महिला विश्वकप टी २० क्रिकेट छनोटमा नेपालको पहिलो जित

मङ्सिर ८, काठमाडौँ । महिला टि–ट्वान्टी विश्वकपको एसियाली छनोटमा नेपालले पहिलाे जित हात पारेको छ । नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै जित हात पारेको हो ।
नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा मलेसिया निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रनमा समेटिए पछि जित सम्भव भएकाे हाे । मलेसियाकी इम्याइलिया इलियानीले सर्वाधिक २४ रन जोडिन् । त्यसबाहेक जियानी सायमिमीले १६ तथा दुरिसिंन्गमले ११ रन बनाइन् । नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन् भने सोनु खड्का, सरिता रानामगर, नेरी थापा र रितु कनौजियाले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालका लागि सीता राना मगर र ज्योति पाण्डेको अर्धशतकिय साझेदारीको मदतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८ बनाएको थियो । १२ ओभर २ बलमा मस एलिसाले सरितालाई ३७ रनमा रनआउट पार्नुअघि यो जोडीले ६६ रनको साझेदारी गरेको थियो । त्यसबाहेक नेपालका लागि ज्योति पाण्डेले २१, काजोल श्रेष्ठले १४ रन जोडिन् ।
मलेसियाकी नुर एरिना नट्सया र जन्नादिहा हालिमले समान दुई दुई विकेट लिइन । राउण्ड रोबिन आधारमा खेलाइएको प्रतियोगितामा नेपालको यो चौथो खेलमा पहिलो जित हो । यसअघि सुरुवाती दुई खेल वर्षाले प्रभावित भएपछि नेपाल आयोजक थाइल्याण्ड र हङकङसँग अङ्क बाड्न बाध्य भएको थियो । त्यसबाहेक बिहीबार भएको युइईसँगको खेल नेपालले ५ रनको झिनो अन्तरले गुमाएको थियो ।








