मुस्लिम, हिन्दु जुनसुकै धर्म समुदायको होस् विकास निर्माणका कार्यमा अघि सर्दै

भदाै १५, काठमाडाै । इस्लाम धर्ममा पर्दा वा बुर्का प्रणाली छ । बुर्का भन्ने बित्तिकै आम मानिसको मस्तिष्कमा यस्तो तस्बिर आउँछ— मुस्लिम महिलाले लगाएको शिरदेखि पाउसम्मै छोपिने कालो पहिरन अनि पहिरनबाट देखिएका दुई आँखा । हुन पनि आम मानिसलाई मिडिया, साहित्य र फिल्मले बुझाइदिएको बुर्काको परिभाषा यत्ति हो । विश्व स्तरमै उठाइएको प्रश्न हो— पर्दा अर्थात् बुर्का महिलाका लागिमात्रै किन ? अनि स्वाभाविक तर्क आउँछ— पर्दा महिला स्वतन्त्रता र प्रगतिको बाधक हो, पर्दा धर्मको प्रतीक होइन, महिलालाई दास बनाउने नियम हो । तर आज आफ्नो जात, धर्म र संस्कारमा मात्र सीमित रहनुपर्ने धार्मिक मान्यता रहेको मुस्लिम समुदायका महिलामा चेतना र शिक्षाको विकासले उनीहरू हिजो आज समुदायभन्दा बाहिर निस्कन थालेका छन् ।

जातीय परम्परा र संस्कार अनुसार परपुरुषसँग नजर देखाउन नहुने मान्यताका कारण बुर्काभित्र सीमित रहने परम्परा रहेपनि पाल्पास्थित रामपुरको इस्लामपुर क्षेत्रका महिला भने समुदायभन्दा बाहिरका विभिन्न सामाजिक क्रियाकलापमा सरिक हुन थालेका हुन् । जात, धर्म, संस्कारभित्र रहेर सामाजिक सङ्घ संस्था, पत्रकारिता, विकास निर्माण र राजनीतिक क्षेत्रमा क्रियाशील हुँदा आफ्नो जातीय पहिचान नगुम्ने आत्मविश्वास र बढ्दो आधुनिकता, शिक्षाको विकासले गर्दा मुस्लिम महिला सामाजिक बन्धनले बाँधिएको घेराभन्दा बाहिर आएका हुन् ।

मुस्लिम समुदायकी एक अगुवा महिला हलिमा खातुन सामाजिक, पत्रकारिता र राजनीतिक क्षेत्रमा काम गर्दै आएकी छन् । पत्रकारिताका लागि मुस्लिम समुदायभन्दा बाहिर निस्केपछि उनको जीवनमा पत्रकारिताले धेरै परिवर्तन ल्याएको उनी बताउँछिन् । वि. सं २०६५ सालदेखि पत्रकारिता सुरुवात गरेकी खातुन पाल्पामै पहिलो मुस्लिम समुदायको महिला पत्रकार हुन् । रेडियो, विभिन्न पत्रपत्रिकामा काम गर्दै पछिल्लो समयमा उनी पत्रकारिता भन्दा बढी सामाजिक, विकास निर्माण, विभिन्न सङ्घ संस्था र राजनीतिक क्षेत्रमा सक्रिय रूपमा लागेकी छन् ।

मुस्लिम समुदायमा जन्म लिए पनि महिला सधैँ दबिएर बस्नुपर्ने मान्यता तोड्दै समाजका विभिन्न कार्यमा यसरी सामाजिक उत्तरदायित्व बहन गरी सक्रिय रूपमा काम गर्दा निकै खुसी लाग्ने उनी बताउँछिन् । उनलाई मुस्लिम, हिन्दु जुनसुकै धर्म, समुदायको होस् समाजको विकास निर्माणदेखि विभिन्न क्षेत्रमा काम गर्दा रमाइलो लाग्छ । उनी भन्छिन्, “सदियौँदेखि घरभित्रै सीमित रहेका मुस्लिम समुदायका महिला बाहिर निस्किए त बिग्रिहाल्छन् भन्ने गलत सोचाइले समाजमा दबिएर बस्न बाध्य भएका छन् । परिवर्तन अरूबाट होइन आफैँबाट गर्नुपर्छ, घरपरिवारमा भन्दा पनि म धैरै समय सामाजिक काममा केन्द्रित हुन्छु ।”

