बाढीबाट चारैतिर प्रभावित भएपछि युवाहरूद्वारा निःशुल्क श्रमदान

भदाै १५, नेपालगंज । विभिन्न क्षेत्रमा बाढीले प्रभाव परेपछि राहत र उद्धारको कार्य अघि बढे सँगै युवाहरूको एउटा टोली बाँकेको राप्तीपारि गाउँमै गएर पीडितहरुलाई सघाउँदै आएको छ । गाउँमा बाढीका कारण ध्वस्त भएका घर, विद्यालय सहित अन्य भौतिक पूर्वाधारहरु पुर्ननिर्माणमा सहयोग र सरसफाई व्यवस्थापन जस्ता कार्यमा सहयोग गर्न गाउँ पुगेका युवाहरूले स्थानीयहरुलाई सघाइरहेका छन् ।

बाढीबाट चारैतिर प्रभावित भएपछि कामदार नपाउने समस्यालाई समाधान गर्दै युवाहरूले निःशुल्क रूपमा श्रमदान गर्न थालेका हुन् । भत्किएको घर, गोठ, विद्यालय लगायतको भौतिक संरचनाहरू निर्माणमा युवाहरूले भूमिका निर्वाह गरेका छन् । बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ५ र ६ मटेहिया तथा गंगापुरमा क्रियटिभ चियर्स नेपाल, बागेश्वरी असल शासन क्लब (बास), आइएचआरसी र क्रियटिभ पिस भोलेन्टियर क्लबबाट सो क्षेत्रमा दिनहुँ १६ जना युवाहरू श्रमदान गर्दै आएका हुन् । मुख्य रूपमा गंगापुर स्थित जयकिसान माविमा करिब ५ फिट सम्म माटो र बालुवा जमेको थियो त्यसलाई पुरै सफा गरियो, स्थलगत रूपमा खटिएका खेम भण्डारीले भने, त्यसपछि स्थानीय भोजपुरमा रहेको मदरसामा सरसफाई भएको हो ।

‘विद्यालयमा पठनपाठनको वातावरणनै थिएन’, भण्डारीले भने, ‘हामीहरूले आवश्यक सरसफाई गरेपछि अहिले स्थिति राम्रो भएको छ ।’ ‘त्यसपछि बाढीका कारण धवस्त भएको सडकमा खाल्डो पुर्ने कामहरू भएको छ’, उनले भने, ‘कम्तीमा मोटरसाइकल आवत जावत हुने खालको सडक सुचारु भएको छ ।’

गाउँमा यवाहरुको टोली निःशुल्क काम गर्न पुगेपनि स्थानीयहरुबाट भरपर्दो सहयोग प्राप्त नभएको उनीहरूको गुनासो छ । हामीहरुलाई आवश्यक औजार समेतको सहयोग माग्न समस्या भइरहेको बताउँदै भण्डारीले भने, ‘तर पनि केही काम गर्ने प्रयास भएको छ ।’ स्थानीयहरुको घर आँगन पुनः राम्रो स्थितिमा फर्कियोस भन्ने उद्देश्यले गाउँ पुगेका युवाहरूले करेसाबारीमा पुरिएको माटो समेत हटाएका छन् । ‘युवाहरूलाई यसरी निःशुल्क श्रममा लगाएर बाढी पीडितहरुलाई केही सहयोग गर्न खोजिएको हो, युएनडीपीका सतीष पाण्डेले भने, ‘चारैतिर राहत र उद्धारको चर्चा भइरहँदा यसरी युवाहरूलाई श्रमदानका लागि गाउँमा पठाइएको हो ।’

‘राज्यबाट प्राप्त हुने सुविधा बाढी पीडितले पाउँछन् नै’, पाण्डेले भने, ‘पीडाको समयमा पीडितहरु सँग कुरा गर्ने र उनीहरूको काममा हातेमालो गर्ने व्यक्ति कोही पनि नदेखेर युवाहरूलाई नयाँ किसिमबाट परिचालन गरिएको हो ।’ ‘यो नितान्त भोलिन्टियर सेवा हो, अभियानमा सहभागी रहेका युवा सुरेन्द्र चलाउनेले भने, ‘स्थानीयहरुमा पनि यसरी नै एक अर्काको सहयोग गर्ने वातावरण बनोस भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो ।’

 ‘विद्यालयमा विद्यार्थी बस्ने अवस्था थिएन, मदरसाको हालत र सडकको दुर्दशापनि उस्तै थियो, पछिल्लो पाँच दिन भित्र विभिन्न स्थानमा सुधारका कामहरू भएका छन्’, चलाउनेले भने, ‘विद्यार्थीहरू बस्ने लायक विद्यालय भएको छ ।’ पछिल्लो दुई दशक देखि बाढीले हरेक वर्ष गंगापुर, मटेहिया, विनौना, बैजापुर, होलिया, बेतहनी लगायतको क्षेत्रलाई प्रभावित पार्दै आएको छ । सरकारी संयन्त्र राहतमा सक्रिय भएका बेला युवाहरूले श्रमबाटै पनि राप्तीपारिका बासिन्दालाई केही सुविधा उपलब्ध गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *