तीन नम्बर प्रदेशमा प्रदेशसभाको बैठक शुरु

हेटौँडा, माघ १८ ।  प्रदेश नं ३ को पहिलो ऐतिहासिक प्रदेशसभा संसदको बैठक हैटौँडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा शुरु भएको छ ।

दिउँसो १ बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको थियो भने तोकिएका र प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको छ । प्रदेशसभाको पहिलो बैठक भएकाले तयारी र अभ्यासमा केही अलमल देखिए पनि सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए ।

संघीयता लागूपछिकै पहिलो प्रदेशसभा बैठक बस्न लागेकाले बैठकस्थलमा उच्च कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मीको उपस्थिति क्रमशः बढ्न थालेको छ ।

ज्येष्ठ सदस्य डोरमणि पौडेलको अध्यक्षतामा बसेको आजको बैठकले प्रदेशसभाको सभामुखका निर्वाचनका लागि मिति तय गर्नेछ । यस प्रदेशसभाका कूल ११० सदस्य छन् ।

सभामुख निर्वाचन माघ २७ गते

प्रदेश ३ को सभामुख निर्वाचन माघ २७ गते हुने भएको छ । प्रदेशसभा बैठकअघि बसेको सर्वदलीय बैठकले २७ गतेको बैठकबाट सभामुख चयन गर्ने सहमति भएको हो । सभामुख निर्वाचनको भोलिपल्ट उपसभामुख चयन हुने जेष्ठ सदस्यको हैसियतले सभामुखको भूमिका निर्वाह गरिरहेका डोरमणि पौडेलले बताए । प्रदेशसभामा एमालेको एकल बहुमत छ ।

वाम गठबन्धनमा भएको सहमति अनुसार ३ नम्बर प्रदेशको मुख्यमन्त्री र सभामुख दुवै पद एमालेले पाएको छ । उपसभामुख माओवादीले पाउनेछ । प्रदेशसभाको सभामुखमा डोरमणि पौडेलनै कायम हुने एमाले स्रोतले जनाएको छ ।

पौडेलले भने आफ्नो दावी मुख्यमन्त्रीमा रहेको बताए । उनले भने ‘म सभामुख हुने कुरामा त कुनै विवाद छैन, तर अहिलेसम्म मेरो दावी मुख्यमन्त्रीमै छ । पार्टीले निर्णय के गर्छ त्यस आधारमा हुन्छ । मलाई सभामुख बन्नु भन्ने कुरा त पार्टीबाट आइसकेको छ ।’

२०४९ र २०५४ मा दुईपटक हेटौंडा नगरपालिकाको मेयर निर्वाचित भएर देशकै नमूना नगर बनाएका पौडेल १५ वर्षदेखि नेपाल नगरपालिका संघको अध्यक्ष थिए । ७२ वर्षीय पौडेल स्थानीय तह पुनर्संरचना आयोगको सदस्य पनि थिए ।

पौडेल सभामुख भएमा उपसभामुखमा माओवादीले महिलालाई पठाउनुपर्नेछ । सभामुख निर्वाचनको मिति आजकै बैठकमा पेश हु्ँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =