जन्ममिति सच्याउन सेवाग्राहीबाट २० हजार घुस

भरतराज शर्मा(गोपाल), धरान । नागरिकत्ताको जन्ममिति सच्याउन इलाका प्रशासन कार्यलय धरान पुगेका सेवाग्राहीसँग घुस लिएको रकम सहित इलाका प्रशासन कार्यालय धरानका तीन नायब सुब्बा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित क्षेत्रीय कार्यालयबाट गएको टोलीले सेवाग्राहीसँग घुस लिएको नगद २० हजार सहित प्रशासनका तीनजनालाई सोमबार रंगेहात पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नायव सुब्बा हर्कराज राई, युवराज पोख्रेल र मोहन सुवेदी रहेका छन् । राई नागरिकता प्रतिलिपि फाटमा कार्यरत छन् भने पोख्रेल स्थानीय प्रशासन र सुवेदी राहदानी फाटमा कार्यरत रहेका थिए । अख्तियारका डिएसपी मुकुन्द रिजालको नेतृत्वमा पुगेको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । अख्तियारबाट पक्राउ परेलगत्तै तीनैजना कर्मचारी स्वतः निलम्बनमा परेको प्रशासन कार्यालयले जनाएको छ । यो घुस प्रकरणमा राईले सेवाग्राहीसँग सुरुमा बार्गेनिङ गरेका थिए पछि सोमबार भने थप दुईजना नायब सुब्बा पनि उनीसँगै मिलेमतोमा संलग्न भएको भेटिएपछि प्रमाण सहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।
बराह नगरपालिका–२, रेल्वे लाइन घर भएका प्रकाश भट्टराईसँग घुस लिएका थिए । पक्राउ परेका तीनै जनालाई केन्द्रीय कार्यालय टंगाल पठाइने पनि रिजालले जानकारी दिए । डिएसपी रिजालका अनुसार सबैभन्दा पहिला सेवाग्राहीबाट घुस रकम नायब सुब्बा राईले लिएका थिए । उनले आफ्नो कार्यकक्षमा नभई अर्को खाली कोठामा सेवाग्राहीलाई लगेर पैसा लिएका थिए ।








