टेण्डर प्रकृयामै नभएकोलाई किन समर्थन गर्नु ?

प्रा.डा. गणेश बहादुर गुरुङ,उपकुलपति, चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)

मुलुककै जेठो स्वास्थ्य संस्था वीर अस्पतालको ब्यउपकुलपति वस्थापन फितलो भएकाले दिनदिनै साख गिर्दै गएको अवस्थामा स्वास्थ्यमन्त्री गगन थापाको विशेष पहलमा अहिले अस्पतालको स्तरोन्नति तथा व्यवस्थापन सुधार्ने कामहरू भइरहेको छ । मन्त्री थापाको सकारात्मक सहयोग पाएपछि अस्पतालका कर्मचारी, चिकित्सक तथा पदाधिकारीमा पनि ऊर्जा थपिएको छ । तथापि, अस्पताल भित्रका केही व्यक्तिगत स्वार्थ लिएकाहरुका कारण भनेजस्तो सुधार हुन नसकेको मन्त्रालयको ठहर छ । अहिले भएका सुधार, सेवा विस्तार र योजनाका विषयमा चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. गणेश बहादुर गुरुङसँग गरिएको कुराकानीको संक्षेपः

अहिले अस्पतालबाट प्राप्त हुने सेवाहरू विस्तारका लागि सरकारले प्राथमिकता दिएपछि वीर अस्पतालमा के–के सुधार भए ?

वीर अस्पताल मुलुककै जेठो अस्पताल र आफ्नै इतिहास पनि भएकोले पछिल्लो समयमा स्वास्थ्यमन्त्री ज्यूको विशेष पहलमा अस्पतालको सेवा वृद्धि गर्नका लागि विभिन्न कामहरू भएका छन् । अस्पतालले ओगटेको क्षेत्र सानो रहेकोले केही अफ्टेरा छन् ।
पहिले बिरामीले घण्टौं लाइनमा बसेर टिकट काट्नु पर्दथ्यो, अहिले वेटिङका लागि सिटहरुको व्यवस्था गरेर टोकन सिस्टम लागू गरेका छौँ । वेटिङ कम गराउन थप काउन्टरहरु विस्तार गर्न काम सुरु गरिएको छ ।
बिरामीलाई सर्वसुलभ सेवा सहज ढङ्गबाट दिन कर्मचारी, चिकित्सक व्यवस्थापनमा धेरै काम गरेका छौँ । विगतमा अक्सिजन प्लान्ट नभएकोले हाम्रो करोडौं रुपैंया बाहिरिइरहेको अवस्थामा यस पटकदेखि आफ्नै अक्सिजन प्लाण्ट सञ्चालनमा आएको छ ।
हेमोडायलाईसिस सेवा २४ सै घण्टा गरिएको छ । पहिला तीन ओटा आइसियू थियो, अहिले तल र माथि गरेर १४ ओटा बनाई सकिएको छ । न्यूरो र सिटिभिएच आइसियू बाहेक अन्य सबै प्रकारका आइसियू सञ्चालनमा छन् ।
डायग्नोष्टिक सेवातिर जेनेटिक सर्भिस सुरु भएको छ । त्यसलाई अझ राम्रो बनाउनका लागि सिक्यूनसर्ट प्रविधि ल्याएका छौँ । क्यारियोटाईपिङ सेवा सुरु गरेका छौँ ।
न्यूरो सर्जरी सेवा तर्फ न्यूरो न्यारिगेशन सुरु गर्न न्यारिगेशन सिस्टम खरिद गरिसकिएको छ । स्टेरियो ट्याक्टिस फ्रेम पनि खरिद गरिसकिएको अवस्था छ ।
कार्डियोलोजी सेवाका लागि कमसेकम क्याथ एन्जियोग्राफी मात्र भए पनि सञ्चालन गर्न टेण्डरको प्रक्रियामा गएका छौँ । यससँगै सर्जरी र विशेषज्ञ सेवा विस्तारका लागि पनि पहल भइरहेको छ ।
केन्द्रीय अस्पताल भएर टर्सरी सेवा दिनुपर्नेमा हामीले जनरल सेवा धेरै दिनुपर्ने अवस्था छ । यहाँका वरिपरि जनरल अस्पताल पनि नभएकोले त्यो चाप छ ।

सरकारले अस्पताललाई सुधार गर्न र विशेषज्ञ सेवा विस्तार गर्न विशेष ध्यान दिएपनि अस्पताल प्रशासनबाट भनेजस्तो काम भएन भन्ने मन्त्रालयको गुनासो छ, समस्या के हो ?

यसलाई व्यवस्थापनको समस्या नभनौं । वीर अस्पताल पुरानो संरचना भएकोले यसको सेवा वृद्धि गर्न हामीलाई ठाउँ छैन । हामीले चाहँदा चाहँदै पनि इमरजेन्सी सेवालाई वृद्धि गर्न स्थान अभावका कारण गर्न सकिरहेका छैनौँ । स्थान अभावकै कारण ओटी (अपरेशन थिएटर) वृद्धि गर्न सकेका छैनौँ । यसमा २ वर्ष अघिको भूकम्पका कारण केही पुराना संरचना पनि भत्काउनु परेको अवस्थाले अझ समस्या पैदा भएको छ । प्रशासनिक व्यवस्थापनमा तपाईँले भनेजस्तो समस्या छैन ।

तथापि, नयाँ सेवा सुविधा वृद्धि गर्ने र स्तरोन्नति गर्ने सवालमा अस्पतालको कार्य समिति र व्यवस्थापन समिति बिच नै मतभेद छ भन्ने सुनिन्छ नि ?

हैन, सेवा दिने सेवा वृद्धि गर्ने सवालमा हामीबिच कुनै विवाद छैन । सामान खरिद गर्ने विषयमा कहिले काँही मतभेद हुन्छन् । तपाईँले भन्न खोज्नु भएको रेडियोथेरापी मेसिन किन्ने सवाल हो, त्यसमा सेवा वृद्धि गर्ने कुरामा कसैको मतभेद छैन, मात्र कसरी कुन मेसिन किन्ने भन्ने मतभेद हो ।
रेडियोथेरापी मेसिन सबैभन्दा पहिले वीर अस्पतालले नै सुरु गरेको हो । त्यही मेसिन विग्रिएपछि अहिले नयाँ मेसिन खरिद गर्ने कुरामा दुई वर्षदेखि पहल भए पनि सकिएको छैन । मेसिन किन्न टेण्डर भइसकेको अवस्थामा केही समस्याहरू सृजना भएका हुन् । रेडियोथेरापी प्रयोग गर्ने डाक्टरहरुले पहिलाकै मेसिन चाहिन्छ भनेको अवस्था छ । तर, पहिले मेसिन ल्याउने कम्पनी टेण्डर प्रक्रिया मै सहभागी भएन । टेण्डर नै नराखेको कम्पनीको सामान कसरी खरिद गर्नु ? जो मान्छे टेण्डर प्रक्रिया मै आएको छैन, जो मान्छेमा मेरो सामान बाहेक अरू प्रयोग नै गर्नुुहुन्न भन्ने भावना छ भने त्यस्ता व्यक्तिलाई खरिद प्रक्रिया विपरीत कसरी टेण्डर दिनु ? यो त मनोपोली भएन र ?

टेण्डर प्रक्रियामै सहभागी नभएको कम्पनीलाई एउटा विभागको एक–दुई व्यक्तिले बोक्नुको कारण के हो ?

यसलाई दुई ओटा कुराबाट हेर्न सकिन्छ ? एउटा साथीहरू पहिले चलाइएको मेसिन प्रति युज टु भएकोले त्यही मसिन नै चाहिन्छ भन्ने पनि होला । अर्को नयाँ मेसिन चलाउन समस्या आउनसक्छ भन्ने पनि होला । उहाँहरूको व्यक्तिगत कुरा भन्न सक्दिन ।

युज टु भन्दा पनि टेण्डरमै सहभागी नभएको कम्पनीको सामान नै खरिद गर्नुपर्छ भनेर अडान लिनुमा चलखेल छैन र ?

हामीले शङ्कासम्म गर्ने कुरा हो, किटान गर्न सकिन्न । नत्र यसरी टेण्डर प्रक्रियामै नभएकोलाई किन समर्थन गर्नु ? भोलि मैले यो कुरामा रि–टेण्डर गरेभने पनि त्यही सामान नै चाहिन्छ भनेर उहाँहरूले भन्दा मैले बढी मूल्य राखेर भए पनि गर्नुपर्ला ! त्यो स्थितिमा म माथीपनि शङ्का उत्पन्न हुन्छ । नियमित आएको टेण्डरलाई पास नगरेर, कम कबोल भएको रकमलाई पास नगरेर बढी रकम हालेकोलाई किन पास गरियो भन्ने कुरामा प्रश्न त उठिहाल्छ । यही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि जानकारी मागेर जनताले सेवा पाउन नसकेको अवस्थालाई मध्यनजर गरेर उच्चस्तरीय कमिटि बनाएर प्रक्रिया अघि बढाउनुस् भनेको अवस्था छ । स्वास्थ्यमन्त्री ज्यूलाई लिखित रूपमा जानकारी गराएर छलफल पनि गरेको छु । एक महिनासम्म कुनै निर्णय गर्न सकिएन भने, आएको बजेटपनि फिर्ता भएर जान्छ । र, मन्त्रालयले अहिले जसरी वीर अस्पताललाई साथ र सहयोग दिएको छ, आगामी दिनमा नदिन पनि सक्छ यस विषयमा हामी सबै सजग हुने बेला आएको छ । कतिपय अवस्थामा वीरमा रेडियोथेरापी मेसिन सञ्चालन गर्न नदिन निजी क्षेत्रका स्वास्थ्य संस्थाको पनि जोड रहेको हुनसक्छ । हामीले सर्वसुलभ शुल्कमा सेवा दिएपछि लाखौँ रुपैंया लिएर रेडियोथेरापी सेवा दिएका निजी संस्थाहरूको आम्दानी बन्द हुन्छ भनेर पनि रोक्न खोजिएको हुनसक्छ ।

वीर अस्पतालले दिने सेवा सर्वसाधारण माझ सहज रूपमा किन पु¥याउन सकिरहेको छैन ?

अस्पतालले दिएको सेवा सुविधा आम सर्वसाधारण जनताको पहुँचमा पुगोस् भनेरै यहाँबाट प्राप्त सेवा सुविधामा २८ प्रतिशत मात्र चार्ज लिने गरेका छौँ । उदाहरणका लागि बाहिर ५०–६० हजार पर्ने मेजर अपरेशन हामी मात्र ३ हजारमा गर्दछौँ । भर्ना भएका विरामीहरुको सबै परीक्षण निःशुल्क हुन्छ । हामीसँग भएका निश्चित पेडिङ वेड बाहेक सबै निःशुल्क छ । ओपीडीमा आउने बिरामीको अनुहार हेरेर को धनी को गरिब को अशक्त छुट्याउन सक्दैनौं । जुन बिरामीको डाक्टर वा नर्सले हेरेको हुन्छ उनीहरूले सिफारिस गरेका बिरामीलाई सबैकुरा निःशुल्क गरिदिएकै छौँ ।
कतिपय अवस्थामा कमजोर आर्थिक अवस्था भएका विरामीहरु अस्पताल प्रशासनसम्म आउन सक्नुहुन्न उहाँहरुका लागि समेत सहज व्यवस्थापन गर्न सामाजिक कल्याण सेवा सञ्चालन गरेका छौँ । कर्मचारी, नर्स, चिकित्सक सबैलाई सहयोग गर्न भनेका छौँ । यी कुराहरू हेर्दा सकेसम्म हामीले जनतालाई सर्वसुलभ सेवा दिइरहेका छौँ ।

विशिष्टिकृत सेवा सञ्चालन र विस्तारका के–के कामहरू भइरहेका छन् ?

न्यूरो न्याभिकेसन सिस्टम (बुढोभएपछि थरथर काम्ने रोग) को अप्रेसनद्वारा उपचार सेवा विस्तार गरेका छौँ । हेमोडायलाईसिस सेवालाई वृद्धि गरेका छौँ । अस्पताललाई लिभर डिजिज सेन्टरको रूपमा विकास गर्नका लागि फाइब्रस्क्यान मेसिनहरु ल्याएका खरिद प्रक्रियामा टेण्डर भएर अगाडी बढेको छ ।
लिभर अल्ट्रासाउण्डहरु, भेरिसियस भ्यानहरुका काम अघि बढेको छ । ग्याष्ट्रोन्ट्रोलोजी सेवाहरूमा नेपालमा पहिलोपटक भित्रबाटै इन्डोस्कोपी गर्न सकिने व्यवस्था छ । रेस्प्रेटो डिजिजमा इ–बस खरिद गर्न टेण्डरमा गएका छौँ । युरोलोजीमा हामी धेरै एड्भान्स भएका छौँ । अप्रेसन नगरी लेजरबाट काम गर्ने, लेजरबाट शरीरका भित्र बढेका प्रोष्टेटहरु अप्रेसन गर्ने मेसिनहरु राखिरहेका छौँ । न्यूरोलोजी सेवामा पनि विशिष्ट डायग्नोष्टिक सेवा ल्याएका छौँ । न्यूरो मनिटरको व्यवस्था छ । अहिले अस्पताललाई सेवा तर्फ आधुनिकीकरण गर्ने विषयमा हामी केन्द्रित भएका छौँ ।

अस्पतालको क्षेत्रफल कम भएको र सेवाग्राहीको चाप बढेकोले यसलाई स्थानान्तरण गर्ने काम कहाँ पुग्यो ?

वीर अस्पतालको मुख्य समस्या क्षेत्रफल कम हुनु हो । अस्पताललाई बिस्तारित गर्नका लागि भक्तपुरको दुवाकोटमा ५ सय २० रोपनी जग्गा सरकारले क्याविनेटबाटै निर्णय गरेर हाम्रो नाममा लालपुर्जा दिइसकेको अवस्था छ । अहिले जमिन सम्याउने, तारबार गर्ने तथा डिजिटल सर्भे गर्ने कामहरू अघि बढेको छ । यो एकदमै ठुलो मेगा प्रोजेक्ट हो । त्यहाँ विश्वविद्यालय भवन, १ हजार शैयाको अस्पताल, नर्सिङ र एलाईड हेल्थ कलेजहरु बन्ने भएकोले त्यो स्थानलाई मेडिसिटी नै बनाउने मास्टर प्लान छ । र लागतपनि १५–१६ अर्ब लाग्ने भएकोले विदेशी दाताहरु खोज्ने काम भएको छ । अर्थ मन्त्रालयसम्म कागज पुगेकोले आउँदो निर्वाचनपछि टुङ्गो लाग्नेछ ।
अहिलेको अस्पताललाईपनि विस्तार गर्ने गुरु योजना अन्र्तगत १५ सय शैयाको अस्पताल बनाउन माथिल्लो पट्टीको १७ रोपनी क्षेत्रफलमा ६५० शैयाको सर्जिकल ब्लक बनाउन सर्भे डिजाइन पुरा भएर शहरी विकास प्राधिकरणमा गएको छ । ३९ वर्ष अघि बनाएको भवनलाई पनि डेमोलेस गरेर नयाँ मेडिकल ब्लकको रूपमा विकास गर्नेछौँ । पुरानो आइसियू भएको ठाउँमा जापान सरकारको प्रोजेक्ट जाइका मार्फत ९४ बेडको सुपरस्पेशियालिटी भवन पनि बन्दैछ । जहाँ ग्याष्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी र कार्डियोलोजीको सेवा हुनेछ ।

सरकार स्वास्थ्य क्षेत्र आत्मनिर्भर र स्वायत्त हुनुपर्छ भन्छ, तपाईहरु दाता र सरकारको मात्रै मुख ताक्नुहुन्छ, संस्था कसरी बलियो हुन्छ ?

आत्म निर्भर हुनका लागि पैसा उपार्जन गर्नुप¥यो, पैसा कमाउनका लागि जनताबाट शुल्क उठाउनु प¥यो । फेरी सरकार जनतालाई निःशुल्क स्वास्थ्य सेवापनि दिने भन्छ, यहाँ कुरा बाझिएको छ । स्वायत्तताको कुरा गर्दा वीर अस्पताल सरकारको केन्द्रीय अस्पताल हो । कुनै पनि नेपाल सरकारको जागिर खाएको डाक्टरको भोलि गएर ‘म यहाँ गएर सेवा गर्छु’ भन्ने सपना त होला नि ! यसका लागिपनि सरकारले हेर्नुपर्दछ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको ऐन अनुसार वीर अस्पताल स्वायत्त संस्था हुँदाहुँदै पनि यो सरकारको केन्द्रीय अस्पताल पनि हो नि ! यहाँ ७५ प्रतिशत नेपाल सरकारका कर्मचारी भएको अवस्थामा सरकारले चटक्कै छाडेर जानुपनि भएन । भोलि गएर सबै क्षेत्र, अञ्चल अस्पतालहरू एकेडेमिक र स्वायत्त हुने हो भने, स्वास्थ्य मन्त्रालयका डाक्टरहरु चाहिँ जिल्ला जिल्लामा घुम्दै हिड्नु पर्ने अवस्था आउँछ । त्यो बेला सरकारले जनशक्ति पाउँछ की पाउँन्न यो गम्भीर कुरा हो ।

सामुदायिक क्षेत्रमा वीर अस्पताल (न्याम्स) ले कहाँ कसरी कामहरू गरिरहेको छ ?

हामीले वीर अस्पताल र न्याम्सका कार्यक्रम अस्पताल भित्रमात्र सीमित बनाएका छैनौँ । जनतालाई स्वास्थ्य सेवा दिनका लागि हाम्रा रेजिडेन्सियल कार्यक्रमहरू विभिन्न जिल्ला र गाउँमा दिएका छौँ । अहिलेपनि नुवाकोट, धादिङ, रुकुम जस्ता क्षेत्रमा हाम्रा जनशक्ति पठाएका छौँ ।

सरकारले दक्ष चिकित्सक उत्पादनमा बर्सेनि करोडौं रुपैँया खर्च गरे पनि उत्पादन भएका जनशक्तिले गुणस्तरीय सेवा दिन नसक्नुको कारण के हो ?

सरकारले उपलब्ध गराएको सेवा सुविधा राम्रो छैन । डाक्टर कर्मचारी जुनसुकैले पनि सरकारको काम गर्दा आफ्नो छोराछोरीलाई राम्ररी पढाउने, परिवारलाई राम्ररी राख्ने तथा पछि वृद्ध भएपछि आफ्नो सामाजिक सुरक्षा भए हुन्थ्यो भन्ने सोच राखेका हुन्छन् । तर, हाम्रो सरकारले अहिलेसम्म देखेको छैन । अहिले कर्मचारीले पाउँदै आएको सेवा सुविधा हेर्दा खान लाउन मात्र पुग्ने देखिन्छ । डाक्टरहरुलाई सरकारी काम बाहेक निजी क्षेत्रमा गर्नुपर्ने बाध्यता छ ।
अहिले सरकारले नन्प्राक्टिसिङ इन्ष्टिच्युट बनाउने भनिरहँदा त्यो कुरा निजी र सरकारी दुवैलाई लागू गर्न पर्दछ । सरकारले तोकेको समय काम गरेर बाँकी रहेको समय पेयिङ गर्न दिएको अवस्थामा सरकारी डाक्टरहरुको जिवनस्तर बढ्छ । तर, बाहिर काम गर्न पाउँदैनौं भनेर बन्देज लगाउँदा भएका सबै डाक्टर छोडेर जान्छन् । बरु सरकारले एउटा डाक्टरले एउटा इन्ष्टिच्युटमा भन्दा बढी प्राक्टिस गर्न नपाउने ‘वान डाक्टर वान इन्ष्टिच्युट’ को अवधारणा ल्याएमा लागू गर्न सकिन्छ । यसले अस्पतालमा २४ सै घण्टा विशेषज्ञ डाक्टरहरु उपलब्ध हुने र सेवाको गुणस्तर पनि वृद्धि हुन्छ ।

तपाईहरु बर्सेनि दक्ष जनशक्ति उत्पादन त गर्नुहुन्छ तर, उनीहरू कहाँ कसरी सेवा दिइरहेका छन् भन्ने बारेमा किन रेकर्ड राख्न सक्नुहुन्न ?
यो एकदमै खड्किएको विषय हो । हामीले उत्पादन गरेका जनशक्तिका बारेमा कुनै रेकर्ड नै छैन । तर, अहिले न्याम्सको विस्तारित कार्यक्रम मेडिकल काउन्सिलले मान्यता दिएका नेपाल सरकारको क्षेत्रीय, उपक्षेत्रिय र अञ्चल अस्पतालहरुसम्म हामीले कार्यक्रम सञ्चालन गरेका छौँ । नेपालगञ्ज, भरतपुर, विरगञ्ज, विराटनगर वुटवल जस्ता क्षेत्रका सरकारी अस्पतालहरुमा कार्यक्रम सञ्चालनका लागि सर्भे समेत गर्दा हामीले उत्पादन गरेका जनशक्तिहरु मेची देखि महाकालीसम्म राम्ररी काम गरेको अवस्था छ ।

अन्तमा अस्पतालको सेवा र एकेडेमिक गुणस्तर वृद्धि गर्न कस्ता योजना र कार्यक्रम ल्याउँदै हुनुहुन्छ ?

अस्पताल सेवाको गुणस्तर भनेकै हाम्रो एकेडेमिक सेवा हो । अहिले अस्पताललाई टर्सेरी सेवा केन्द्रभन्दापनि सुपर टर्सेरी सेवा केन्द्रको रूपमा विकास गरेका छौँ । हामीले यो ठाउँमा बसेर टिचिङ लर्निङ कार्यक्रम बढाई दियौं भने विद्यार्थीहरुका लागि त्यो नै ठुलो कुरा हो । उहाँहरूले यहाँ सिकेका कुरालाई नै बाहिर लैजाने हो । हाम्रो उद्देश्य भनेको अपतालहरुलाई उच्चतम टेक्नालोजीबाट सुसज्जित बनाउने, शिक्षकहरुलाई तालिम दिएर अझ राम्रो बनाउने हो । माननीय स्वास्थ्यमन्त्री ज्यूले सङ्घीयतामा गएपछि हामीलाई कति विशेषज्ञ डाक्टर चाहिन्छ, कति डाक्टर चाहिन्छन् भन्ने कुरा खाका तयार गर्नुभएको छ । त्यस अनुसार अधिकतम जनशक्ति उत्पादन गर्नुहोस् भन्नुभएको छ । हामी त्यही विषयमा केन्द्रित भएर लागेका छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =