भारत विरुद्ध लड्न तयार हुनुपर्छ भन्दै विप्लवको यस्तो चेतावनी

भाद्र १७, सुनसरी । नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनको सरकार भारतसँग कुटनीतिक सम्बन्ध सुधार गरेर संविधान प्रति समर्थन जुटाउने प्रयास गरीरहेको बेला नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सप्तकोशीमा उच्च बाँध बनाउने समझदारीको विरोध गरेको छ ।

नेकपाले प्रधानमन्त्री शेरबहादुर देउवाको हालै भएको भारत भ्रमणका क्रममा सप्तकोशीमा उच्च बाँध बनाउने सम्झौता गरेको भनेर वाणिज्यमन्त्रीले नै सार्वजनिक रुपमै भनेपछि सम्झौता खारेज गर्न समेत माग गरेको छ ।

सुनसरीको ईटहरीमा पत्रकार सम्मेलन गर्दै नेकपाले नेपाली भू–भाग डुबाएर पानी र विजुली लैजाने भारतीय योजनाकासाथ राष्ट्रहित विपरीत यो सम्झौता भएको भन्दै तत्काल खारेज गर्न माग गरेको हो । नेकपाले यो सम्झौताप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्झौता तत्काल खारेज गर्न सरकारलाई चेतावनी दिएको छ भने, आउँदो भदौ २२ गते सुनसरीको धरानमा बृहत जनप्रदर्शन गर्ने घोषणा समेत गरेको छ ।

राष्ट्रघाती सम्झौता खारेज गर्न जनस्तरबाट विरोध र प्रतिरोध गर्नुपर्ने भन्दै नेकपाले त्यसका लागि जनता एकजुट हुनुपर्ने बताएको छ । प्रचण्ड गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भं्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग गरेको ४८ बुँदे सहमतिको २८ नम्बर बुँदामा उल्लेख कोशीमा उच्च ड्याम बनाउने सम्झौता कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने भन्दै त्यसलाई खारेज गरिनु पर्ने विज्ञप्तिमा बताइएको छ ।

‘सम्झौता अनुसार कोशीमा बाँध बाँधिए नेपालका पूर्वी पहाडी जिल्लाहरु डुबानमा पर्नुका साथै लाखौँ मानिस विस्थापित हुने र बाँधको तल्लो क्षेत्रमा रहेका पूर्वी मधेशका सम्पूर्ण भूभागमा क्षति पुग्ने उच्च जोखिम छ । साथै चुरे पहाडको भू–वनोट कमजोर भएकाले भौगर्भिक तथा वैज्ञान्कि दृष्टिले समेत उचित छैन । त्यसैले यो खारेज हुनु पर्दछ, –विज्ञप्तिमा भनिएको छ ।

पत्रकार सम्मेलनमा कोशी व्यूरो इन्चार्ज नविन कार्कीले भारतले नेपालको पानी र विद्युत कब्जा गर्ने उद्देश्यले कोशीमा बाँध बाँध्ने प्रपञ्च स्वरुप सम्झौता गरेको जिकिर गरे । ‘भारत नेपालबाट पानी र विजुली चाहन्छ, यसका लागि उ जेपनि गर्न तयार भएसँगै हामीपनि आफ्नो देश र जनताका लागि भारत विरुद्ध लड्न तयार हुनुपर्छ ।’ उनले भने ।

नेकपाले नेपालीलाई अझ बढी दुःख दिन खोजेको भन्दै यो सम्झौता कार्यान्वयन गर्न खोजिए भारतसँग भिड्न तयार रहेको बताएको छ । नेकपाको केन्द्रीय जलस्रोत विभाग सदस्य रामप्रसात राई (किराती)ले कोशीमा बाँध बनाए विपद् निम्तिने भएकाले कुनै हालतमा बाँध बनाउन नहुने बताए । उनले भने, ‘जबरजस्ती गर्न खोजे भारतसँग जस्तोसुकै युद्ध लड्न तयार हुनुपर्दछ ।’ नेपालमा बाढी पहिरोबाट सप्तकोशी क्षेत्रका जनता पिडामा परिरहँदा भारतले सप्तकोशीबाँधका ढोका नखोलेकोमा समेत चर्को विरोध भएको थियो । सो बखत धेरै सोसललाईटमा विप्लव माओवादी पार्टीलाई सप्तकोशी बाँधमा बम हान्न समेत आह्वान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *