महिनावारीको समयमा देखिने समस्या र त्यसका उपायहरु यस्ता छन्

काठमाडौं, भदौ १६ । महिनावारी सामान्य र प्राकृतिक प्रक्रिया हो। महिनावारीको समयमा सामान्यतया एक महिनामा ३ देखि ४–५ दिनसम्म गर्भशायबाट रगत र केही कोषहरु बाहिर निस्किन्छन्। यो महिलामा हुने प्राकृतिक प्रक्रियालाई समाजले भने छोइछिटोका रुपमा लिने गरेको छ।

अझै पनि छाउपडी प्रथामा यही सामान्य प्राकृतिक प्रक्रियालाई अभिशाप मानेर कतिपय दिदी–बहिनीले ज्यान गुमाएका घटना छन्। समाजमा व्याप्त रुढिवादी सोच र कुसंस्कारले गर्दा विशेषगरी ग्रामीण क्षेत्रमा महिनावारीका बेला अझै पनि आमा–छोरी–बुहारीमाथि गरिने छुवाछुतको व्यवहार परिवर्तन हुन सकेको छैन।

युनिसेफको एक अध्ययन अनुसार साउथ एसियामा प्रत्येक ३ जना किशोरीमा १ जनालाई महिनावारी हुनुभन्दा अगाडि यसबारे केही जानकारी नै हुँदैन। त्यसैले महिनावारी सम्बन्धी जनचेतना अभिवृद्धिका लागि सन् २०१४ देखि २८ मेलाई ‘मेन्स्ट्रुअल हाइजिन डे’ भनेर संसारभरि मनाउने गरिन्छ।

सामान्यतया महिनावारीको समयमा निम्न किसिमका स्वास्थ्य समस्या देखा पर्छन्ः

तल्लो पेट दुख्ने,

ढाड दुख्ने,

बान्ता हुने,

पेट फुल्ने,

हाडजोर्नी दुख्ने,

टाउको दुख्ने,

महिनावारी सुरु हुनुभन्दा १ साता अघिबाटै कसैकसैलाई हर्मोनको गगबडीले निकै दुःख दिन्छ। छिटो रिस उठ्ने, आत्तिने जस्ता समस्या आउन सक्छन्। यसलाई ‘प्रि मेन्स्ट्रुअल सिम्प्टम’ भनिन्छ।

महिनावारी भएको समयमा निम्नलिखित रोगमा थप जटिलता आउन सक्छः

मानसिक स्वास्थ्य,

माइग्रेन,

छारे रोग,

दम,

एलर्जी, आदि।

महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराः

– सफा कपडा वा स्यानेटरी प्याड मात्र प्रयोग गर्ने र त्यसलाई समय–समयमा फर्ने,

– महिनावारीलाई मानसिक रुपमा सामान्य प्राकृतिक प्रक्रिया हो भनेर किशोरीहरुलाई परामर्श दिने,

– आराम गर्ने,

– प्रसस्त मात्रामा पौष्टिक आहार खाने, विशेषगरी आइरन धेरै भएका खानेकुरा (माछा, मासु, हरिया सागसब्जी आदि) खाने,

– सरसफाइमा विशेष ध्यान दिने, सफा ठाउँमा बस्ने र नियमित नुहाउने,

– पेट दुख्ने समस्या छ भने तातो पानीले सेक्न पनि सकिन्छ र साथै खप्न नसकेमा नदुख्ने औषधि पनि सेवन गर्न सकिन्छ,

– धेरै रक्तस्राव भएमा वा धेरै पेट दुखेमा स्वास्थ्य संस्था गई जँचाउने। स्त्री रोग विशेषज्ञसँग परामर्श लिने,

– हिँडडुल र साधारण व्यायाम गर्ने, आदि।

महिनावारी भएका बेला आरामसँगै सफा वातावरण आवश्यक पेर्ने भए पनि समाजमा अझ यो प्राकृतिक नियमलाई सहज रुपमा लिइँदैन। पहिलो पटक महिनावारी हुँदा कम्तिमा पनि दुई हप्तासम्म घरमै राखिन्छ। जसले गर्दा पढाइलेखाइमा समेत असर पर्न जान्छ। अझ छाउपडी प्रथामा त साँघुरो, अँध्यारो गोठमा बस्नुपर्ने वाध्यता हुन्छ। महिनावारी हुँदा शारीरिक रुपले कमजोर भएको समयमा झन् परिवारको साथ–सहयोग पाउनुपर्नेमा महिलालाई हेला गर्ने चलनले धेरै महिला रोगको शिकार बन्ने गरेका छन्।

महिनावारीबारे विद्यालय स्तरमा पर्याप्त मात्रामा जानकारीमूलक सामग्री राखेर किशोरीहरुलाई सचेत पार्न सकिन्छ। सञ्चार माध्यमबाट जनचेतनामूलक सामग्रीको प्रकाशन तथा प्रसारण गरी महिनावारीलाई सामान्य रुपमा लिन मद्दत गर्न सकिन्छ।

महिनावारी कुनै अभिशाप नभई महिलामा हुने प्राकृतिक प्रक्रिया हो भन्ने कुराको यथेष्ठ जानकारी फैलाउन घर तथा विद्यालय केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ।

महिनावारी हुँदा उत्पन्न हुने हर्मोनले शारीरिक र मानसिक विकासमा सहयोग गर्छ। नियमित महिनावारीमा शरीरबाट बाहिर निस्कने अनावश्यक तत्वले मुटु रोगको जोखिम कम गर्छ।

महिनावारी हुनु भनेको प्रजनन् स्वास्थ्य राम्रो छ भन्ने कुरा बुझ्न जरुरी छ। यसैगरी, हरेक महिना महिनावारी हुनु भनेको शरीरमा हर्मोनले नियमित रुपमा काम गरिरहको छ भन्ने कुराको संकेत पनि हो। त्यसैले महिनावारीका बेला भेदभाव र छिःछिः दूरदूर गर्न छाडौं बरु त्यसबेला महिलालाई साथ दिऊँ र सहयोग गरौं।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 3 =