नाडा अटो सोमा बैङ्कले गाडी किन्न कति ब्याजदरमा ऋण दिन्छन् ?

भदाै १३, काठमाडौँ । के तपाईँ गाडी किन्ने सोचमा हुनुहुन्छ वा किन्दै हुनुहुन्छ ? त्यसोभए राजधानीको भृकुटीमण्डमा मङ्गलवारदेखि सुरु भएको नाडा अटो सो–२०१७ मा जानुहोस् । किनभने अटो सोको अवसरमा गाडी बिक्रेता कम्पनी र बैंकहरुले आकर्षक र सरल सुविधा उपलब्ध गराउने घोषणा गरेका छन् ।

गाडी किन्नेहरुका लागि खास गरी बैङ्कको ब्याजदर र डाउनपेमेन्ट मुख्य चासोको विषय बन्ने गर्छ । नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बैंकहरुले कूल मूल्यको ६५ प्रतिशतसम्म कर्जा दिनसक्ने व्यवस्था गरिदिएको छ । जसकारण अघिल्ला वर्षको भन्दा यो वर्ष गाडी किन्नेहरुका लागि अवस्था धेरै सहज छ । यसको अर्थ के हो भने तपाईँ १ करोड रुपैयाँ पर्ने गाडी किन्दै हुनुहुन्छ भने ३५ लाख रुपैयाँ नगद बुझाए गाडी चढ्न पाउनु हुनेछ । बाँकी ६५ प्रतिशत रकम बैङ्कले फाइनान्सिङ गरिदिन्छन् । र, तपाईँले बैङ्कलाई किस्ता तिरे पुग्छ ।

गएको असारसम्म बैङ्किङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अभाव थियो । जसको असर अहिले पनि ब्याजदरमा परिरहेको छ । बैंकहरुले असार मसान्तको बेस रेटलाई आधार मानेर अटो लोनको व्याजदर तोकेकाले गएको वर्षको तुलनामा यो वर्ष बैङ्कको ब्याज भने केही महँगो देखिएको छ । तर, अटो सोमा बैंकहरुले सामान्य अवस्थामा भन्दा केही सस्तो दरमै तपाईँलाई गाडी किन्न ऋण दिने आकर्षक योजनाहरू सार्वजानिक गरेका छन् । अटो सोमा झन्डै दर्जन बैंकहरुले अटो कर्जाको आकर्षक स्किमसहित स्टल नै राखेका छन् । उनीहरूले स्पोर्ट फाइनान्सिङको सुविधा पनि उपलब्ध गराएका छन् ।

स्टान्डर्ड चार्टर्ड सस्तो, सानिमा महँगो

अटो सोमा स्टल राख्ने बैंकहरुमध्ये स्टान्डर्ड चार्टर्ड बैङ्कले सबैभन्दा सस्तोमा अटो लोन दिने स्किम ल्याएको छ । बैङ्कले ९.४७ प्रतिशत ब्याजदरमा कर्जा दिने र त्यसमा १ प्रतिशत सेवा शुल्क लिने जनाएको छ । त्यसै गरी, प्रभु बैङ्कले १२.२६ प्रतिशतमा र एनआइसी एसिया बैङ्कले ११.१५ प्रतिशत ब्याजदरमा अटो लोन दिनेछन् ।

लक्ष्मी बैङ्कले भने १०.८२ प्रतिशत ब्याजदर र ०.५ प्रतिशत सेवा शुल्क लिएर अटो लोन दिन्छ । बैङ्कले ९ वर्षका लागि यस्तो कर्जा दिने जनाएको छ । त्यसै गरी, हिमालयन बैङ्कले ८ वर्षका लागि १०.५ प्रतिशत ब्याजदर र ०.७५ प्रतिशत सेवा शुल्क लिएर अटो लोन दिन्छ । त्यस्तै, सिभिल बैङ्कले ११.५९ ब्याजदर र ०.७५ प्रतिशत सेवा शुल्क लिएर ७ वर्षका लागि अटो लोन दिने जनाएकोछ ।

त्यसै गरी, सानिमा बैङ्कले १२.५ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि अटो कर्जा दिन्छ भने ग्लोबल आइएमइ बैङ्कले ७ वर्षका लागि ११.४० प्रतिशत ब्याजदरमा दिन्छ । बैङ्क अफ काठमाण्डूले भने ११.५ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ ।

यी हुन् कर्जा लिन चाहिने आवश्यक कागजात

नागरिकताको प्रतिलिपि
पासपोर्ट साइज फोटो
सवारीको कोटेशन
जागिरे हो भने हालको तलब खुल्ने कागजात
संस्था वा व्यवसायी भएमा कारोबारको नाफा नोक्सान विवरण, प्यान नम्बर
१ करोड र सोभन्दा बढी रकमको कर्जा लिने व्यक्तिगत ग्राहक भएमा प्यान नम्बर आवश्यक पर्छ ।

Clickmandu को सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *