मर्यादित तवरले प्रतिस्पर्धा गर्न माओवादी केन्द्रको आग्रह

“
काठमाडौं, भदौ १३ । नेकपा माओवादी केन्द्रले मर्यादित रुपमा आन्तरिक प्रतिस्पर्धा गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । पार्टीका प्रवक्ता पम्फा भुसालले आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयनको विषयलाई अनावश्यकरूपमा नतन्काउन र अमूक नेता तथा समूहको नाम लिएर प्रचारप्रसार नगराउनसमेत आग्रह गरिएको जानकारी दिनुभयो ।
माओवादी केन्द्रको सचिवालयले क्रान्तिकारी विद्यार्थीलाई स्वच्छ, मर्यादित भएर प्रतिस्पर्धा गर्न इन्चार्ज हितमान शाक्य र निर्वाचन परिचालन समितिका संयोजक रमेश मल्ललाई जिम्मा दिएको छ । प्रवक्ता भुसालले विद्यार्थीको नेतृत्व चयनमा कोही पनि पार्टीको आधिकारिक र अनाधिकारिक नरहेको र सबै विद्यार्थी नेता तथा कार्यकर्ता पार्टीका लागि समान रहेको विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । क्रान्तिकारीको आजदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ ।
“








