । रासस
“








