राजधानीमा प्रिन्टिङ तथा फोटोग्राफी एक्स्पो हुने

काठमाडौं, माघ १५ । राजधानीमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो हुने भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आयोजनामा भृकुटीमण्डपमा यहि माघ १९, २० र २१ गते एक्स्पोको आयोजना गरिएको पत्रकार सम्मेलन गरी जानकारी दिईयो । एक्सपोको उद्घाटन उपराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।
एनएफपीजेले हेवी हेल्प लिंकको मूख्य प्रायोजनमा नेपालमा पहिलो पटक प्रिन्टिङ र फोटोग्राफ्रीको एक्पो २०७४ को आयोजना गर्न लागेको समुहले जनाएको छ ।
अन्तर्राष्ट्रिय स्तरको प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो नेपालमा पहिलोपटक हुन लागेको हो । प्रिन्टिङ एण्ड फोटोग्राफी सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरुको यस एक्स्पोमा सहभागिता हुने भएको छ । अमेरिका, जापान, कोरिया ,चिन, ताईवान, भारत लगायतका विभिन्न देशका उत्पादक कम्पनीहरुले एक्स्पोमा प्रत्येक्ष रुपमा सहभागिता जनाउनेछन् ।

एक्स्पोमा कुल १ सय वटा स्टलहरु हुनेछन् जस्मा १३ ठूला र ८७ वटा साना स्टलहरु हुनेछन् । प्रदर्शनी स्थलमा कार्यशाला गोष्ठी, अन्तक्र्रिया ,फोटो प्रदर्शनी, फोटो सेशन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरिनेछ । प्रदर्शनी स्थलमा फुड स्टलको समेत ब्यवस्था गरिएको छ ।
प्रिन्टिङ तर्फ अफसेट प्रेस, फ्लेक्स प्रिन्ट, फोटोग्राफी तर्फ क्यामेरा उत्पादक कम्पनीहरु, फोटो पेपर उत्पादक कम्पनीहरु, फोटो प्रिन्टका विभिन्न मेसिन उत्पादक कम्पनीहरु, मोबाईल, ल्यापटप ,कम्प्युटर, वित्तीय तर्फ बैङ्ग तथा बीमा कम्पनीहरु, फोटोग्राफी तथा फोटोपत्रकारिता सम्बन्धि कलेजहरु, ईष्टिच्युटहरु, प्रकाशनगृह लगायतको सहभागिता रहनेछन् ।

यस एक्स्पोको मुख्य उद्देश्य सबै प्रिन्टिङ तथा फोटोग्राफी क्षेत्रलाई समेट्ने प्रयास हुने समुहले जनाएको छ । औधोगिक प्रिन्टर, कमर्शियल प्रिन्टर, प्रिन्टिङ प्रेस र क्यामरा तथा फोटोग्राफीसँंग सम्बन्धित सबै क्षेत्रलाई एक्स्पोमा समेट्ने प्रयास गरिएको छ ।
२०५३ सालमा स्थापना भएको एनएफपीजे देशभरका क्रियाशील फोटोपत्रकारहरुको छाता सङ्गठन हो । यसका ३२ वटा जिल्ला शाखाहरु रहेका प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोका संयोजक हरि रेग्मीले जानकारी दिए ।








