भक्तपुरमा इन्द्रजात्रा सुरु

भक्तपुर, १८ भदौ । चोक चोकमा बिहानै यम्बोःद्यो ठड््याएसँगै आजदेखि धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा सुरु भएको छ ।

काठमाडौँको हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्राको शुभारम्भ गरिए पनि भक्तपुरमा चोक चोक र दोबाटोमा छोटो छोटो लिङ्गो ठड्याउने प्रचलन छ । ती लिङ्गोलाई स्थानीय भाषामा यम्बोःद्यो यम्बोःद्योलाई स्वर्गका राजा इन्द्रका छोरा जयन्तको प्रतीकका रूपमा लिइन्छ ।

धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बसी पूजा गर्न पारिजात फुलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फुल खोज्न पठाए । खोज्दै जाँदा दैत्यको बगैँचामा परिजात फुल टिप्दै गरेको बेला राक्षसहरुले जयन्तलाई पक्राउ गरी दुई हात पछाडि बाँधेर राखे ।

जयन्तलाई छुटाउन देवता र दैत्यबीच युद्ध भई देवताको जित भएको खुसीयालीमा इन्द्रजात्रा मनाइँदै आएको संस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो । धार्मिक पूजा आजासहित आज इताछें, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, इताछेंलगायत स्थानमा यम्बोःद्यो ठड्याइएको छ । जात्रा आठ दिनसम्म मनाइन्छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *