अवैध सुन तस्करी : प्रहरीले मालिक निस्किएपछि मात्र समात्छन्

भाद्र २०, काठमाडाै । केरुङ नाकाबाट १७ वटा सुरक्षा चेक पोस्ट छल्दै काठमाडौँ भित्र्याइएको ८८ केजी अवैध सुन सोमबार प्रहरीले बरामद गर्‍यो । सुन बोकेको गाडी रसुवाबाटै पछ्याएको प्रहरीले ‘मालिक’ निस्किएपछि मात्र समातेको हो । करिब ४३ करोड २ लाख रुपैयाँ रहेको बरामद सुन महानगरीय अपराध महाशाखाको टोलीले राति २ बजे काठमाडौँ क्षेत्रपाटीमा पार्किङ गरेको गाडीबाट बरामद गरेको थियो । त्यस क्रममा चालक मकवानपुरगढी गाउँपालिका ५ घर भएका २४ वर्षीय मनोज अधिकारी पक्राउ परेका थिए ।

चीनको तिब्बत हुँदै केरुङ नाकाबाट काठमाडौँ आइपुग्दा कम्तीमा प्रहरीका ९, सशस्त्र प्रहरीका ४ र नेपाली सेनाका ४ गरी १७ चेकिङ पोस्ट पार गर्नुपर्छ । स्रोतका अनुसार १५ गते केरुङ नाका पार भएको बा १७ च ६४२७ नम्बरको उक्त गाडी १८ गते ११ बजेर ४५ मिनेटमा त्यही नाका हुँदै नेपाल छिरेको थियो । त्यहीबीचमा सङ्गठित तस्कर समूहले चालकको सिट पछाडि बडीको भाग खोलेर खाली ठाउँमा फोम राख्दै बिस्कुट आकारका एक केजी तौलका ८८ वटा सुनका बिस्कुट लुकाएका थिए ।

क्षेत्रपाटीस्थित होटेल ‘काठमाडौँ वन’ छेउमा रोकिराखेको गाडीबाट प्रहरीले सुन समात्यो, जुन होटेल दुई चिनियाँ नागरिकले सञ्चालन गर्दै आएका छन् । प्रहरीले उक्त सुन र होटेल मालिकको सम्बन्धबारे केही खुलाएको छैन । अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले त्यसबारे केही भन्न सकिने आधार नजुटेको बताए । सुनका सम्भावित मालिक भनिएका एक चिनियाँ नागरिकले गाडी हाँकेर केरुङ नाका हुँदै रसुवाको सिमाना कटाएका थिए । सिमाना कटेपछि उनले आफूसँगै रहेका नेपाली चालक मनोज अधिकारीलाई गाडी हाँक्न दिए ।

स्रोतका अनुसार महानगरीय प्रहरी आयुक्त कार्यालयको एक टोली सुन बोकेर आएको यही गाडीलाई निगरानी गर्न खटिएको थियो । नुवाकोट र रसुवाको सिमानामा चालक परिवर्तन भएकाले मोटरसाइकलमा खटिएको टोलीले मेसो पाएन । त्यसपछि भने उक्त गाडीलाई अपराध महाशाखाको टोलीले निगरानी गर्दै पछ्याएको थियो । महाशाखाका प्रमुख एसएसपी लोहनीले भने उक्त टोली परिचालनबारे अनभिज्ञता प्रकट गरे । उनले तीन दिनदेखि विशेष सुराकीले तस्करीबारे सूचना दिएको र क्षेत्रपाटीमा सुन आएको सूचना पाउनेबित्तिकै आफूहरूले गाडी पक्राउ गरेको बताए । प्रहरीले ती चिनियाँसहित गाडीलाई पक्राउ गर्न टोली खटाएको थियो । तर, गाडी रोकिराखेका ठाउँमा पुग्दा चिनियाँ नागरिक उम्किसकेका थिए । ‘रसुवाबाट काठमाडौँसम्म आइपुग्दा नपक्रिनु नै मालिक उम्किन दिनु हो,’ एक प्रहरी अधिकारीले भने, ‘गाडीमा मालिक छैनन् भन्ने ढुक्क भएपछि मात्र कब्जामा लिइयो । सुन तस्करीका घटनामा सधैँ यस्तै गरिन्छ ।’

प्रहरी स्रोतले सम्भावित सुन तस्करका चिनेजानेका भनिएका एक चिनियाँ नागरिकलाई निगरानीमा राखेको जनाएको छ । महाशाखा प्रवक्ता नरेन्द्र उप्रेतीले भने यसबारे पुष्टि गर्न चाहेनन् । उनले घटनाबारे गम्भीर अनुसन्धान भइरहेको बताए । प्रहरीले पक्राउ गरेका गाडी चालक मनोज सुन ओसारपसार गर्ने भरिया मात्रै भएको प्रहरीले जनाएको छ । महाशाखाका प्रमुख लोहनीले सङ्गठित समूहले योजनाबद्ध तवरबाट सुनको अवैध तस्करी गरिरहेको बताए । उनले यति ठुलो परिमाणको सुन काठमाडौँमै बेच्ने उद्देश्यले ल्याइएको थियो कि भारत लैजान खोजिएको थियो भन्ने अनुसन्धानपछि मात्रै भन्न सकिने बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोही मार्ग हुँदै काठमाडौँ भित्रिएको २१ केजीमध्ये १५ केजी सुन समातेको चार दिनपछि यो अर्को घटना भएको हो । भूकम्पपछि चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएसँगै २०७२ मङ्सिर १ पछि सञ्चालनमा आएको केरुङ नाका हुँदै छिरेको १ सय ५८ केजी सुन बरामद भइसकेको छ । पक्राउ परेकालाई महाशाखाले सङ्गठित अपराध ऐनअन्तर्गत मुद्दा चलाउने भएको छ । दुई वा त्यसभन्दा बढी व्यक्ति अपराधमा संलग्न हुने र त्यसलाई निरन्तरता दिने घटनामा सङ्गठित अपराध निवारण ऐन, २०६९ आकर्षित हुन्छ ।

सुन तस्करीबारे अनुसन्धानमा संग्लन प्रहरी अधिकारीहरू नै स्विकार्छन् । जति परिमाणमा सुन बरामद हुन्छ, त्यो तस्करी भइरहेको सुनको सानो हिस्सा मात्रै हो । गत पुसमा करिब ३४ केजी सुन तस्करीको घटनामा पक्राउ परेका अभियुक्त गोपालबहादुर शाही एक वर्षमा एक दर्जनभन्दा धेरै पटक दुबई आउजाउ गरेका थिए । प्रहरीले उनको बारम्बारको यात्रा सुन तस्करीकै निम्ति भएको अनुमानका आधारमा तस्करी कसरी भइरहेको छ भनेर आकलन गरेको थियो ।

प्रहरीका अनुसार पछिल्ला चार वर्षमा बरामद सुनको परिमाणलाई हेर्दा क्रमशः: बढिरहेको देखिन्छ । २०६९/७० मा ८३ किलो दुई सय ५ ग्राम, २०७०/७१ मा झन्डै ९० किलो सुन बरामद भएको देखिन्छ । २०७१/७२ मा १ सय ११ किलो चार सय ४५ ग्राम सुन बरामद भएको थियो । सुन तस्करीका घटना पछिल्ला वर्षहरूमा झनै मौलाउँदै गएको देखिन्छ ।

प्रहरीका अनुसार सोमबार बरामद भएको अवैध सुन अहिलेसम्मकै सबैभन्दा ठुलो परिमाणको हो । यसअघि २०७० असारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको कोटेश्वरबाट ३५ केजी अवैध सुन बरामद गरेको थियो । उक्त सुन सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै काठमाडौँ भित्र्याइएको थियो । त्यसपछि सबैभन्दा दोस्रो ठुलो परिणामको सुन पनि ब्युरोले नै विमानस्थलको भन्सारबाट पास भएपछि गेटबाहिर बरामद गरेको थियो । उक्त सुन ३३ किलो ५ सय ७७ ग्राम ४० मिलिग्राम थियो । ‘तस्करीको आकार देखेर हामी छक्कपरेका छौँ,’ महाशाखाका प्रमुख लोहनीले भने ।

एकपछि अर्को गर्दै ठुलो परिणाममा अवैध सुन भित्रिनु अर्थतन्त्रका निम्ति घातक हो । ‘अवैध मार्गबाट सुन भित्रिँदा दुई तरिकाबाट अर्थतन्त्रलाई नोक्सान पुग्छ । पहिलो नेपालभित्र रहेको विदेशी मुद्रालाई अवैध बाटोबाट सुन किन्ने मुलुकमा पुर्‍याइन्छ जसले विदेशी मुद्राको अभाव देखिन्छ । यस्तो अभ्यासबाट हुन्डी वा अवैध मार्गबाट विदेशी मुद्रा विदेश पठाउने अवैध अभ्याससमेत बढ्छ,’ राष्ट्रबैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने, ‘दोस्रो घाटा भने राजस्वमा पुग्छ । वैधबाटोबाट सुन भित्र्याउँदा राज्यले तोकेको राजस्व तिर्नुपर्ने हुन्छ । तर, अवैध मार्गबाट सुन तस्करी हुन थालेपछि राजस्वको स्रोत पनि सुक्छ ।’

कान्तिपुरकाे सहयाेगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =