कास्की र तनहुँमा काँग्रेसका नेताद्वारा बागी उम्मेदवारी दर्ता

एन एच पौडेल, पोखरा । नेपाली काँग्रेस कास्कीका नेता नरेशशंकर पालिखेले क्षेत्र नम्बर २ ख बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले स्थानीय निकायको निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा सहमति गरेर रातारात रामजी कुँवरलाई उठाएपछि पार्टी प्रति कुद्ध बनेका पालिखेले संसदीय र प्रदेश सभामा समेत टिकट नपाएपछि एकाएक बागी उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गरेका हुन् । उनले उम्मेदवारी दर्ता गरेको क्षेत्रमा पार्टीले व्यवसायी विन्दुकुमार थापालाई टिकट दिएपछि पालिखेले वागी उम्मेदवारी दिएका हुन् ।
पार्टीको आधिकारिक उम्मेदवार भन्दा अघि नै निर्वाचन अधिकारीको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । पालिखेले पार्टी नेतृत्वले टिकट वितरणमा योग्य उम्मेदवार चयन नगरेको र लामो समयदेखि क्रियाशील कार्यकर्ताको मूल्याङ्कन नभएको भन्दै उम्मेदवारी दर्ता गराएका हुन् । आफू लामो समयदेखि राजनीतिमा क्रियाशील हुदाँपनि मुल्याङकन नगरी नव प्रबेशीलाई पार्टीले उम्मेदवार बनाएको उनले गुनासो गरे ।
नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष, सचिव, पोखरा नगर सभापति, नगरपालिकाका पूर्व उपमेयर र पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष समेत भइसकेका पालिखेले उम्मेदवारी कुनै हालतमा फिर्ता नहुने बताए ।
त्यसै गरी छिमेकी जिल्ला तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली काँग्रसको वागी उम्मेदवारको रूपमा गोविन्द राज जोशीले उम्मेदवारी दर्ता गराएका छन् । जोशीले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका हुन् । ठुलो सङ्ख्यामा नेता कार्यकर्ता सहित उनी निर्वाचन कार्यालय पुगेर उम्मेदवाारी दर्ता गराएका थिए । जोशीले चारतारे झण्डाका साथमा जुलुस सहित निर्वाचन कार्यालय पुगेका थिए ।