समुदायको मूल्य मान्यतालाई अनुसरण गर्दै सही बाटोमा घरबाट बाहिर निस्केर सामाजिक क्षेत्रमा काम गर्ने महिलालाई कुनै समुदाय, पुरुषले दबाउन नहुने खातुनको धारणा छ । महिलालाई श्रीमान् र परिवारका सदस्यबाहेक अन्य व्यक्तिसँग टाढा राखेर दबाउन खोजिएको र त्यसबाट उन्मुक्तिका निम्ति समुदायको अनुशासन, आचरण र मूल्य मान्यतामा रहेर महिला आफैँ सक्रिय रूपमा विकास निर्माण सामाजिक क्षेत्रमा अग्रसर हुन थालेको खातुनको भनाइ छ ।

परिवारबाट कुनै पनि दबाब नआएकोले पनि उनलाई यसरी सामाजिक कार्यमा सक्रिय हुन सजिलो भएको उनी बताउँछिन् । बिस्तारै उनीसँगै अरू स्थानीय मुस्लिम महिला पनि सामाजिक क्षेत्रमा सक्रिय भएर लागेको देख्दा गर्व लाग्छ, उनलाई । त्यस्तैगरी, मुसलमान महिला तस्लिमा खातुनलाई पनि सामाजिक क्षेत्रमा निस्कन घरपरिवारको राम्रो साथ मिलेको छ । परिवारमा उनलाई आफू मुस्लिम समुदायको महिला हुँ भन्ने कहिल्यै महसुस नै हुन पाएन ।

उनी भन्छिन्, “श्रीमानको सहयोगले नै म सामाजिक क्षेत्रमा लागेकी हुँ । बिहान, साँझ घरायसी काम सकेर दिउँसोको समय सामाजिक गतिविधिमा बित्ने गरेको छ । ” विभिन्न महिला समूह, आमा समूह, नेपाल विद्यार्थी सङ्घको सदस्यमा रहेर तस्लिमा काम गद आएकी छन् ।

महिला घरबाट बाहिर निस्कँदैमा नराम्रो सोच्नु गलत भएको विचार राख्ने तस्लिमा खातुनलाई लाग्दछ, अवसर पाएको खण्डमा पुरुषसरह महिलाले पनि हरेक क्षेत्रमा रहेर काम गर्न सक्दछन् । चेतना र शिक्षाको विकास बढ्दै गएकाले महिलाले पनि अवसर पाए पुरुषसरह नै काम गर्न सक्छन् भन्ने मान्यता मुस्लिम समुदायका महिलाहरुमा पनि अकुँराएको छ ।

रामपुर क्षेत्रका मुस्लिम समुदायका महिलालाई सामाजिक, शैक्षिकलगायतका क्षेत्रमा निस्कन कुनै दबाब नरहेको हमिद अलिमियाँले बताए । उनी भन्छन्, “पहिलेपहिले महिला घरभित्र मात्र सीमित रहेको पाइन्थ्यो भने अहिले त सामाजिक विकास निर्माणको क्षेत्रमा महिला नै अगाडि रहेका छन् ।”

घरपरिवार र श्रीमान्बाट राम्रो साथ र सहयोग पाएपछि मुस्लिम महिलाहरू पनि समुदायका हरेक काममा सक्रिय बन्दै गएका छन् । यस समुदायका महिला शिक्षा, रोजगारीलगायतका क्षेत्रमा पनि अगाडि नै रहेका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =