रोकिएन उम्मेदवार लक्षित बम विस्फोट, अहिलेसम्म २७१ जना पक्राउ

मंसिर ४, काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिंदै जाँदा निर्वाचन विरोधी गतिविधि पनि निकै बढेर गएका छन् । उम्मेदवारलाई लक्षित गरि बम विष्फोट गराउने कार्यले तिब्रता पाएको छ । गत कार्तिक २४ गतेदेखि सुरु भएको हिंसात्मक क्रियाकलाप सोमबार सम्म पनि जारी छ । प्रहरीले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नै यस्ता क्रियाकलाप गर्दै आएको जनाएको छ ।
चुनाव विरोधी गतिविधि गर्ने २ सय ७१ जना विप्लव माओवादीका नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन् । त्यसैगरी विभिन्न हातहतियार तथा विष्फोटक पदार्थसहित अन्य १० जना गरी २ सय ७१ जना पक्राउ परेको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए ।
लुकिछिपी उमेदवारलक्षित बम विस्फोट गराउने विप्लव नेतृत्वकै माओवादी भएको सुरक्षा निकायको निष्कर्ष छ । प्रहरी प्रवक्ता न्यौपाने भन्छन् “गतिविधि हेर्दा विप्लव नेतृत्वको माओवादीकै नेता कार्यकर्ताको हात रहेको देखिन्छ ।”
गत साता नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य उमेदवार रामशरण महतको हत्या प्रयासस्वरुप उनी चढेको गाडीलाई लक्षित गर्दै माइन बिस्फोट गराइयो । महत चढेको गाडी छलिएका कारण उनका कार्यकर्ता चढेको गाडी माइनमा पर्यो । गाडी उत्तानो गरी पल्टियो, ५ जना कार्यकर्ता घाइते भए ।
सोहीदिन सभामुख ओनसरी घर्तीलाई लक्षित गर्दै रोल्पामा अर्को बम विस्फोट गराइयो । कांग्रेसका नेता रामचन्द्र पौडेलको गाडीमा बम विस्फोट गराइयो । रौतहटमा गराइएको बम विस्फोटमा ७ वर्षका बालक घाइते भए । भोजपुरमा नेकपा एमालेका नेता शेरधन राई चढेको गाडीमा बम विस्फोट गराइयो । हिमाल, पहाड, तराई, पूर्वदेखि पश्चिमसम्म अहिले उमेदवारलाई लक्षित गर्दै लगातार बम विस्फोट भएको छ ।
लगातार बम विस्फोट हुँदासमेत कसले विस्फोट गराएको भन्ने बारेमा अहिलेसम्म आधिकारिक धारणा सरकारले सार्वजनिक गर्न सकेको छैन । चुनावको मुखैमा उमेदवार लक्षित लगातार विस्फोट गराउने समूह भन्दै प्रहरीले अहिलेसम्म २७१ जनालाई नियन्त्रणमा लिएको छ । तीमध्ये धेरैजसो विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता रहेका छन् ।
लगातार उमेदवारलाई नै लक्षित गरेपछि गृह मन्त्रालयले पनि सुरक्षा निकायलाई यसरी विस्फोट गराउने, जनताको जिउधनको क्षति पुर्याउने क्रियाकलाप गर्दै गरेको भेटिएमा गोली चलाउनसमेत आदेश दिएको छ ।
प्रहरीले अहिलेसम्म यसरी विस्फोट गराउने समूह विप्लव नेतृत्वको नेकपा माओवादी नै भएको आशंका गरेको छ ।
त्यसैले विप्लव नेतृत्वका नेता तथा कार्यकर्तालाई निगरानीमा राखेको प्रहरीले जनाएको छ ।









