नाडा अटो-सो अाउनुस् छानिछानी बाइक किन्नुस, यस्तो छ सुविधा

भदौ १३, काठमाडौँ । नयाँ बाइक चढ्न आतूर हुनुहुन्छ ? हुनुहुन्छ भने आजबाट सुरु हुँदै गरेको नाडा अटो-सोमा पुग्नुस् । त्यहाँ तपाईँले विभिन्न कम्पनीका नयाँ बाइकहरु हरेक तवरबाट ‘कम्प्यारिजन’ गरेर किन्न सक्नु हुनेछ । नियमित काममा व्यस्त रहनेहरु चाडपर्वकै समयमा आफ्नो बाइकको सपना पुरा गर्ने सुरमा हुन्छन् । यस्तै, समयमा सवारीको मेला नाडा अटो-सो पनि हुने गरेको छ ।

काठमाडौँको भृकुटीमण्डपमा हुने नाडामा धेरै युवाले आफ्नो नयाँ बाइक चढ्ने सपना पुरा गर्नेछन् । एकै स्थानमा विभिन्न कम्पनीका बाइक हुने भएकाले रोजाइका लागि विभिन्न कम्पनीका सो-रुम धाउनुपर्दैन । एक पटक नाडामा पुगेपछि तपाईँले आफूलाई आवश्यक खालको र मनपर्ने बाइक रोजेर बुकिङ गरेर फर्किन सक्नु हुनेछ । यो वर्षपनि नाडामा केही नयाँ बाइकहरु युवा पुस्ताले धेरै हेर्ने र खोज्ने बाइक बन्नेछन् । नाडा सोमा देखिने नयाँ बाइकहरुले युवापुस्तासहित सबै वर्गका मान्छेलाई कति प्रभावित गर्छ भन्ने हेर्न बाँकी छ । नाडामा देखिने केही नयाँ बाइकको संक्षिप्त चर्चा गराै ।

टिभीएस स्ट्राकइर-१२५

टिभीएसको स्ट्राकइर-१२५ नाडा सोलाई नै लक्षित गरेर नेपाल ल्याइएको हो । टिभीएसले यसलाई ‘स्ट्राइकर माइलेज, स्टाइल र कम्फोर्ट’ र ‘सुपर भन्दा एक्ट्रा सुपर’ थीममा प्रवर्दन गरिरहेको छ । यसको ट्यांक आकार स्टाइलिस छ । जसले बाइकको ओभर अल लुक्सलाई युनिक र डायनामिक देखाएको छ । यो मोटरसाइकलको मूल्य १ लाख ७४ हजार ९ सय रुपैयाँ तोकिएको छ । राइडरलाई सहज, आत्मविश्वासी र स्टाइलिस अनुभूत गराउने किसिमका विशेषताहरुले यो सु-सज्जित छ । यसमा ट्युबलेस टायर छ । जसले यात्राका दौरान टायर पञ्चर भएर भोग्नुपर्ने सास्तीलाई दूर गर्छ ।

यो बाइक नेपाली बाटो सुहाउँदो रहेको कम्पनीले बताएको छ । ४ स्पीड म्यानुअल ट्रान्समिसनका साथमा स्ट्राइकर आएको छ । ३ वटा कलरमा यो मोटरसाइकल नेपाल आएको छ । क्रिमसन हृवाइट, भल्कानो रेड र मेटालिक ब्ल्यू कलरमा स्ट्राइकर किन्न पाइन्छ । यो बाइकमा १७२ एमएमको ग्राउण्ड क्लेयरेन्स छ । यो बाइक मितब्ययी पनि छ । स्ट्राइकर-१२५ ले ६७ किलोमिटर प्रतिघण्टाको माइलेज दिन्छ ।

यामाहा एफजी-२५ ‘स्ट्रिटफाइटर’

नेपालमा अहिले सबैभन्दा बढी चासोका साथ हेरिएको बाइक हो, यामाहाको एफजी २५ ‘स्ट्रिटफाइटर’ । २५० सीसीको निकै प्रतिस्पर्धात्मक पर्फर्मेन्स सेग्मेन्टमा यामाहाले सबैभन्दा सस्तो बाइकलाई नाडामा प्रस्तुत गर्दैछ । यसको मूल्य ३ लाख ४४ हजार ९ सय रुपैयाँ राखिएको छ । अत्याधुनिक फिचरहरु समावेश रहेको यो बाइकलाई नयाँ जमानाको स्टाइलिस बाइकका रूपमा अघि सारिएको छ । ५-स्पिड गियर बक्स रहेको यो बाइकमा टेलिस्कोपिक फ्रन्ट फोर्क र पछाडि मोनोसक सस्पेन्सन छ । यसले यात्रालाई रोमाञ्चक बनाउँछ ।

एफजी २५ मा ‘फुल एइडी हेडल्याम्प’ जोडिएको छ, जुन २५० सीसी सेग्मेन्टमा यो प्रविधिको प्रयोग पहिलोपटक भएको हो । स्टाइलिस एलइडी टेललाइट र एएओ (अटोमेटिक हेडल्याम्प अन) विशेषताले यसलाई त्यत्तिकै उपयोगी बाइकका रूपमा प्रस्तुत गरेको छ ।

यसको बेसिक डिजाइन एफजी सिरिजबाट इन्स्पायर भए पनि थप परिस्कृत गरिएको छ । त्यसैले यो अघि, पछि वा साइडबाट हेर्दा स्पोर्टी मात्रै हैन, स्मार्ट र युनिक पनि देखिन्छ । यो बाइकको फ्रन्ट र रेयर भ्यू नै बजारका लागि नयाँ चुुनौति बनेर पेस भएको छ । एफजी सिरिजलाई नरुचाउने वर्गलाई पनि यसले एक पटक तान्नेछ । यामाहाको नयाँ बाइकको ग्राउन्ड क्लेयरेन्स १६० एमएम छ । यामाहा एफजी २५ तीन वटा कलरमा उपलब्ध छ । ब्यालिस्टिक ब्लुक, वारियर ह्वाइट र नाइट ब्ल्याक कलरमा यसलाई प्रस्तुत गरिएको छ । यो बाइक नाडामा चर्चाको केन्द्रमा रहने कुरामा दुईमत छैन ।

यूएम रेनिगेडका दुई नयाँ बाइक

अमेरिकन कम्पनी यूएमका दुईवटा नयाँ बाइक पनि नाडमा देखिनेछन् । यूएमका रेनिगेड कमाण्डो-३०० र रेनिगेड स्पोर्ट एस-३०० बाइक नाडमा नयाँ आकर्षण हुनेछन् । रेनिगेड कमाण्डो ३०० बाकइमा लिक्वीड कुल्ड इञ्जिन छ । चौंडा ह्याण्डलबार, हाइड्रोलिक टेलिस्कोपिक पान्ट, स्प्रीङ रियर सस्पेन्सनले सुसज्जित कमाण्डो ३०० को मूल्य ४ लाख ९२ हजार रुपैयाँ छ ।

‘रुल द स्ट्रेश’ भन्ने नारामा प्रवर्द्धन हुने स्पोर्ट एस-३०० बाइकको मूल्य ४ लाख ९९ हजार रुपैयाँ पर्नेछ । बल र नियन्त्रणको संयोजनको विशेषता रहेको यो बाइकमा इलेकटि्रक स्टार्टसँगै एयर फिल्टर पेपर इलिमेन्टको नवीन प्रयोग गरिएको छ । अगाडिको पांग्रामा टेलिस्कोपिक सस्पेन्शन छ भने पछाडि डुअल सक अब्जर्भर पनि छ ।

दुवै मोडलमा १८ लिटरको इन्धन क्षमता र १७२ केजीको तौल छ । यसको ग्राउण्ड क्लेयरेन्स २०० एमएम छ । दुवै बाइक ३ रङ्गमा उपलब्ध हुनेछन् । यी बाइकले ३४ किलोमिटर प्रतिलिटरको माइलेज दिने दाबी कम्पनीको छ । यी बाइक आकर्षक र बढी माइलेज दिने विशेषताले सुसज्जित छन् । यिनमा फूल्ली डिजिटल मिटरहरु छन् ।

होण्डा ‘सीबी १९० आर’

जापनिज होन्डा मोटर्सले पनि नाडालाई लक्षित गरेर ‘सीबी १९० आर’ ल्याएको छ । यो बाइक युवा पुस्ताको लागि विशेष हुनेछ । हेभी सेगमेन्टको यो बाइकको ग्राउण्ड क्लेयरेन्स १३८ एमएम छ । यसको तौल १४० केजी छ । १५.६८ बीपीएचको पावर इञ्जिन जडति छ । यसले १५ एमएमको टर्क उत्पादन गर्छ । यसमा ५ स्पीडको ट्रान्समिशन छ । फ्रन्ट र रियरमा हाइड्रोलिक डिस्क ब्रेक छ । यसमा फ्रन्टमा अपसाइड डाउन सस्पेन्सर र पछाडि मोनोसक सस्पेन्सन छ । नेपालमा होन्डा बाइक स्याकार ट्रेडिङ कम्पनीले यो बाइकमा १२ लिटर पेट्रोल अटाउने जनाएको छ ।

हिरो ‘माइस्ट्रो एज’

यो वर्षको अटो-सोमा हिरोको माइस्ट्रो एज स्कुटर पनि सार्वजनिक हुँदैछ । नेपाल जेनेरल मार्केटिङले एक सय ११ सीसीको नयाँ स्कुटरलाई नेपाल ल्याएको हो । हिरोको ड्यासको अपग्रेड गरेर यो स्कुटर तयार गरिएको हो । यसमा ८ बीपीएचको इञ्जिनले ८.७ एमएमको टर्क उत्पादन गर्छ । यसमा दुई सिलिण्डर छन् । माइस्ट्रो एजमा एयरकुल्ड इञ्जिन छ । सेल्फ स्टार्ट सुविधासहितको यो स्कुटरमा ५.५ लिटर तेल अटाउँछ । यसले ६५ किलोमिटर/ प्रतिलिटरको माइलेज दिने दाबी कम्पनीको छ ।

सिंगल कलरसहितको ११० केजीको यो स्कुटर ११९० एमएम अग्लो छ । स्तरीय सस्पेन्सन सहितको यो स्कुटरमा एलो ह्वील पनि छ । यसमा डिजिटल टि्रपमिटर पनि जोडिएको छ । यो देख्दा आकर्षक पनि भएकाले अटो-सोमा यसले राम्रो प्रतिक्रिया र ग्राहक पाउने अपेक्षा छ ।

महिन्द्रा ‘गस्टो-आरएस’

महिन्द्रा टू ह्वीलर्सले गस्टो-आएएस स्कुटर पनि नाडा अटो-सोमै सार्वजनिक गर्दैछ । नयाँ ग्राफिक्स डिजाइन र रङ्गमा यसको गस्टो-आएएस ल्याउन लागिएको छ । गस्टो भन्सारमा आइपुगे पनि काठमाडौँ आइसकेकाले भोलि नै भने प्रर्दशन राख्न नसकिने कम्पनीले जनाएको छ । तर, अटो-सोभित्रै गस्टोलाई सार्वजनिक गरिनेछ ।

आउट लुक्समा केही परिमार्जन गरेर विशेष तरिकाबाट नयाँ महिन्द्रा गस्टोलाई प्रस्तुत गरिएको छ । इञ्जिन, फिचर्स लगायतमा भने खासै परिवर्तन गरिएको छैन । महिन्द्रा गास्टोलाई नेपालमा अग्नि इन्कर्पोरेटले बिक्री गर्दै आएको छ ।

यस्तै गत वर्षको नाडामा नदेखिएको बजाजको ‘डोमिनार ४००’ पनि नाडमा रहनेछ । स्पोर्टी लुक्स र फिचर्सयुक्त यो बाइकलाई विशेषगरी युवा पुस्ताले रुचाइरहेका एचएच बजाजले जनाएको छ । मस्कुलर डिजाइनमा निर्माण गरिएको यो बाइकले क्रुजर बाइकको अनुभूति प्रदान गर्छ ।

यसको फरक प्रकारको हेडल्याम्पले बाइकको लुक्स नै परिवर्तन गरेको छ । यसमा पुरै डिजिटल स्पिडोमिटर छ । ३७४ सीसी क्षमताको यो बाइकमा ट्रिपल स्पार्क इञ्जिन छ । ६ गेयर रहेको यो मोटरसाइकल देख्नमा आकर्षक मात्रै छैन, उत्तिकै शक्तिशाली पनि छ ।

अनलार्इन खबरको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *