राजपा छाडेर ५०० नेता कार्यकर्ता लागे माअोवादी तिर

भदौ १९, सिमरा । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई लम्पसारवादी भन्नेहरुले अहिले राजनेता भन्न थालेको बताएका छन् । आफू प्रधानमन्त्री बन्ने बेला लम्पसारवादी भन्ने एमालेका नेताहरुले नै दश महिनामा प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आइपुगेको भन्दै प्रचण्डले अहिले उनीहरूले आफूलाई चिनेको बताएका छन् ।

सोमबार बिहान सिमरामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले दश महिनामा जुन काम गरें, त्यसबाट एमालेका साथीहरु पनि मलाई प्रधानमन्त्री नछोड भन्ने ठाउँमा आइपुग्नुभयो । मलाई लम्पसारवादी भन्ने साथीहरु नै ठूलठूला षड्यन्त्र चिरेर स्थानीय तह र स्थानीय चुनाव गरेपछि राजनेता तपाईं नै हो भन्न थाल्नुभयो । यो सामान्य मेहेनतले भएको होइन ।’

आफू प्रधानमन्त्री बन्ने बेला देशको विदेश नीति लरखराएको र राष्ट्रिय एकता जोखिममा रहेको भन्दै उनले आफूले मधेश र पहाडलाई एक आपसमा जोड्ने काम गरेको बताए । उनले माओवादीकै नेतृत्वमा निजगढ बिमानस्थल, फास्ट ट्रयाक, हुलाकी मार्ग बन्न लागेको भन्दै ७.५ प्रतिशत आर्थिक वृद्धि, मूल्य नियन्त्रण, विकास आयोजनाहरुमा तीब्रता, लोडसेडिङको अन्त्य जस्ता काम आफूले गरेको दावी समेत गरे ।

राजपा केन्द्रीय सदस्यसहित ५०० जना माअोवादीमा प्रवेश

राष्ट्रिय जनता पार्टी (राजपा) परित्याग गरी केन्द्रीय सदस्य योगानन्द चौहानसहित ५०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्दै राजपाका केन्द्रीय सदस्य चौहानले मधेशवादी दलले मधेशी जनताको भावनालाई किनबेच गरेको बताए ।

‘हामी मधेश र मधेशी जनताको अधिकारका लागि लाग्यौं । तर, नेताहरुले हाम्रो भावनाको व्यापार गरे, मधेशको मुक्तिका नाममा आफ्नो स्वार्थ पुरा गरे ।’ उनले भने, ‘हिमाल, पहाड, मधेश र जाति, जनजातिको अधिकार चाहने एक मात्र पार्टी भएकाले म माओवादीमा प्रवेश गरें ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *