उत्तर विरूद दक्षिणको जवाफी हमला

एजेन्सी । आइतबार उत्तर कोरियाले गरेको शक्तिशाली क्षेप्यास्त्र परीक्षणमा प्रतिक्रिया जनाउँदै दक्षिण कोरियाले सोमबार जवाफी परीक्षण गरेको छ । सोमबार बिहान उत्तरले गरेको परीक्षणको भिडियो दक्षिण कोरियाली अधिकारीहरुले सार्वजनिक गरेका छन् । भिडियोमा देखिए अनुसार दक्षिणले छोटो दूरीको ‘हाइम्बु’ ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हो । एफ १५ लडाकू विमानले आकाशमा हानेको क्षेप्यास्त्र जमिनमै फर्किएको छ ।

दक्षिण कोरियाली सेना प्रमुखका अनुसार क्षेप्यास्त्र तोकिएको गन्तव्यमा पुगेर सकुशल फिर्ता भएको छ । आइतबार उत्तर कोरियाले आणविक क्षेप्यास्त्र परीक्षण गरेको थियो जुन हाइड्रोजन बम भएको उसले दावी गरेको छ । यो परीक्षण हुँदा छिमेकी देशले कम्पन महशुस गरेका बताएका थिए ।

अमेरिका, जापान, दक्षिण कोरियासहित अन्य देशले यो गतिविधिको भर्त्सना गरेका थिए । अमेरिकाले यो कार्य तत्काल रोक्ने चेतावनी दिएको थियो भने जापानले उत्तरविरुद्ध उजुरी नै गरेको छ । दक्षिण कोरियाले भने यसको प्रतिक्रिया क्षेप्यास्त्र परीक्षण गरेरै दिएको हो ।

यस परीक्षणपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आफ्नो देशले ‘कडाभन्दा कडा सजाय दिनसक्ने’ बताएका छन् । उनको भनाइ उत्तर कोरियाप्रति लक्षित छ । केही समय अघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘उत्तरले गर्दै आएका आणविक परीक्षणको जवाफ दक्षिणले किन फर्काउन नसकेको होला’ भनेर भनेका थिए ।

उत्तर कोरियाको आइतबारको परीक्षण लगत्तै ट्रम्पले ट्वीट गरेका थिए । उनले ट्वीटमा भनेका थिएः ‘दक्षिणले उत्तरसँग शान्तिपूर्ण वार्ता गर्न सम्भव छैन । तिमीहरु (दक्षिण कोरिया) ले गर्ने भनेको कारबाही आक्रमणको बदला आक्रमण नै हो ।’

यसपछि सोमबार बिहानै दक्षिण कोरियाको तर्फबाट यो जवाफी क्षेत्रप्यास्त्र परीक्षण भएको हो । यसअघि उत्तरका यस्ता परीक्षण सधैं विरोध गर्दै आएको दक्षिण आफैंले जवाफी परीक्षण गर्नु अनौठो मानिएको छ । संयुक्त राष्ट्र संघसहित अन्तर्राष्ट्रिय समुदायको बारम्बर आग्रह र चेतावनी बेवास्ता गर्दै उत्तर कोरियाले आठ वर्षदेखि आणविक परीक्षण गर्दै आएको छ ।

उसले गत साता मात्रै हकाइदो टापूको आकाशमार्ग हुँदै प्रशान्त महासागरमा क्षेप्यास्त्र प्रहार गरेको थियो । उसले त्यो प्रहारलाई अमेरिकी भूभाग गुआममा आफ्नो सैन्य कारवाहीको ‘पहिलो कदम’ भनेको थियो । कोरियाको हर्कत एकदमै गलत भएको भन्दै जापानी प्रधानमन्त्री सिन्जो आबेले आकस्मिक बैठक बोलाउन संयुक्त राष्ट्र संघलाई आव्हान गरेका थिए ।

अमेरिकाको पहलमा संयुक्त राष्ट्र संघले उत्तर कोरियामा नयाँ नाकाबन्दी लगाएपछि दुई देशबीच तनाव चर्किएको हो ।
अमेरिकासँगको तनावका कारण उसको क्षेत्र गुआम हमला गर्ने चेतावनी बारम्बार दिदैं आएको छ । अमेरिकाबाट ११ हजार किलोमिटर टाढा गुआम फिलिपिन्स र अमेरिकी राज्य हवाइको बीचमा पर्छ । उत्तर कोरियाबाट भने यो टापू ३ हजार ४ सय ३० किलोमिटरको दूरीमा छ । अमेरिकी सेनाको हवाई अड्डा रहेको गुआमको सामरीक महत्व छ । यी अड्डाको पहुँच साउथ चाईना सी, कोरिया र ताइवानसम्म छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *