सिनेमामा अभिनय गरेका थिए राम रहीम, कति छ उनको सम्पत्ति ?

काठमाडौं, १२ भदौ — भारतको डेरा सच्चा सौदा सम्प्रदायका प्रमुख राम रहीम सिंहलाई बलात्कारको मुद्दामा दोषी ठह–याएर दश वर्षको कारावास सजाय सुनाइएको छ ।


खर्बौं रुपैयाँका मालिक राम रहीमको जिन्दगी एकदमै रंगीन छ । राम रहीमले पाँचवटा फिल्म बनाएका छन् र त्यसमा उनी आफैं नायक र निर्देशक हुन् ।

मिडिया रिपोर्टका अनुसार उनका पाँच फिल्मले ८० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेका छन् ।

राम रहीमको पूरा नाम सन्त डाक्टर राम रहीम सिंहजी इन्सा हो । राजस्थानको श्रीगंगानगरमा राम रहीमको जन्म १५ अगस्ट १९६७ मा भएको थियो ।

उनको डेरा सच्चा सौदा नामक धार्मिक संगठन छ । उनका करीब पाँच करोड समर्थक रहेको बताइन्छ ।

डेरा सच्चा सौदाले राम रहीमको ५०औं जन्मदिनलाई गोल्डेन जुबलीका रूपमा मनायो । उक्त समारोहमा एक करोड मानिस आएका थिए । त्यतिखेर ५१ क्विन्टलको केक काटिएको थियो

हरियाणाको सिरसामा डेरा सच्चा सौदाको मुख्य कार्यालय छ । दुई किलोमिटर क्षेत्रमा फैलिएको छ यो ।

भारतभरि डेराका ४६ वटा आश्रम अनि अमेरिका, क्यानाडा, अस्ट्रेलिया र युएइमा शाखाहरू छन् ।

आश्रम परिसरमा भक्तहरूका लागि एमएसजी होटेल र कशिश होटेल छन् । सिरसामा एउटा मार्केट कम्प्लेक्स पनि छ जहाँ रहेका सबै पसलको नाम सचबाट शुरु हुन्छ ।

सूत्रहरूका अनुसार डेरा सच्चा सौदासँग ३०० करोड रुपैयाँभन्दा बढीको सम्पत्ति छ । यो त देखिएको सम्पत्ति मात्र हो । नदेखिएको सम्पत्ति त हजारौं करोड रुपैयाँको भएको बताइन्छ ।

आश्रममा एउटा गुफा बनाएर राम रहीम बस्ने गरेको थाहा लागेको छ । त्यहाँ उनका खास सेवकहरू मात्र जान पाउँछन् । गुफामा महिला सेवादारले पहरा दिन्थे ।

यही गुफामा राम रहीमले साध्वी भक्तहरूलाई बोलाएर बलात्कार गर्ने गरेका रहेछन् । बलात्कृत महिलाले मुद्दा हालेपछि अहिले राम रहीम दण्डित भएका हुन् ।

राम रहीम आफूलाई धर्मप्रचारक मान्छन् तर ग्ल्यामरको संसारमा रुचि राख्छन् । फिल्मको हिरो बन्ने बाल्यकालीन इच्छा राम रहीमले पूरा गरे । मेसेन्जर अफ गड नामक फिल्ममा उनले सुपर बाबाको भूमिका निर्वाह गरेर एक्लै लागूऔषध व्यापारी र वेश्यावृत्तिविरुद्ध लडेको देखाउँछन् ।

राम रहीमको जीवनशैली अत्यन्तै खर्चिलो छ । कारहरू पनि उनको प्रशस्तै छन् । कार कतै रोकिँदा भक्तहरू कारलाई टेन्टले ढाकेर सुरक्षा गर्छन् ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *